सरकारको ‘इमोसनल’ निर्णय

सरकारको ‘इमोसनल’ निर्णय


sportयतिबेला नेपाली क्रिकेटले विश्वकपमा छलाङ मारेको उत्सवमा राजादेखि रङ्कसम्म रमाइरहेका छन् । अझ सरकारको कुरा गर्दा अन्यभन्दा एक कदम अगाडि देखिएको छ । सरकारले नेपाल ट्वान्टी–ट्वान्टी विश्वकपमा पुगेको खुसियालीमा इतिहास रच्ने खेलाडीलाई दश–दश लाखको पुरस्कार प्रदान गरेर खेलकुदप्रति आफ्नो धारणा स्पष्ट पारेको छ । सरकारको यो कदम अहिले खेलकुद र खेलाडीहरूको माझमा प्रशंसायोग्य र तारिफयोग्य बनेको छ । खेलाडीले पनि यसलाई आफ्नो मिहिनेत र परिश्रमको फलको रूपमा लिएका छन् । जसले भविष्यमा खेलाडीलाई राम्रो प्रदर्शन गर्न प्रोत्साहन गर्ने उनीहरूको कथन छ । तथापि उत्कृष्ट प्रदर्शन गरेर पुरस्कृत हुने खेलाडी साँच्चै यो पुरस्कारका हकदार थिए कि थिएनन् त्योचाहिँ अहिले बहसको विषय बनेको छ ।
सन् २०१४ मा बंगलादेशमा आयोजना हुन गइरहेको आईसीसी विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता हुँदै छ । तर, त्यो सहभागितालाई अहिले खेलकुदका विश्लेषकहरूले विश्वकपको सहभागिता नभई दोस्रो चरणको सहभागिता भनेर अथ्र्याइरहेका छन् । विश्वकपमा विश्वका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भए पनि वेष्टइन्डिज, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, पाकिस्तान र श्रीलङ्कालाई उपल्लो दर्जाको आठ टिममा राखिएको छ । यी आठ टिमसँग प्रतिस्पर्धा गर्न नेपालजस्ता अन्य आठ टिमले दोस्रो चरणमा भिडन्त गर्नुपर्ने छ । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने अर्थात् विजेता र उपविजेता टिमले मात्र माथि उल्लेखित टिमसँग भिडन्त गर्न पाउनेछन् । यसपछि दश टिमका बीचमा वास्तविक विश्वकपको भिडन्त हुनेछ । जुन वास्तविक विश्वकपमा पुग्ने टिमहरूमा गणना गरिनेछन् । यस्तो अवस्थामा नेपालले आयोजक बंगलादेश र जिम्बाबेबाहेक फेरि पनि पुरानै प्रतिद्वन्द्वीसँग भिडन्त गर्नुपर्नेछ । नेपालले माथि उल्लेखित भारत, अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न पाउने छैन । यदि नेपालले दोस्रो चरणमा पहिलोे र दोस्रो स्थान हासिल गर्नसकेको खण्डमा भने त्यो अवसर प्राप्त गर्नेछ ।
विश्वकपमा नेपालको सहभागिता हुन्छ तर त्यसलाई दोस्रो चरणको सहभागिताभन्दा उपयुक्त हुन्छ । वास्तविक विश्वकप १६ राष्ट्रबीच नभई १० राष्ट्रबीच हुने भएकाले त्यहाँ पुग्न नेपालका लागि अझै एक खुड्किलो बाँकी छ । तर, विडम्बना, अल्पज्ञान जुन सबैभन्दा खतरा हुन्छ त्यसको प्रयोग नेपालमा भएको छ । सञ्चारकर्मीले वास्तविकता ज्ञात हुँदाहुँदै पनि आवेगमा आएर नेपाललाई विश्वकपमा पु-याएर आमक्रिकेटप्रेमीको खेल भावनाप्रति खेलवाड गरेका छन् । जुन भोलि उनीहरूका लागि कुठराघात हुने पक्का छ । आमक्रिकेटप्रेमी भारत, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया आदि टेस्ट क्रिकेट खेल्ने राष्ट्रसँग नेपालले खेल्ने पाउने कुरामा विश्वस्त छन् । जब उनीहरूलाई वास्तविकता थाहा हुनेछ त्यसपछि उनीहरूको हातमा निसाराबाहेक केहि लाग्ने छैन । नेपाल अझै विश्वकपमा नपुगेको उनीहरूलाई बोध हुनेछ, जुन निकै पीडादायी हुने पक्का छ ।
खेलकुदमा नेपालको ऐतिहासिक सफलताको चर्चा गर्दा तेक्वान्दो खेल र यसका खेलाडीलाई कदापि बिर्सन सकिँदैन । क्रिकेटको यो सफलताभन्दा पनि ठूलो सफलता तेक्वान्दोका खेलाडी दीपक विष्ट र संगीना वैद्यले हात पारिसकेका छन् । जुन जगजाहेरै छ । सीमित स्रोत–साधनका बाबजुद पनि दीपक र संगीनाले ओलम्पिक छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेको कसैबाट छिपेको छैन । सिउल ओलम्पिकमा तेक्वान्दो अनअफिसियल गेम भए पनि विधान लामाले जितेको कास्य पदकलाई यहाँ नजरअन्दाज गर्न कदापि मिल्दैन । किनकि त्यो पदक लामाले फाइट गरेर प्रतिद्वन्द्वीलाई पराजित गरेर जितेका थिए । यसरी खेलको महाकुम्भमा समेत पदकको सम्भावना कुनै खेलबाट छ भने त्यो तेक्वान्दोबाट छ भन्दा अतिसयोक्ति नहोला । किनकि त्यो कुरालाई विधान लामाले प्रमाणित गरेर देखाइसकेका छन् । तर, विडम्बना, मुलुकको प्रतिष्ठालाई सधैँ उँचो पार्दै आएको तेक्वान्दो खेलप्रति सम्बन्धित निकाय र सरकारले विशेष चासो राख्नुपर्नेमा त्यस्तो नहुनु खेलकुदकै लागि दुर्भाग्य बनेको छ ।
अहिले भाग्यले क्रिकेटले पाएको सफलता राष्ट्रका लागि गौरवमय बने पनि विश्वकप छनोट चरणमा नेपालको प्रदर्शन खासै प्रशंसा गर्न लायक भने थिएन । नेपालले छनोट चरणमा सातै राष्ट्रलाई पराजित गर्दै सनसनीपूर्ण जित हासिल गरेर विश्वकपको अन्तिम १६ मा छनोट पनि भएको होइन । नेपाल छनोट चरणमा सात खेलमध्ये चार खेलमा विजय र तीन खेलमा पराजित भएको थियो । तर, अन्तिम १६ मा छनोट हुन भने नेपाललाई भाग्यले साथ दिएको थियो । अन्यथा नेपाल छनोट चरणबाटै बाहिरिसकेको थियो । आफ्नो सम्पूर्ण खेल खेलिसकेको नेपाललाई क्वाटरफाइनलमा पु-याउन आयरल्यान्ड र अफगानिस्तानले महŒवपूर्ण भूमिका खेलेका थिए । जसले नेपाललाई एक प्रकारले वैतरणी तार्ने कार्य नै गरिदिएको हो । भाग्यका अगाडि यो तीतो सत्य अहिले छायामा परे पनि छनोट चरणमा नेपालको प्रदर्शन औसत दर्जाभन्दा माथिको थिएन ।
सञ्चारमाध्यमहरूले हौवा पिटाएकै भरमा सरकारले आवेगमा आएर कुनै निर्णय गर्छ भने त्यो भविष्यमा घातक बन्नसक्छ । तर, यहाँ आंशिक सफलतालाई पूर्ण सफलताझैँ व्याख्या गरिएको छ । कागले कान लग्यो भन्दैमा आफ्नो कान छाम्नुको साटो कागको पछि दौडने सरकारले दुस्साहस गरेको छ । अन्यथा बिनाखोजखबर सरकारले हतारमा कुनै अप्रिय निर्णय कदापि गर्ने थिएन, अवश्य पनि खोजखबर गथ्र्यो । तर, यहाँ यस्तो भएको छैन, सबै क्षणिक लोकप्रियता कमाउन हचुवामा भरमा गैरजिम्मेवारी तरिकाबाट भएको छ । सरकारले खेलाडीलाई पुरस्कृत गर्नु राम्रो कुरा भए पनि त्यसको लायक उनीहरू छन् कि छैनन् त्यो कुरा बुझ्नुपर्ने जरुरी थियो । तर, त्यसो भएन । यसले खेलाडीको अपमानसमेत भएको छ । जसलाई विश्लेषकहरूले सरकारको ‘इमोसनल’ निर्णयको संज्ञा दिएका छन् । त्यो कुराको ज्ञात विश्वकपपछि सरकारलाई थाहा हुने उनीहरूको दाबी छ । क्रिकेटमा रगत–पसिना बगाएका खेलाडीले दश–दश लाख पाए त्यो सकारात्मक पक्ष हो । तर, त्यसरी नै सारा जीवन क्रिकेटमा समर्पण गरेका पूर्वकप्तान विनोद दास र उदीयमान खेलाडी पृथु बास्कोटा इन्जुरीका कारण त्यो अवसरबाट चुके । यो कुराको सरकारले किन ख्याल गरेन । अहिले पृथु पुनः टिममा परिसकेका छन् र उनले आगामी ट्वान्टी–२० विश्वकप खेल्ने पक्कापक्की छ । यस्तो अवस्थामा उनको कुनै मूल्याङ्कन नहुनु कदापि न्यायोचित हुन सक्तैन । सम्बन्धित निकाय नेपाल क्रिकेट सङ्घ क्यान यस सम्बन्धमा उदासीन बन्नु विडम्बना भएको छ ।
नेपालमा क्रिकेट मात्रै खेल छैन, अन्य थुप्रै खेल छन् । जसले अन्तराष्ट्रमा नेपालको मान, सम्मान र प्रतिष्ठालाई उँचो पार्दै आएका छन् र पारिरहेका छन् । तसर्थ एउटा खेललाई काखी च्यापेर अन्य खेलमाथि सरकारले सौताको व्यवहार कदापि गर्नुहँुदैन । सबैलाई समान रूपले हेर्नुपर्छ, उनीहरूको समग्र विकासका लागि उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ । तर, अहिले सरकार बलेको आगो ताप्ने मात्र प्रयास गरिरहेको छ जुन अन्य खेलका लागि पीडादायी बनेको छ । तसर्थ भौतिक पूर्वाधारको निर्माण होस् या मानसम्मान सबैलाई एकै तुलामा राख्ने दूरदर्शी कार्य सरकारबाट हुनुपर्छ । यसैमा खेलकुदको कल्याण हुनेछ । अन्यथा काखा र पाखाको खेलमा खेलकुदमा विकृति र विसङ्गति भित्रिने पक्का छ ।

खेल समाचार

बक्सिङमा सेना र एपीएफ टिम च्याम्पियन
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत द ब्रिटिस कलेज २५औँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषमा नेपाली सेना र महिलामा एपीएफ क्लब शनिबार टिम च्याम्पियन बनेका छन् । सेनाले समान ३–३ स्वर्ण, रजत र कास्य जितेको थियो । तीन स्वर्ण, उत्तिकै रजत र दुई कास्य जितेको एपीएफ दोस्रो भएको थियो भने दुई स्वर्ण र तीन रजतसाथ प्रहरीले तेस्रो स्थान हात पारेको थियो । महिलामा टिम च्याम्पियन बनेको एपीएफले चार स्वर्ण र प्रहरीले दुई स्वर्ण दोस्रो र सेनाले एक स्वर्ण जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मध्यमाञ्चलका मनोहर बस्नेत र महिलामा एपीएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भए । दुवैले १०–१० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । उक्त पुरस्कार नेपाल भूपू बक्सिङ टिमले प्रायोजन गरेको थियो । त्यस्तै टंक बुढामगर वर्षको उत्कृष्ट बक्सिङ प्रशिक्षक घोषित भए । उनलाई अमर ज्योति फाउन्डेसनले २५ हजार र एडिडासले १० हजार नगद पुरस्कार प्रदान गरेको थियो । उनले बक्सिङ किट्स पनि पाए । उत्कृष्ट निर्णायक चुनिएबापत दिनकलाल श्रेष्ठलाई एडिडासले १० हजार नगदबाट पुरस्कृत गरेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको महिलाको ४८–५१ केजीमा सेनाकी मिनु गुरुङले एपीएफकी माया चौधरी तथा ५७–६० केजीमा एपीएफकी सरस्वती राणाले सेनाकी निरू गुरुङलाई पराजित गरी पहिलो भएका थिए । त्यस्तै पुरुषको ४६–४९ केजीमा एपीएफका विक्रम परियारले प्रहरीका निरञ्जन श्रेष्ठ, ४९–५२ केजीमा एपीएफका लक्षुमन तामाङले सेनाका प्रेम चौधरी, ५२–५६ केजीमा प्रहरीका दिनेश श्रेष्ठले सेनाका नरेश देवान, ५६–६० केजीमा एपीएफका पूर्णबहादुर लामाले पूर्वाञ्चलका विराज राई, ६०–६४ केजीमा सेनाका दीपक श्रेष्ठले प्रहरीका भूपेन्द्र थापा, ६४–६९ केजीमा प्रहरीका रत्नबहादुर तामाङले एपीएफका विकास लामा, ६९–७५ केजीमा सेनाका उजरसिंह थापाले मध्यमाञ्चलका सोभित खत्री, ७५–८१ केजीमा मध्यमाञ्चलका दीपक महर्जनले सेनाका दिपेश लामा, ८१–९१ केजीमा मध्यमाञ्चलका मनोहर बस्नेतले एपीएफका मीनप्रकाश जोरा तथा ९१ केजीमाथि सेनाका श्याम खड्काले एपीएफका महेश केसीलाई हराउँदै स्वर्ण हात पारेका थिए । विजेतालाई राखेप सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरे । पाँचदिने प्रतियोगितामा ५९ पुरुषले १० तथा २५ महिलाले सात स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
खेलाडीलाई अजिमाको सम्मान
अजिमा युवा क्लबले मनाङमस्र्याङ्दी फुटबल क्लबका नवीन न्यौपाने र दिनेश कार्की तथा कराते खेलाडी सुरेन्द्रसिंह लामा र सिर्जना अधिकारीलाई सम्मान गरेको छ । त्यस्तै कराते निर्णायक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य रेशम लामा र प्रशिक्षक प्रेमलाल बमजन पनि सम्मानित भएका छन् । उनीहरूलाई नेकपा (एमाले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, एपीएफ प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ र अजिमाका अध्यक्ष प्रकाश श्रेष्ठले खादा र टीका लगाइदिनुका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।
बूढानीलकण्ठमा भएको कार्यक्रममा एक सय ३६ पटक रक्तदान गरेको नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, बूढानीलकण्ठ स्कुलका भूपू प्रधानाध्यापक बेदबहादुर खड्का, श्री गणेश उमाविका प्रधानाध्यापक भीमसेन खत्री, पशु एवम् बोटबिरुवासम्बन्धी चिकित्सक डा. रेवतीमान श्रेष्ठ, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी १ हजार ८ निगमानन्द जी महाराज, सञ्चारकर्मी एवम् गायिका कमला श्रेष्ठ, स्थानीय सङ्घसंस्था अनमोल अस्पताल, स्थानीय समाजसेवी कृष्णमाया श्रेष्ठ, मधुकर नकर्मी र कुमारबहादुर थापालाई आ–आफ्नो क्षेत्रको विकासमा योगदान पु-याएबापत सम्मान गरिएको थियो ।
उसुमा सेना च्याम्पियन
नेपाली सेनाले प्रथम बलम्बु कप राष्ट्रव्यापी खुला उसु प्रतियोगिताको उपाधि जितेको छ । सेनाले ६ स्वर्ण, एक रजत र तीन कास्य जितेर प्रथम स्थान हासिल गरेको थियो । बलम्बु उसु क्वानद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुषमा एपीएफ क्लबका सनी श्रेष्ठ र महिलामा सेनाकी सविता राई उत्कृष्ट खेलाडी चुनिए । सान्सौको पुरुषमा आयोजक बलम्बुका नरेन्द्र कुँवर र महिलामा सुर्खेत उसु क्वानकी डेनुशा घर्तीमगर उत्कृष्ट ठहरिए । तीनदिने प्रतियोगितामा २७ टिमका दुई सय ५० खेलाडीले थाउलुमा १७ तथा सान्सौमा १४ गरी जम्मा ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकका अध्यक्ष विकास श्रेष्ठले जनाएका छन् ।
किरण थापा अन्तर्राष्ट्रिय प्रशिक्षक
सशस्त्र प्रहरी बलको बक्सिङ टोलीलाई विगत १० वर्षदेखि प्रशिक्षण दिँदै आएका बक्सिङ प्रशिक्षक किरण थापा अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन् । गत डिसेम्बर ११ देखि १९ तारिखसम्म काजकिस्तानमा बक्सिङको अन्तर्राष्ट्रिय संस्था एआईबीएले दिएको थ्री स्टार सर्टिफिकेसन कोर्षमा उत्तीर्ण हुँदै थापा अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका हुन् । सो अवसरमा उनले एआईबीएको अन्तर्राष्ट्रिय प्रशिक्षकको लाइसेन्स र प्रमाणपत्रसमेत पाएका छन् ।
०३५ मा काठमाडौंको हाँडीगाउँमा जन्मिएका थापाले ०६० देखि सशस्त्र प्रहरी बलमा बक्सिङ प्रशिक्षण दिँदै आएका छन् । सशस्त्र प्रहरीका सहायक हवल्दारसमेत रहेका थापाको प्रशिक्षणमा सशस्त्र प्रहरी बल पटकपटक विभिन्न बक्सिङ च्याम्पियनसिपहरूमा महिला टिम च्याम्पियन बन्नुका साथै पुरुष टोलीसमेत राष्ट्रिय च्याम्पियनसमेत बन्न सफल भएको छ । उनैको प्रशिक्षणमा रहेका सशस्त्रका सञ्जु लामा र सरस्वती राना यसअघि अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा समेत पुगेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षकको लाइसेन्स पाएसँगै थापाले आफूहरूलाई हौसला मिलेको र अझ परिस्कृत रूपमा खेलाडीलाई प्रशिक्षण दिन आफू सक्षम भएको बताएका छन् ।

जुडो पदक विजेता सम्मानित
भुटानको थिम्पुमा भएको मैत्रीपूर्ण जुडो प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीलाई नेपाल जुडो संघले सम्मान गरेको छ । पुस ७ गते भएको उक्त प्रतियोगितामा नेपालबाट १५ खेलाडीले सहभागिता जनाएकोमा १४ खेलाडीले स्वर्ण र एक खेलाडीले रजत जितेका थिए । प्रतियोगितामा सिनियरतर्फ सरोज महर्जन, पवनकुमार श्रेष्ठ, मोहन सुनवार, सञ्जय महर्जन तथा शिवबहादुर बरामले स्वर्ण पदक जितेका थिए । त्यस्तै जुनियरतर्फ सुजीसच्छे श्रेष्ठ, सुबोध मण्डल, शनिशसाई खड्गी, पुनम श्रेष्ठ, मनिता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ, रेखा सुनार तथा युवराजकुमार सुनारले नेपाललाई स्वर्ण दिलाए । जुनियरमै सुवेन खड्गीले रजत हात पारेका थिए । देवकी महिलातर्फ उत्कृष्ट खेलाडीसमेत चुनिएकी थिइन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले खेलाडीलाई खादा र फूलमाला लगाई सम्मान गरेका थिए ।
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप सुरु
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत विभिन्न ३३ खेलका राष्ट्रिय प्रतियोगिताको सामूहिक उद्घाटन राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छ । राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच च्याम्पियनसिपको विधिवत् उद्घाटन गरेका थिए । उद्घाटनकै अवसरमा च्याम्पियनसिपमा समावेश विभिन्न ३३ खेलका राष्ट्रिय सङ्घलाई प्रतियोगिता सञ्चालन गर्न राखेपले आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो ।
सबैभन्दा बढी रकम पाउनेमा अखिल नेपाल फुटबल सङ्घ रहेको छ । फुटबलले दुई शीर्षक लिग र राष्ट्रिय प्रतियोगिताका लागि समान २०–२० गरी ४० लाख रुपैयाँ पाएको थियो । एकै शीर्षकमा सबैभन्दा बढी रकम पाउनेमा भने नेपाल कराते महासङ्घ रह्यो । कराते महासङ्घले २८ लाख पाएको थियो । सबैभन्दा थोरै नेपाल बुदोकैदो फुलकन्ट्याक्ट सङ्घले दुई लाख र नेपाल साइक्लिङ सङ्घले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
गल्फ, लनटेनिस र विलियर्ड तथा स्नुकर सङ्घले तीन–तीन लाख, सफ्टटेनिस, स्क्वास -याकेट्स, कुस्ती, बुद्धिचाल, आर्चरी र जिम्न्यास्टिकले चार–चार लाख, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते महासङ्घ र पौडी सङ्घले पाँच–पाँच लाख, सुटिङ सङ्घले पाँच लाख ५० हजार, तेक्वान्दो (एनआईटीएफ) ले ६ लाख, तेक्वान्दो युनियन, हक्की, टेबलटेनिस, भारोत्तोलन र जुडो सङ्घले सात–सात लाख रुपैयाँ हात पारे । बक्सिङ र एथलेटिक्स सङ्घले आठ–आठ लाख, ब्याडमिन्टनले नौ लाख, ह्यान्डबल र कबड्डीले १०–१० लाख, उसुले १२ लाख तथा भलिबल र क्रिकेटले १५–१५ लाख पाएका थिए । सो अवसरमा नेपाल बास्केटबल सङ्घलाई दक्षिण एसियाली च्याम्पियनसिप गराउन १८ लाख रुपैयाँ दिइएको थियो । त्यस्तै, नेपाल तेक्वान्दो सङ्घलाई २० लाख प्रदान गरिएको थियो । मन्त्री श्रेष्ठले सम्बन्धित सङ्घका पदाधिकारीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदका लागि यो आर्थिक वर्षको बजेट उत्साहजनक भए पनि नेपालमा खेलकुदको विकासका लागि अझ लगानी बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले पूर्वाधार तयार गर्न, सङ्घलाई मजबुत बनाउन, खेलाडीको स्तरवृद्धिका लागि उत्कृष्ट तालिमलगायतका लागि आगामी दिनमा सरकारले आवश्यक बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरेका थिए ।
राखेप सदस्यसचिव युवराज लामाले च्याम्पियनसिपले सम्पूर्ण खेलाडी र सिङ्गो देशमा खेलकुदको माध्यमबाट एकताको सन्देश प्रवाह गर्ने बताउँदै अब हरेक दुई–दुई वर्षमा बृहत् राष्ट्रिय खेलकुद र लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप गर्ने बताए । सदस्यसचिव लामाले विभिन्न खेलको सफलता र विशेषतः क्रिकेटले हासिल गरेको उपलब्धिले सिङ्गो देशलाई एक सूत्रमा बाँध्न सफल भएको अनुभूति भइरहेको बताएका थिए ।
सो अवसरमा निर्णायकका तर्फबाट बक्सिङ मुख्य प्रशिक्षक ओम मास्के र खेलाडीका तर्फबाट १६औँ एसियाली खेलकुदका कास्यधारी बक्सिङका दीपक महर्जनले शपथ लिएका थिए । च्याम्पियनसिपमा समावेश ३३ खेलमध्ये ३० खेल माघ १५ गतेसम्म सम्पन्न हुनेछ । विविध कारणले पौडी र गल्फ चैत तथा शारीरिक सुगठन फागुनलाई तय गरिएको छ । २० खेल उपत्यकाकेन्द्रित छन् भने १३ खेल मोफसलका विभिन्न जिल्लामा हुनेछन् ।

भण्डारीलाई पितृशोक
यस साप्ताहिकका खेलकुद सम्पादक श्रीविक्रम भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका पचहत्तर वर्षिय पिता दिलबहादुर भण्डारीको मङ्गलबार स्वर्गारोहण भएको हो । डडेल्धुरा निवासी स्वर्गीय भण्डारी स्थानीय समाजसेवीका रूपमा परिचित हुनुहुनथ्यो । उहाँका दुई धर्मपत्नि, चार छोरा र एक छोरी छन् ।