इन्डोनेसियामा जारी १८आँै एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदै छ ।
मंगलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिस्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्न सके १८औँ एसियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।
मंगलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७ सय ९८ अंक छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २ सय ९८ अंक तथा दुई हजार १ सय ९२ अंकसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।
नेपालले विगतमा एसियाली खेलकुदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आए पनि यसपालि पदकविहीन हुनुपरेको छ । नेपालले प्याराग्लाइडिङबाट पदकको आस जगाएको छ । प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदकका लागि प्रयास गर्ने बताए । चौथो चरणसम्म आइपुग्दा नेपालभन्दा अगाडि जापान मात्र छ ।
सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ । नेपालको २१६ अंक छ । उक्त स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोस्रो र आयोजक इन्डोनेसिया तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया