महाराज जुद्धको स्वाभाविक आक्रोश : ‘राजाको छोरा भएर यस्तो बेकाइदा गर्ने ?

महाराज जुद्धको स्वाभाविक आक्रोश : ‘राजाको छोरा भएर यस्तो बेकाइदा गर्ने ?


– ध्रुवहरि अधिकारी

निजी संस्मरणमा आधारित कृति ‘आफ्नै कुरा आफ्नै कथा’ हालै सार्वजनिक गरिएको कृति हो । साहित्य र नेपालको इतिहासमा अभिरुचि राख्ने लेखक र सम्पादकहरूको सानो तर विशिष्ट समूहमार्फत लोकार्पण गरिएको १३६ पृष्ठको यो पुस्तक ‘गागरमे सागर’सरहको छ । किनभने यो गद्य रचना राणाकालीन नेपालको सामाजिक–सांस्कृतिक परिस्थिति जान्न, बुझ्न चाहनेका लागि खँदिलो सन्दर्भग्रन्थ हो । ८९ वर्षीय सुशीला रानी राणा (मनोहरा)को जाँगर र स्मरणशक्ति प्रशंसनीय स्तरको छ ।

गत साउन १९ गते खुमलटारको निजी निवासमा भएको भेटघाटमा उपस्थित रोचक घिमिरे (रचना द्वैमासिक), नगेन्द्र शर्मा (अभिव्यक्ति द्वैमासिक), रामप्रसाद पन्त (दायित्व द्वैमासिक), डा. सुषमा आचार्य, रामजीप्रसाद उपाध्याय पोखरेल र लेखिकाका नातेदार एवम् आफन्तजनको निचोड माथिको आकलनसित मिल्दोजुल्दो नै होला । यस हरफको लेखक त्यस दिनको कार्यक्रमको एक साक्षीसम्म हो । लेखिकाका पुत्र मणि राणा त्यस दिन आयोजकको भूमिकामा हुनुहुन्थ्यो । भन्नु परोइन, मणि राणा नेपालको पत्रकारजगत् र बीबीसीका अनगिन्ती श्रोताका थप चिनारी गराउनु नपर्ने नाम हो ।

सर्सर्ती हेर्दा, यो पुस्तक चौतरिया शाह परिवारमा जन्मेर राणा परिवारमा बिहावारी भई राजदरबारमा २७ वर्ष सेवा गरेकी एक महिलाका निजी अनुभव र त्यसमा मिसिएर आएका भावोद्गारको सङ्गालो हो । तर, यथार्थ यही मात्र होइन । यसमा स्वतन्त्र इतिहासकारको निम्ति राणाकालीन नेपाल कसरी सञ्चालन गरिएको रहेछ त्यसको वास्तविकता ठम्याउन उपयोगी हुने थुप्रै जानकारी पाइन्छ । सामान्य दिनचर्याका प्रसङ्गमा कोट्टिएर आएका कतिपय कुरा नयाँ सूचना, जानकारी भएर आएका छन् । केही कुरा त लेखिकाकै बारेमा पाइन्छ : २००७ सालपछिको राजदरबारमा उहाँ पहिलो महिला अधिकृत कर्मचारी । उहाँले एमए (अङ्ग्रेजी) को शैक्षिक योग्यता हासिल गरेपछि ०२२ सालमा राजदरबारको प्रशासनमा पस्दा देशमा राजा महेन्द्रको शासनकाल थियो भने ०४९ सालको आरम्भमा अवकाश पाउँदा नेपाल राजा वीरेन्द्रको राज्यकालमा थियो ।

संयोग, लेखिका राजदरबारको सेवाबाट निवृत्त हुँदा सहसचिवको दर्जामा पुग्ने पहिलो महिला पनि हुनुभएछ । अर्को एउटा पारिवारिक संयोगको पनि चर्चा भएको छ पुस्तकमा ः भोटको लडाञीमा ज्यान गुमाएका चौ. जसप्रताप शाहको वीरताको सम्मानमा जङ्गबहादुरले शाहकी पत्नीलाई लप्टनको दर्जा दिएका रहेछन् । ‘उहाँले नेपाली सेनाको पहिलो महिला अधिकृत हुने सौभाग्य पाइबक्सेको पक्कै हो ।’

राजदरबारमा जागिर खाँदैमा सुशीला रानी राणा दरबारका सबै चाल–चलन, कार्यशैलीको समर्थक हुनुभएन, त्यसको झलक ठाउँ–ठाउँमा भेटिन्छ यद्यपि कर्मचारीको अनुशासनले सबै प्रकारका भावना तत्काल पोख्न दिँदैनथ्यो । जस्तो, नेपालका शिक्षण संस्थाहरूमा पढेका उहाँजस्ताको भाउ दरबारमा थिएन, ‘विदेश गएर आउने मात्र योग्यता भएका ठानिन्थे । तिनैको बुद्धि र विचारको फलस्वरूप हाम्रो देश भ्रष्ट र भ्रष्टाचारीको गढ बन्यो भन्दा विराम नहोला ।’

कति सरल र जनस्तरको भाषामा आएको खरो विचार !

साहित्यमा लेखिकाको रुचि किशोरावस्थामै जागेको रहेछ । कालान्तरमा कुनै एकजना प्राध्यापकले ‘साहित्य के हो ?’ भन्ने प्रश्न गरेकोमा लेखिकाले जवाफमा भन्नुभएछ, ‘यो देखासिकी हो, प्रकृतिको अनुकरण हो ।’ तर, यसबारेको उहाँको परिष्कृत ठम्याइ अर्को पृष्ठमा पढ्न पाइन्छ, ‘आँखा रसाउन सक्ने, मुटु कँपाउन सक्ने, सर्वाङ्गमा रोमाञ्च र रक्तसञ्चार गराउन सक्ने, आश्चर्यजनक, अद्भूत, भयानक अनि सर्वसाधारणले आफ्नैजस्तो अनुभूति प्राप्त गर्ने, सबैलाई आल्हादित पार्ने सामथ्र्य भएको भावाभिव्यक्ति नै साहित्य हो ।’

सुशीला रानी राणा एकैसाथ परम्परागत वातावरणमा हुर्केकी गृहिणी अनि आधुनिक शिक्षा हासिल गरी सरकारी सेवामा रही उच्च पदमा पुगेकी आधुनिक महिला हुनुहुन्छ । अर्को शब्दमा, उहाँको यतिखेरको लेखाइमा आधुनिकताको छाप यत्रतत्र पाइन्छ । तथापि नारीवादी चिन्तन, आन्दोलनबारे उहाँका कतिपय धारणा अहिलेका (‘उत्तर–आधुनिककाल’का भन्न सकिने) महिलाका लागि पाच्य नहुन सक्छन् । जस्तो, पुरुषमाथि पनि महिलाको अत्याचार भइरहेछ भन्ने लेखिकाको धारणा । उहाँ आफैँबारे लेख्नुहुन्छ; ‘नारीवादी होइन भन्दिनँ, तर नारीलाई सर्वगुणसम्पन्न ठान्दिनँ ।’ संरक्षक त चाहिन्छ चाहिन्छ । ‘सबैभन्दा उल्का त के लाग्छ भने बाबुआमालाई हेला गर्नेलाई अंश चाहिने, दिनैपर्ने, लिन लाज नलाग्ने । परपुरुषसँग संसर्ग राख्ने स्त्रीहरू पनि लाजै नमानी हकदाबी गर्ने ।’

लेखिकाले इतिहासकार (खासगरी राणाकालीन इतिहासमा चासो राख्ने)हरूलाई दिएको यस खँदिलो सन्दर्भग्रन्थमा ‘दरबारिया भाषा नपरोस्’ भनेर सरलताका लागि सक्दो यत्न गर्नुभएको छ । पढ्न लागेपछि नसकीकन छोड्न मन नलाग्ने गुण छ यसमा । सलल बग्ने शैली पनि छ यसैमा । भन्नै परेन, यो कृति सामान्य लेखपढ मात्र जानेका सर्वसाधारण पाठकलाई लक्ष्य गरेरै लेखिएको हो । खालि छपाइको क्रममा भएका ठाउँ–ठाउँमा फेलापर्ने गल्तीलाई सच्याउँदै पढ्ने दायित्व भने पाठकमाथि थपिएको छ ।

सुशीला रानी राणाको पुस्तकमा पाइने अन्य एक–दुई घटना, प्रसङ्ग । पहिलो–

‘श्री ५ महेन्द्रकै पालामा हो, म वन्यजन्तु संरक्षण विभागमा हुँदा हो र जागिर खाएको एक–दुई वर्षपछिको कुरा हो… राजदरबारको चलनविपरीत मेरो मनले अनुचित भयो भन्ने ठान्यो, बोल्ने त कुरै थिएन । तैपनि त्यस्तो लाग्यो के गरूँ ? राजदरबारका पियन र सो सरहकाहरूले वर्षैपिच्छे लुगा, ओभरकोट, गम्बुट, ऊनी टोपी, छाता, जुत्ता, साइकल, वर्षादीजस्ता आवश्यक सामग्री कुनै बर्सेनि कुनै ५ वर्षमा एकपटक (साइकल) पाउँथे । बिचराहरूले पाएका सरकारले निगाहा भएकोमा मलाई केही थिएन । तर, अफिसमा बहिदार, मुखिया, खरदारहरूलाई देख्दा दिक्क लाग्थ्यो । उनीहरूको फाटेको स्वेटर, खुइलिएको कोट र टोपी र टालेको जुत्ता देखेर कठै भन्न मन लाग्थ्यो । हाकिमहरूले यिनलाई हुनेखाने ठानेरै तिनको दुःखकष्टबारे जाहेर नगरेका होलान् कि जस्तो लाग्थ्यो । मेरो सोचाइ गलत हो त ?’

लेखिकाको यो मानवीय संवेदना प्रशंसनीय छ ।

राजप्रासाद सेवामा छँदाको प्रसङ्ग यो भयो । त्यहाँ नरहेका बखत र जागिरमा रहँदै पनि बिहान–बेलुकी घरमा हुने–गर्ने व्यवहारमा उहाँको दयालु स्वभाव प्रकट भइरहेको बुझिन्छ । यस पक्षलाई उजिल्याउने दृष्टान्त पुस्तकमा यत्रतत्र भेटिन्छन् । जस्तो, लेखिकाले एक ठाउँमा उल्लेख गर्नुभएको छ– २००४ सालमा बिहे गरेर म घर आउँदा ३०–४० जना कामदार थिए, जसलाई पहिले नखुवाईकन घरका मालिकहरूले खाँदैनथे । त्यसै हुनाले राणाहरूले भुसुक्कै पारे, आफैँले मात्र खाने गर्थे भन्ने धारणा गलत हो, आफूभन्दा पहिले अरूलाई ख्वाउने गर्थे ।

यो त राणाखलकको चलन र मान्यताका कुरामा प¥यो । यसबाहेक सुशीला रानी राणाको निजी बोली–व्यवहारको झलक पाइने प्रसङ्ग–सन्दर्भ छन् । यसक्रममा घरमा राखिएका कामदारमध्ये केहीले कुनै बेला चोरीचकारी गर्दा तिनलाई दण्डित गरिहाल्न मन नलाग्ने उहाँको सोच रहने गर्दथ्यो । अभावको कारणले जानी–नजानी त्यसो गरेको हुनुपर्छ भन्ने सोच राखेर उहाँले आँखा चिम्लिने गर्नुभयो । उहाँको भनाइ छ– चोर्नु, ढाँट्नु नराम्रो काम हो भन्ने कुरा गरिब–धनी सबैलाई बाल्यकालदेखि नै थाहा हुन्छ, तैपनि त्यसो गर्छन् भने गर्नेहरूको केही विवशता, बाध्यता हुनुपर्छ ।

‘जीवनका तीतामीठा सम्झनाको सङ्गालो हो, यो अरू केही होइन’ । कृतिकारको यस वक्तव्यले पुस्तक लेख्नुको उद्देश्य छर्लङ्ग पारिहाल्छ । अन्य प्रकारका अडकलबाजीतिर लाग्नै परेन ।

तैपनि सन्दर्भलाई थोरै तन्काऔँ ।

आधुनिक नेपालको इतिहासमा जंगबहादुरबाट थालनी भई १०४ वर्षीय कालखण्डको चर्चा, विवेचना बेलाबखत भइरहन्छ । राणाकालीन नेपालको वर्णन, विवरण समय–समयमा पुस्तककारको रूपमा पनि आएका छन् । ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (पुरुषोत्तमशमशेर) र ‘राणा शासनको वृत्तान्त’ (प्रमोदशमशेर) यस सिलसिलमा उल्लेख गर्न सकिनेमध्येका दुईवटा पुस्तक हुन् । प्रमोदशमशेरको रायमा धेरैजसो इतिहासकारले एकतर्फीजस्तो भएर राणाकालीन नेपालबारे नराम्रा कुरा खोतल्ने र राम्रा कामको चर्चा नगर्ने गरेको पाइयो ।

सुशीला रानी राणाको संस्मरण–पुस्तकमा पनि यस्तै भावना ठाउँ–ठाउँमा भेटिन्छ… तर पुष्टिका लागि चाहिने आधार र प्रमाणसहित । एउटा दृष्टान्त हेरौँ; जुद्धसडक बनाउँदा ध्रुवशमशेरले एउटा घडेरी किनेर घर बनाएको कुरा महाराज जुद्धलाई थाहा भएछ । अनि छोरालाई यस बोलीबाट हप्काइएछ– ‘दुनिञादारलाई घर बनाउन दिएको ठाउँमा तैँले आफैँ घर बनाउने, राजाको छोरा भएर यस्तो बेकाइदा गर्ने ?’ यहाँनेर सुशीला रानी राणाको जायज कथन छ; शक्तिशाली महाराजले छोरानातिलाई घर बनाउन दिएको भए नयाँ सडक, जुद्धसडक सबै आफ्नै हुन्थ्यो, कसैको बोल्ने तागत थिएन । ‘तर क्रूर र निरङ्कुश भनिएका राणाहरूको विवेकको मूल्याङ्कन गर्ने को ?’ अरूमा दोष मात्र देख्नेहरू बुद्धिविवेक कहाँ छ कुन्नि ? महाराज जुद्धकी नातिनी बुहारीले यो पुस्तकमा समावेश गरेको यस सूचनालाई सप्रसङ्ग बुझिनु उचित हुन्छ ।

श्री ३ हरूको तथ्य वृत्तान्तका लेखक पुरुषोत्तमशमशेरले २०५० सालमा सुरुचि साप्ताहिकका सम्पादक शिव अधिकारीलाई अन्तर्वार्ता दिनुभएको रहेछ जसको उल्लेख अधिकारीबाट त्यस पत्रिकाको माघ १७ गतेको अङ्कमा भएको छ । त्यसमा जंगबहादुरले कोतपर्व मात्र गरेनन् अनेक कोतले आक्रान्त मुलुकलाई अतुल्य दान र देन दिए आदि, इत्यादि कुराको चर्चा छ । पहिलो लिखित कानुन अर्थात् मुलुकी ऐन यस्तै एउटा देनमा पर्दछ । पछिल्लो कालखण्डलाई औँल्याएर होला, पुरुषोत्तमशमशेरको विचारमा राणाशाहीलाई डुबाउनमा चार माहिलाको ‘ठूलो हात’ रह्यो; १) बबरशमशेर २) बहादुरशमशेर ३) शंकरशमशेर ४) हेमराज पण्डित (बडा गुर्जू) !

अनुभवी र आदरणीय पत्रकार मदनमणि दीक्षित त चन्द्रशमशेरलाई राणाभन्दा पनि विकासवादी र सुधारवादी शासक मात्र मानिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । ९० वर्षमाथिको जीवनयापन गरिरहेका बखत केही महिनाअघि भेटघाटको लागि जाँदा उहाँले आफ्नो अध्ययन र अनुभवको आधारमा यो निष्कर्ष निस्केको कुरा सुनाउनुभएको थियो ।

राणाकालीन नेपालको इतिहास केलाउन खोज्ने, तर शासन प्रणालीबारेका भित्री कुरा थाहा नपाएका लेखकको कुरै भएन । तर, सुधार र परिवर्तनका राम्रा प्रसङ्गहरू छुटाउने प्रवृत्ति भने राणा परिवारकै लेखकबाट पनि यदाकदा भएको रहेछ । यसको उदाहरण श्री ३ जुद्ध शासनमा रहँदा गएको ९० सालको भुइँचालोबारे ब्रह्मशमशेर राणाले लेखेको पुस्तक पनि हो । भूकम्प हुँदा महाराज जुद्धको सवारी काठमाडौंबाहिर थियो, तसर्थ कार्यबाहक प्रधानमन्त्री रुद्रशमशेरले परिआएको सबैथोक सम्हाल्नुपरेको थियो । तर, ब्रह्मशमशेरको पुस्तकमा रुद्रशमशेरको नामसम्म पनि उल्लेख नगरेको पाइयो । यस्तो देखेपछि जनरल रुद्रका नाति पुरुषोत्तमशमशेर आक्रोशित हुनु स्वाभाविकै हो; ‘के भुइँचालोको उनले चालै पाएनन् ? कि उनी घाँस चरेर बसे ?’

उद्वरण आफैँमा स्पष्ट छ, थप व्याख्याको जरुरत परोइन ।