‘हिरोइनको म्वाइँ खाने भाग्य छैन’

‘हिरोइनको म्वाइँ खाने भाग्य छैन’


funtimeयतिबेला नाम र दाम दुवै कमाउन सफल छन् हास्यकलाकार जितु नेपाल । यो स्थानसम्म आइपुग्न उनको सङ्घर्षको कथा पनि कमको छैन । तन र मन दिएर लाग्दा जुन क्षेत्रमा पनि सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका जितु नेपाल विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै चर्चित छन् । करिब एक महिना बेलायतको सांस्कृतिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका नेपालसँग यसपटक म्याइँ–वार्ता गरिएको छ ।
० विदेश धेरैपटक जानुहुन्छ । कत्तिको खाइन्छ नि म्वाइँ ?
– नढाँटीकन भन्नुपर्दा यो शतप्रतिशत सत्य हो कि मैले विदेशमा म्वाइँ कसैको पनि खाएको छैन अहिलेसम्म ।
० याद छ, पहिलोपटक कसको म्वाइँ खानुभएको थियो ?
– बच्चामा नजानी–नजानी धेरैको खाइयो होला ।
० जानेर नि ?
– जानेर खाएकै भनेको श्रीमतीकै हो ।
० श्रीमतीको म्वाइँ पहिलोपटक कहिले खानुभएको थियो ?
– विवाहको रात ।
० कस्तो भयो नि अनुभूति ?
– त्यो शब्दमा बयान गर्न सकिँदैन ।
० म्वाइँ के हो ?
– आत्मीयता, माया र मानिसलाई नजिक ल्याउने सशक्त माध्यम ।
० सम्झनालायकको म्वाइँ ?
– श्रीमतीकै हो ।
० तपाईं बाटोमा हिँड्दा कुनै युवतीले च्याप्प समातेर तपाईंको म्वाइँ खाइन् भने के गर्नुहुन्छ ?
– त्यो त महिलाकै गल्ती हो नि । उनको गल्तीलाई देखाइदिन्छु र अनि भन्छु, ‘तिम्रो म्वाइँ गलत ठाउँमा प-यो ।’
० म्वाइँ कस्तो ठाउँमा खाँदा राम्रो होला ?
– यो त जहाँ, जुन बेलामा जसलाई पनि खाने चिज होइन । म्वाइँ जथाभावी खान पनि हुन्न ।
० श्रीमतीलाई कस्तो समयमा म्वाइँ खानुहुन्छ ?
– रिसाएको समयमा । त्यो पनि रिसाएर खुसी हुन लागेको समयमा मायालु भावले ।
० म्याइँको स्वाद कस्तो हुन्छ होला ?
– म्वाइँ गुलियो वा तीतो होइन, यो त मीठो हुन्छ ।
० अहिलेसम्म कसैलाई जबर्जस्ती म्वाइँ खानुभएको छ ?
– त्यस्तो जबर्जस्ती खाएको छैन र खानु पनि नपरोस् ।
० अहिलेसम्म धेरैलाई म्वाइँ खानुभयो होला । गन्नुभएको छ ?
– त्यस्तो गनेर नै म्वाइँ खाएको छैन । गन्नैपर्ने गरेर म्वाइँ खाएको पनि छैन । म म्वाइँक्रेजी र फ्यान होइन ।
० म्वाइँ खान नपाएर भुतुक्कै हुनेहरूलाई के छ सल्लाह ?
– म्वाइँका लागि मरिहत्ते नगर्नुस् । अनि म्वाइँ खाँदा अरू कुरा पनि नसोच्नुस् नि । यो त माया प्रकट गर्ने स्वच्छ माध्यम हो ।
० कुनै हिरोइनको म्वाइँ खानुभएको छ कि छैन ?
– हामी त हास्यकलाकार । हिरोइनलाई त हिरोले पो म्वाइँ खान्छ । हिरोइनको म्वाइँ खाने भाग्य हाम्रो छैन ।

शङ्कर र ऋचा रातारात करोडपति, त्यसैगरी रोडपति
आफ्नो क्षमता, दक्षता र हैसियतभन्दा ठूलो काम गर्न खोजियो वा त्यस्तो सपना देखियो भने खाल्डामा परिन्छ । कैयौँ उदाहरणले पनि यो कुराको पुष्टि भइसकेको छ । यता एउटा उदाहरण भने नेपाली चलचित्र क्षेत्रको जोडीमा पनि लागू भएको छ ।
विगतमा हैसियत र उपस्थिति हेर्दा चलचित्र निर्देशक शङ्कर घिमिरे र चलचित्र नायिका ऋचा घिमिरेको त्यति ठूलो हैसियत त थिएन । तर, यी दुई जब एक भए यिनीहरूको हैसियतले आकाश नै छोयो । चलचित्र ‘विष’मा भेट भएको यो जोडी त्यसपछि अर्को चलचित्र वीरताको चिनोसम्म आइपुग्दा त श्रीमान्–श्रीमती नै बन्न पुग्यो । पे्रम झाँगिँदै विवाहमा परिणत भएको यो जोडीको विवाहको पनि राष्ट्रिय पर्वजस्तै चर्चा हुन थाल्यो । नेपाली चलचित्रकर्मी सायदै त्यस्ता विवाहमा सहभागी भएका थिए होलान् । त्यस्तो विवाहको भोज दिए फाइभस्टार होटलमा शङ्कर र ऋचाले ।
दुवैको छुट्टाछुट्टै गाडी मात्र भएन, काठमाडौंको महँगो स्थान गौरीघाटमा घरसमेत खरिद गरे यिनीहरूले । रातारात करोडपछि बनेको यो जोडीको उचालिएको आर्थिक अवस्था र हैसियतबारे चलचित्रकर्मीबीच गरमागरम चर्चाले निरन्तरता पाइनै रह्यो ।
यसरी कुनै समय फाइभस्टार होटलमा छिर्न डराउने शङ्कर र ऋचाले विवाहको पार्टी लाखौँ खर्च गरेर दिएपछि उनीहरूको कमाइको स्रोतबारे गाइँगुइँ चलिनै रहेको समयमा यो कमाइको रहस्योद्घाटन अहिले क्रमशः खुल्दै आउन थालेको छ ।
लुटको धन फुपूको श्राद्ध भनेजस्तै अरूको धन खर्च गर्न पाएपछि पैसाको माया कसलाई पो लाग्छ र ? दुःख गरेर कमाएको भए पो खर्च गर्न माया लाग्छ । तर यिनीहरूले त अरूको धनमाथि रजाइँ गरेका रहेछन् ।
करोडौँको ढुकुटी खेलाएर त्यसैको रकम आफ्नै निजी प्रयोगका लागि खर्च गर्ने गरेको कुरा अहिले पर्दाफास भएको छ । यही ढुकुटीका कारण यो जोडी अहिले मुलुकबाट पलायन भएको छ । ढुकुटीमा उठेको रकम चलचित्र निर्माण र निजी प्रयोगमा खर्च गर्न थालेपछि ढुकुटीमा तिर्नुपर्ने रकम यो जोडीसँग भएन । आउने स्रोत नभएपछि ढुकुटीको अरू किस्ता खानेले पैसा तिर्न बारम्बार ताकेता गर्दा पैसा उपलब्ध गराउन असमर्थ भएपछि गोप्य रूपमा यो जोडी विदेश हुइँकिएको तथ्य अहिले सार्वजनिक भएको छ । नैतिक रूपमा रकम तिर्ने हो भने करोडौँ रकम तिर्न बाँकी रहेको छ यिनीहरूको, तर नेपालमा बसेर त्यो रकम तिर्न असम्भव भएपछि दुवैले राम्रो उपाय सोचे विदेश छिर्ने ।
शङ्कर र ऋचा विदेश भाग्न लागेको चर्चा त सुरुमा नै चलेको थियो, तर त्यतिबेला चलचित्र तुलसी देखाउन उता जान लागेको बताएर यी दुई एक सन्तानका साथ क्यानडा छिरे । क्यानडापछि अहिले शङ्कर र ऋचा अमेरिका गएका छन् । नेपालबाट पहिले शङ्करलाई अमेरिकाले भिसा दिएको थिएन । तर, शङ्करले क्यानडाबाट अमेरिकाको भिसा लगाउन सजिलो हुन्छ भन्ने थाहा पाएपछि त्यसै गरेर उनी अमेरिका छिर्न सफल पनि भए । नेपालमा आफ्नो विवाहमा फाइभस्टार होटलमा पार्टी दिने यो जोडी अहिले अमेरिकामा सानोतिनो काम गरेर जीवन गुजारिरहेको छ । यो कुरामा अमेरिकामा रहेका नेपालीहरू विज्ञ छन् ।
जसरी रातारात चुलीमा पुगेका थिए शङ्कर र ऋचा अहिले त्यसरी नै झरेका छन् । ढुकुटीका कारण धेरैको परिवार र जीवन तहसनहस भएको समाचार आइरहेकै समयमा नेपाली चलचित्र क्षेत्रको एउटा जोडीको जीवन पनि सिनेमाको कथाजस्तै दुःखदायी छ । तर, यो कथा नभएर वास्तविक नै भइदियो ।

विदेशको कमाइमा स्वदेशी कला
सात वर्ष नेपाली सेनामा काम गरेपछि विदेश हुइँकिएका मोहन बोगटी अहिले दुबईमा कार्यरत छन् । नेपाली गीत/सङ्गीत तथा चलचित्र क्षेत्रप्रति उनको चाह र सौख पुरानै हो । गीत गाउने तथा अभिनय गर्ने उनको इच्छाले निरन्तरता पाउन नसके तापनि वर्षमा एउटा म्युजिक भिडियोमा काम गर्ने उद्देश्यलाई भने उनले पूरा गर्दै आएका छन् । दुबईबाट वर्षमा केही दिनको छुट्टीमा नेपाल आउँदा म्युजिक भिडियोमा अभिनय गर्ने मोहनले केही समयअगाडि नेपाल आउँदा पनि आफ्नो त्यो इच्छा पूरा गरे ।
सौन्दर्य नामक एल्बममा रहेको ‘हुनेलाई सुनन साइँली सुनैको मन्तर…’ बोलको गीतमा मोडलिङ गरेपछि मोहन फेरि दुबई नै फर्किएका छन् । अभिनय र नृत्य विधामा विशेष रुचि राख्ने उनी दुबईमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा पनि छुट्दैनन् । स्थानीय नेपालीमाझ राम्रै क्रेज बनाएका मोहनको अब एउटै मात्र उद्देश्य छ– नेपाली सिनेमा बनाउने । ‘यसबारे मेरो दाजु मधु बोगटी र मेरो छलफल अन्तिम तयारीमा पुगेको छ । यो काम चाँडै सुरु हुन्छ,’ उनले भने ।

करिश्मासँग नाच्ने सीतारामको इच्छा
०४४ सालदेखि औपचारिक रूपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका गायक सीताराम पोखरेल नेपाली साङ्गीतिक क्षेत्रको स्थापित नाम हो । रेडियो नेपालबाट प्रारम्भ भएको गायक पोखरेलको साङ्गीतिक यात्राले ०५८ मा पहिलोपटक एकल एल्बमको रूपमा श्रोतामाझ आउने अवसर पाएको थियो । उक्त साल गायक पोखरेलको डेब्यू एल्बम ‘खोजी हेरिनौ’ श्रोतामाझ आएका थियो, जसका अधिकांश गीत श्रोताले मन पराएका थिए । ०६१ मा ‘बिनाकारण’, ०६४ मा ‘स्पार्क’, ०६६ मा ‘अक्टोबर फोर’ तथा ०६८ मा ‘सम्मान’ गरी गायक पोखरेलले हालसम्म पाँचवटा एकल एल्बम बजारमा ल्याइसकेका छन् ।
दुई दशकभन्दा बढी समयदेखि अनवरत रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय गायक पोखरेल आफ्ना गीतका म्युजिक भिडियोका कारण पनि चर्चामा आइरहन्छन् । उनका म्युजिक भिडियो चर्चामा आउने कारण यसमा अभिनय गर्ने कलाकार हुन् । उनले हालसम्म निर्माण गरेका करिब डेढ दर्जन म्युजिक भिडियोमा पूर्वमिसनेपाल तथा नेपाली चलचित्रका नायिकाले मात्र अभिनय गरेका छन् । झरना थापा, निशा अधिकारी, अरुणिमा लम्साल, सुमिना घिमिरे आदि नायिकाहरूका साथै पूर्वमिसनेपालहरूले पनि उनको गीतको म्युजिक भिडियोमा अभिनय गरेर गीतलाई लोकप्रिय बनाउन सहयोग पु-याएका छन् ।
गायक पोखरेल पुनः एकपटक नेपाली सङ्गीतका पारखीको मन जित्न आइपुगेका छन् । यसपटक उनले आफ्ना लोकप्रिय म्युजिक भिडियोहरूलाई सङ्कलन गरेर एउटा डीभीडी एल्बम तयार पारेका छन् । ‘द बेस्ट म्युजिक भिडियो अफ सीताराम पोखरेल’मार्फत गायक पोखरेल दर्शकमाझ आउन पाउँदा आफूलाई भाग्यमानी मानिरहेका छन् । आफ्ना १० वटा लोकप्रिय म्युजिक भिडियोलाई डीभीडीको स्वरूप प्रदान गर्ने क्रममा गायक पोखरेलले ठूलै मिहिनेत गर्नुपरेको बताए । भ्वाइस क्रिएसनले बजार व्यवस्थापन गर्ने यो डीभीडी एल्बमको मूल्य दुई सय २५ रुपैयाँ राखिएको छ ।
सुन्नेभन्दा हेर्ने गीत/सङ्गीतले दर्शक तथा श्रोताको मन जितिरहेको अवस्थामा गायक पोखरेलले दर्शकहरूको सहजताका लागि डीभीडी एल्बम तयार पारेको बताए । विराटनगरका स्थायी बासिन्दा गायक पोखरेल विगतमा थुपै्र साङ्गीतिक सम्मान तथा पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । समाजसेवामा समेत रुचि राख्ने गायक पोखरेल आवाजले साथ दिउन्जेल साङ्गीतिक क्षेत्रमा निरन्तरता दिइरहने बताउँछन् । उनका एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् भने उनी अहिले छैटौँ एल्बमको तयारीमा छन् । ‘अब एउटा म्युजिक भिडियोमा नायिका करिश्मा मानन्धरसँग अभिनय गर्ने इच्छा छ,’ सीतारामले अन्तरमनको चाहना खुलाए ।