पुरुषमाथि हिंसाको कुरा

पुरुषमाथि हिंसाको कुरा


nisedhकाठमाडौं जिल्ला अदालतमा यो वर्ष मात्र करिब दुई हजार सम्बन्धविच्छेदका मुद्दा दर्ता भएपछि यसको मापकबारे चर्चा–परिचर्चा हुन थालेको छ । कतिले सम्बन्धविच्छेदलाई महिला सशक्तीकरणको दृष्टिकोणबाट पनि हेर्ने गर्छन् । तर, सशक्तीकरणभन्दा पनि समाजमा सम्बन्धविच्छेदबारे आएको हेर्ने दृष्टिकोणमा परिवर्तन र जसले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने मान्यताबाट मुक्त हुँदै गएको समाज यसको एउटा कारण हुन सक्छ । टाढाको किन कुरा गरौँ, एक दशकअघि र अहिलको बीचमै सम्बन्धविच्छेदलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ । यसो हुनुको प्रमुख कारण अब यो कतै सुनेको या आफन्तहरूले भोगेको घटनाका रूपमा रहेन । सम्बन्धविच्छेद घर–घरकी कहानीझैँ बन्न थालेकाले यसप्रतिको दृष्टिकोण पनि बदलिँदै गएको हो । जब आफ्नै छोराछोरीमाथि घटनाहरू हुन्छन् अनि बाबुआमाले गहिरो अनुभूति गर्न थाल्छन् । काठमाडांै जिल्ला अदालतको मात्र कुरा होइन, विभिन्न जिल्ला अदालतमा अहिले सम्बन्धविच्छेदका मुद्दाहरू बढ्दै गएका छन् । कुनै बेला थियो– सम्बन्धविच्छेदलाई पश्चिमा संस्कृतिका रूपमा लिइन्थ्यो तर अहिले ताप्लेजुङदेखि डडेल्धुरासम्म, शहरबजारका मात्र नभएर गाउँका कुनाकाप्चाका जोडीसमेत एउटै छानोमा बस्न सक्ने अवस्था नभएपछि छुट्टिन थालेका छन् । कसैसँग सँगै बसेर दुःखी हुनुभन्दा अलग भएर खुसी हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । निश्चिय नै समाज विकासक्रममा यसले असर पु-याउँछ र पु-याइरहेको छ । हाम्रो मुलुक मात्र होइन, सम्बन्धहरू पनि सङ्क्रमणमा छन् । खान, लाउनभन्दा पनि मान्छेलाई सम्बन्धमा समस्या आइरहेको छ । यसका कारण अनेक छन्, कतिपय मूल्यमान्यता, माइन्ड सेट धेरै कुराले यसमा काम गरेको छ । मानिसहरू भन्छन्– अदालतमा भएका यी मुद्दा त महिलाले हालेका हुन् । सम्बन्धविच्छेदका लागि अदालतमा सीधै पहल महिलाले मात्रै गर्न पाउँछन् । यदि पुरुषले पनि गर्न पाउने हो भने यो सङ्ख्या कति गुणा बढी हुने थियो होला ?
महिलामाथि हुने हिंसालाई विश्वव्यापी आश्चर्यको रूपमा लिइन्छ । धनी, गरिब, शिक्षित, अशिक्षित सबै वर्ग–समुदायका महिलाले जिन्दगीको कुनै न कुनै मोडमा कुनै न कुनै प्रकारको हिंसा भोग्ने गरेको कुरा अनुसन्धानले देखाएका छन् । हिंसाको कुरा गर्दा प्रायः महिलालाई पीडित र पुरुषलाई पीडकको रूपमा चित्रित गर्ने गरिएको छ । तर, के सबै पुरुष हिंसामुक्त छन् ? पुरुषमाथिचाहिँ हिंसा हँुदैन ? जिन्दगीको कुनै पनि मोडमा महिलाले झैं पुरुषले कुनै न कुनै प्रकारको हिंसा भोगेका हुँदैनन ? बिस्तारै–बिस्तारै यस्ता सवाल पनि उठ्न थालेका छन् । महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ र यसबीचमा धेरै मुद्दा बाहिर आएका छन् । लैङ्गिक हिंसाको कुरा गर्दा महिला, पुरुष, अन्य लिङ्गी सबैलाई समेटिन्छ । लिङ्गको आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । तर, धेरै मुलुकको सवालमा महिलाले नै बढी हिंसा भोग्नुपरेका कारण लैङ्गिक हिंसालाई महिलामाथि हुने हिंसाको रूपमा हेर्न थालिएको हो । पुरुषले पनि हिंसा महसुस नगर्ने होइनन्, उनीहरूमाथि पनि हिंसा हुँदै नहुने भन्ने होइन तर व्यक्तचाहिँ पुरुषले कम गर्छन् भन्ने पनि छ । अहिले महिलामाथि हुने हिंसा बढिरहेको हो या महिलाले व्यक्त गर्ने र घटनाको रिपोर्टिङ हुने क्रम बढेको हो भन्ने कुरा पनि बहसको विषय बनेको छ । सर्वसाधारणको मिडियामा पहुँचका कारण पनि धेरै घटना बाहिर आउन थालेका छन् । तर, पुरुषबाट भने यसप्रकारका घटनामा मौनता तोडिएको छैन । कतिपय पुरुषको भनाइ छ, मौन रहनु सबैभन्दा कठिन कार्य हो । हाम्रोजस्तो समाजमा पुरुषहरूलाई मौनता तोड्न त्यति सहज पनि छैन । तिमी त बहादुर, कठोर हुनुपर्छ, घरको कुरा बाहिर भन्नुहुँदैन, आइमाईले जस्तो कुरा गर्दै हिँड्नुहँुदैन, तिमी त कुलको दीपक… भन्दै हुर्काइएका पुरुषहरूले आफूमाथि भएका घटनालाई हतपत व्यक्त गर्न सक्ने त कुरै भएन । परिणाम आफूले चाहेको जीवन बाँच्न नपाउने पुरुषहरूको सङ्ख्या यहाँ धेरै छ ।
सम्बन्धको सवालमा मात्र होइन, कतिपय अवस्थामा पुरुष भनेका त यस्ता नै हुन्छन् भनेर बलात्कारीदेखि हत्यारा हुँदै आफूलाई समेत एउटै ट्याग लगाइदिँदा सत्जन पुरुषले आफूमाथि हिंसा महसुस गर्दा रहेछन् । केही दिनअघि एक मित्रले भनेका थिए– मलाई त हिजोआज महिलाका कार्यक्रममा जान पनि मन लाग्दैन । यस्तै कानुनले आफूलाई भेदभाव गरेको ठान्ने पुरुषहरूको सङ्ख्या पनि धेरै छ । आफूले वर्षौं दुःख र मिहिनेत गरेर कमाएको सम्पत्तिमा आफूप्रति कुनै उत्तरदायित्व निर्वाह नगरेकी श्रीमतीले दाबी गर्दै मुद्दा हालेपछि हिंसा महसुस गर्ने पुरुषहरू पनि छन् । यस्तो घटनामा परेकाको भनाइ रहने गरेको छ– मैलेचाहिँ सबै प्रकारको दायित्व निभाउनुपर्ने, उनले केही गर्नु नपर्ने ? दायित्व त दुवैको हुनुपर्ने होइन र ? यस्तै वैदेशिक रोजगारीमा भएकामध्ये केहीको पीडा कम छैन । व्यावसायिक र व्यक्तिगत दुवै तहमा पुरुषले पनि हिंसा नभोग्ने होइनन् तर यसको मात्रा या सङ्ख्या कम भएका कारण यो चर्चाको विषय बन्न सकेको छैन । सडकमा महिला ट्राफिकले आफूलाई ‘तँ’ भनेर सम्बोधन गर्दा हिंसा महसुस गर्ने पुरुषहरू पनि रहेछन् । एक पुरुष मित्रले भने– मलाई कुनै केटा ट्राफिकले त्यसरी तँ भनेको भए के गर्ने थिएँ, तर महिला भएकाले चुप लाग्नुप-यो ।
महिला हुन् या पुरुष मानवीय कमजोरी र ताकत दुवैमा हुन्छन् । केलाई कति बढाउने हो र केलाई कति घटाउने भन्ने मात्रै हो । भुक्तभोगीहरू भन्छन्– कतिपय पुरुषलाई हिंसाभन्दा बढी हीन भावना महसुस हुन्छ । महिला हुन् या पुरुष त्यसप्रकारको ‘कम्प्लेक्सिटी’बाट मुक्त हुन सके मात्र असल मानव बन्न सक्छन् । महिलालाई हेर्ने दृष्टिकोण महिलामाथि हुने हिंसाको कारण भएझैं पुरुषलाई हेर्ने सामाजिक दृष्टिकोण पनि पुरुषमाथि हुने हिंसाको कारण हो । क्षमताले भ्याओस्–नभ्याओस् जान्ने हुनैपर्ने, घरबाहिरको काममा इच्छा होस् कि नहोस् गर्नैपर्ने, कति पुरुषलाई घरेलु काममा रुचि हुन्छ तर केटा भएर पनि घरमा बस्ने ? भन्ने प्रश्नले उनीहरूलाई घरेलु हुनै दिँदैन । घर, श्रीमती, छोराछोरी, बाबुआमा सबैप्रति दायित्व व्यहोर्नैपर्ने, महिला आफूले आफूलाई मात्र हेर्नुपर्ने अवस्थामा त गाह्रो छ भने पुरुषहरूले यी सब कसरी धानिरहेका होलान् ? भनेर खासै सोचिएको छैन । समय र सन्दर्भले अर्को अर्थ नलागेमा मानव हुनुको अर्थमा महिलाले मात्र होइन पुरुषले पनि हिंसा सहेर बस्नुहँुदैन । त्यसैले एक–अर्काप्रति सम्मानित व्यवहारको अपेक्षा र अभ्यास गरौँ ।