– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जकार्ता)
अन्तर्राष्ट्रिय प्रतियोगितामा राज्यले सहभागिता जनाउँदा ओलम्पिक कमिटीले कस्तो भूमिका निभाउनुपर्छ, त्यसमा सर्वोच्चद्वारा अवैधानिक घोषित जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी १८औँ एसियाडमा नराम्रोसँग चुकेको छ ।
साँचो रूपमा भन्नुपर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गराउँदा ओलम्पिक कमिटीले सेतुको भूमिका निभाउनुपर्छ । त्यस्तै, अन्तर्राष्ट्रिय खेल मञ्चमा राष्ट्रिय खेलकुद परिषद् र अन्य खेलकुदका उच्च पदाधिकारीको सम्बन्ध विस्तार गराउनेतर्फ पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा राष्ट्रको खेलकुदको प्रतिष्ठा बढाउन लबिङदेखि अन्य सहयोगहरूको विस्तारको भूमिका पनि ओलम्पिक कमिटी खरो उत्रिनुपर्छ । किनकि अन्तर्राष्ट्रिय खेलमा राष्ट्रले प्रतिनिधित्व गर्दा ओलम्पिकको बाटो भएर गर्नुपर्छ । जब कि १८औँ एसियाडमा राष्ट्रको खेलकुदमन्त्री, मन्त्रालयका सचिव र अन्य खेलकुदका पदाधिकारीहरूलाई ओलम्पिक कमिटीले गर्नुपर्ने व्यवहार गरेन ।
स्मरण रहोेस्, १८औँ एसियाली खेलकुद प्रतियोगिता सञ्चालन हुन ठीक एक दिन अगाडि ओलम्पिक कमिटी अफ एसिया (ओसीए) बैठक जकार्तामा बसेको थियो । उक्त बैठकमा सम्पूर्ण ओसीएका विशिष्ट पदाधिकारीहरूको उपस्थिति थियो । यति मात्रै होइन, उक्त बैठकमा नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालले गर्न सक्ने या न सक्ने कुरामा समेत चर्चा चलेको थियो ।
साँचो कुरा के हो भने अहिले श्रीलङ्का धराप थापेर बसेको छ । नेपालले कहिले १३औँ सागको आयोजना छोड्ला र १३औँ सागलाई धरापमा पारौँला भनेर ताकमा बसेको छ । यस्तो विषम परिस्थितिमा श्रेष्ठले जकार्तामै भएका खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र मन्त्रालयका सचिवलाई भेट्टाउने कुनै कोसिस गरेनन् । उल्टै राज्यका प्रमुख व्यक्तिले भन्नुपर्ने कुरा हचुवाको भरमा अस्पष्ट रूपमा आफूले भनेर हासोको पात्र बने ।
यदि यही कुरो खेलकुदमन्त्री सुनारले ओसीएको बैठकमा बोलेको भए ओसीएका पदाधिकारीले विश्वास गर्ने ठाउँ हुन्थ्यो । आफूले ओसीएको बैठकमा बोलेकै कारण मन्त्री पनि १३औँ साग नेपालमा जसरी पनि गर्नुपर्ने कुरामा चेपुवामा पर्थे । तर, श्रेष्ठले जुन किसिमको मपाइँत्व देखाएर खेलकुदमन्त्रीलाई उपेक्षा गरे त्यसको प्रभाव साग गेमको आयोजनामा देखिने प्रायः निश्चित भएको छ । देशभित्र खेलकुदका पूर्वाधार निर्माण गर्न यतिबेला नेपाललाई यस्तै मञ्चको आवश्यकता थियो, तर श्रेष्ठका कारण नेपालले यो अवसर गुमाएको छ ।
स्मरण रहोस्, १३औँ साग नेपालमा आयोजना गर्ने भनेर शंकनाद गरिए पनि अहिलेसम्म १३औँ साग मूल तयारी समितिको बैठक बस्न सकेको छैन । यस्तो अवस्थामा नेपालमा १३औँ साग हुने कल्पनासमेत गर्न सकिँदैन । प्राप्त जानकारीअनुसार मन्त्री सुनारले दशरथ रंगशालाको तयारीपश्चात् मात्रै मूल तयारी समितिको बैठक डाक्ने भनेको बुझिनमा आएको छ ।
यस्तो गहन जिम्मेवारीको हुँदाहुँदै पनि नेपाल ओलम्पिक कमिटीका पदाधिकारीले १८औँ एसियाडमा गाईजात्रै चरित्रमा देखिएका छन् । साँचो रूपमा भन्नुपर्दा आफूले विदेश सयर गर्न ल्याएका आसेपासे व्यक्तिहरूको व्यवस्थापनतर्फ सम्पूर्ण समय खर्चेका छन् । सानो उदाहरणका लागि ओलम्पिक कमिटीले ल्याएका सञ्चारकर्मीहरूलाई लिन सकिन्छ । ती सञ्चारकर्मीलाई बस्नको लागि ओलम्पिक कमिटीले चारतारे होटेल बुक गरे पनि त्यहाँ बस्न देखिएको जात्रा गाईजात्राभन्दा कम थिएन । एनओसीनिकट सञ्चारकर्मीले उक्त कोठा हत्याउन गरेको प्रयास, धम्की र तँछाडमछाड आफैँमा कुनै युद्धभन्दा कम थिएन ।
१८औँ एसियाडको उद्घाटन समारोहमा सञ्चारकर्मीहरूलाई एउटा पाससमेत उपलब्ध गराउन नसक्ने एनओसीको गैरजिम्मेवारी कार्य देख्दा एसियाडमा एनओसीका पदाधिकारीहरू विदेश घुम्न, घुमाउन र आफ्ना आसेपासेहरूलाई डलर बाँड्न मात्रै आएका हुन् कि प्रश्नमाथि प्रश्न उठेको छ ।
प्रतिक्रिया