– प्रथा
यो मन जिस्किरहने चौतारीमा
खै कसका होलान्
एक बैँस फूलहरू मुस्कुराइरहेका ?
खै कसले होला
एक गुच्छा जिन्दगीलाई
सपनाका थुङ्गाहरूमा सजाइदिएको ?
मनभित्रका कुण्ठाहरूलाई
चैतेहुरीका उष्ण वेगहरूसँगै
खै कसले होला
थाहै नपाई वनडढेलो सल्काइदिएको ?
०००
कहिल्यै नटुङ्गिने यात्राहरूमा
खै कसले होला
यी उकाली–ओरालीहरू ओछ्याइदिएछ ?
भञ्ज्याङपारिको घाम भेट्न
आधी रातमै बाटो लाग्ने
बटुवाका बेरुजु खल्तीहरूमा
कसले राखिदियो होला
यी अविच्छेदित कुमाले चक्रहरू ?
०००
कठिहारी झर्दै गरेको हुलमा
खै कहाँबाट बर्सियो
यति ठूलो नश्लभेदको विखण्डन ?
मूल्यबोध नरोपिएको यो गाउँमा
आखिरी किन
नमच्चिएका होलान्
सदियौंदेखि चेतनाका लिङ्गेपिङहरू ?
आफैँ मृत्यु उमार्ने पहाडहरू
किन होला
आजकाल मृत्युसँगै डराउँछन् ?
०००
उहिल्यै कुनै एक दिन
माझीटारमा हलगोरु नार्दै गर्दा
खै कसले चोरिदिएछ– उसको फाली
र यी दुःखका ढिस्काहरू जोतिएनछन् ?
गोठाल्नीको जोवन फक्रिएको– यो वनमा
कसले च्यातिदिएछ
बैँशालु पिपिरी पातहरू
र यी पिरतीका धूनहरू बज्दैनन् ?
०००
भञ्ज्याङ काट्न दौडिरहेका
छापामारझैँ बटुवाहरूले
अकस्मात् !
जीवनको शयलपाटी भेटे भने
के उनीहरू जीवनको टारीमा सुस्ताउलान् र ?
यी विद्रोही पहाडहरूमा
पुस्तौँदेखि नमच्चिएका लिङ्गेपिङहरू
अनायसै मच्चिन थाले भने
डिठ्ठाहजुरका पुख्र्यौली बुइँगलहरूमा
कति रेक्टर स्केलको भुइँचालु जाँदो हो ?
०००
सचेतनाका सुमधुर बहरहरूमा
खै कसले विष मिसाइदिएछ
र यो पीडाको उराठ जङ्गल उम्रिएछ ?
उहिल्यै,
हराएको फाली खोज्न
यो समयका गोठाल्नी कान्छीहरू
गाजलको घेरा नाघेर
माझीटार खेतसम्म झरे भने
यो आकाशको निधारमा
कुन रङको इन्द्रेणी उदाउँदो हो ??
प्रतिक्रिया