‘म पनि हिरोइनजस्ती ?’

‘म पनि हिरोइनजस्ती ?’


Deepa-shree-niraulaअहिले फुर्सद छैन दीपाश्री निरौलालाई । एकातिर हरेक हप्ता हास्य शृङ्खला तीतो सत्य तयार पार्नु छ भने अर्कोतर्फ आफ्नो समूहले बनाएको चलचित्र ‘छ एकान छ’ रिलिज पनि गर्नु छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको छ एकान छ को दौडधुपमा लाग्दा होस नै हरायो भनिन्छन् उनी ।
० पहिलेभन्दा दुब्लाएकोजस्तो छ नि ?
– नदुब्लाउनु पनि कसरी । न त समयमा खान पाइएको छ न त सुत्न नै पाइएको छ ।
० किन यस्तो भ्याइ–नभ्याई नि ?
– चलचित्र ६ एकान ६ को प्रचारमा दौडनाले निकै व्यस्त भइएको छ ।
० मानिसहरू दुब्लाउन हजारौँ खर्च गर्छन् तर तपाईं त खर्च नै नगरीकन दुब्लाउन थाल्नु भो । राम्रै हो नि होइन र ?
– दुब्लाउनु वा शरीर घट्नु राम्रै हो । तर, बिरामी नै परिन्छ कि भन्ने पो चिन्ता लाग्न थाल्यो ।
० फिल्म बनाउन गाह्रो हुँदोरहेछ, होइन त ?
– हो रहेछ । आफूलाई परेपछि थाहा पाइयो । चलचित्रकर्मीहरूलाई धन्यवाद दिन्छु । साह्रै टेन्सनका बाबजुद पनि उहाँहरूले फिल्म बनाइराख्नुभएको छ ।
० तपाईंहरूको समूहले नयाँ कुरा ल्यायो नि विश्वभर रिलिज भनेर ?
– नयाँ सुरुवात गरेका हौँ । अहिलेसम्म नेपालभर रिलिज भन्ने गरिन्थ्यो, तर हामीले विश्वभर भनेका छौँ । यो गफ होइन, वास्तविकता हो । जुन दिन नेपालमा रिलिज हुन्छ । त्यसै दिन funtimeअमेरिका, अस्टे«लिया, मलेसियालगायतका मुलुकमा पनि यो सिनेमा रिलिज हुँदै छ ।
० तर, लगानीको हिसाबले त तपाईंहरू सुरक्षित भइसक्नुभयो नि, होइन र ?
– यसमा पैसाको कुरा नै भएन । यो त हामी हास्य कलाकारहरूको क्यारियरको कुरा हो । लगानी त हाम्रो उठ्छ, तर हास्य कलाकारहरूले राम्रो चलचित्र बनाए भनेर दर्शकहरूबाट स्याबासी त पाउनुप-यो नि ।
० दीपाश्रीले फिल्म हिट भएपछि बिहे गर्ने चर्चा छ नि ?
– मेरो बिहेको चर्चा त पहिलेदेखि नै हो नि । रह्यो फिल्म हिटको कुरा । पहिले फिल्म हिट त होस्, त्यसपछि बिहेको कुरा गरौँला ।
० कुनै समय हिरोइन बन्न कलाकारितामा आउनुभएको तपाईं अहिले आफ्नो फिल्ममा किन अरूलाई हिरोइन बनाएको नि ?
– म हिरोइनजस्ती छु र भन्या… ?

nishaबच्चा जन्माउन अमेरिका
विभिन्न कार्यक्रमको बहानामा विदेश जाने अनि आफूलाई अनुकूल बनाएर उतै लुक्ने परिपाटी नेपाली कलाकारका लागि नयाँ होइन । यसबीचमा थुपै्रपटक थुपै्र कलाकार विदेश गए अनि उतै लुके । कतिले उतै घरजम गरेर बसे भने कति पैसा कमाएर स्वदेश फर्किए । तर, स्वदेश फर्कने कलाकारको सङ्ख्या भने कम छ । कलाकारहरू विदेश जाँदा उतै लुकेर बस्ने गरेको वास्तविकता नयाँ होइन, तर यहाँ कलाकार आफ्नो भावी सन्ततीका लागि विदेश गएको कुरा उल्लेख गर्न खोजिएको छ ।
कुरा गायिका निशा सुनुवारको हो । उनी लामो समयदेखि गायन क्षेत्रमा सक्रिय छिन् । विविध कारणहरूले चर्चामा आइरहने निशा फेरि एकपटक चर्चामा आएकी छिन् । कारण हो– उनी गर्भवती भएका कारणले मात्र होइन कि गर्भभित्र रहेको बच्चालाई अमेरिकामा लगेर उतै जन्माउने उनको नयाँ जुक्तिबारे बजारमा चर्चा चलेपछि निशा थप चर्चामा आएकी हुन् । निशा गर्भवती भएको ६ महिना पनि पुगेको छैन । तर, उनले दश महिनापछि संसारमा आउन लागेको बच्चाबारे सोच्न भ्याइसकिन् । निशाको यो दूरदर्शिता देखेर कलाकर्मीहरू यतिबेला तिनछक परेका छन् । गर्भवती भएकै समयमा अमेरिका जाने अनि उतै बच्चा जन्माएपछि बच्चा र आफ्नो जीवन अमेरिकाकै कानुनअनुरूप सुखका साथ बिताउने निशाको नयाँ आइडियामा उनलाई केही हदसम्म सफलता पनि हात लागेको छ । निशा केही समयअघि गर्भवती भएकै समयमा अमेरिका पुगिसकेकी छिन् भने यतिबेला उनी अमेरिकाको सयरमा छिन् । अबको केही महिनामा निशा सुत्केरी हुनेछिन् र उनको बच्चा अमेरिकामा जन्मिएपछि उतैको सुखसुविधामा हुर्कनेछ ।
नेपाली कलाकारले अमेरिकाको ग्रिनकार्ड हात पार्न वा उताको बसोबासका लागि कानुनी रूपमा विभिन्न बाटोहरू खोज्ने गरेको कुरा त बजारमा आइरहेकै हुन् तर निशाको जस्तो आइडिया भने पहिलो हो । निशाको यो आइडियाको अब अरू महिला कलाकारले सिको गर्ने अवस्था नआउला भन्न सकिन्न । आफ्ना सन्तानलाई अमेरिका लैजान कानुनी रूपमा धेरै पापड पेल्नुपर्ने अवस्थाबाट आजित भएका कलाकर्मीको भीडमा निशाले त सजिलो बाटो जन्मनुभन्दा पहिले नै त्यो ठाउँमा पु-याइन् । यसलाई भन्छन्– अरूहरूको सोच जहाँ टुंगिन्छ निशा भने त्यहाँबाट सोच्न सुरु गर्दी पो रहिछन् ।

rekhaरेखाले दिइन् ‘एमाओवादी’लाई झापड
अब अभिनेत्री रेखा थापा चलचित्र अभिनयभन्दा पनि समाजसेवी बढी हुन थालेकी छिन् । कतै उनले अभिनयलाई विस्तारै माया मार्न लागेकी त होइनन् ? ‘होइन, होइन । केही कम मात्र भएको हो । जुन क्षेत्रले मलाई यहाँ पु-यायो त्यो क्षेत्रलाई माया मार्न सक्दिनँ,’ रेखाको स्पष्ट जवाफ छ ।
तर पनि रेखा अब अफर आएका जति सबै चलचित्रमा काम गर्ने योजनामा भने छैनन् । मुलुक र समाजप्रति दायित्वबोध गराउने वा चेतनामूलक चलचित्रमा बढी खेल्ने कुरा बताइन् उनले । यतिबेला रेखालाई माओवादी नायिका भनेर सम्बोधन पनि गर्ने गरिएको छ । तर, रेखा ठाडै यो कुरा अस्वीकार गर्छिन् । उनले भनिन्, ‘म कुनै पार्टीकी नायिका होइन, म त सबै पार्टी अनि सबै नेता र दर्शकहरूकी नायिका हुँ ।’ उनले आग्रह गरिन्, ‘मलाई कुनै पार्टीको भनेर आक्षेप नलगाउनुस् ।’