गर्वसाथ मनाऔ‘ पृथ्वीजयन्ती

गर्वसाथ मनाऔ‘ पृथ्वीजयन्ती


pathakmanchपाठक मञ्च
विश्वइतिहासलाई नियालेर हेर्दा यतिबेलाको विश्वलाई आफ्नै कब्जामा परिराख्ने इच्छा बोकेको वर्तमानको सर्वश्रेष्ठ बलवान् अमेरिका पनि कुनै दिन बेलायतको अधीनमा रहेको थियो । नेपालको इतिहास हेर्ने हो भने लिच्छविकालपछि बाइसे र चौबीसे स–साना राज्यहरूमा विभाजित हुँदा नेपाल कमजोर भएको सत्य र तथ्य इतिहास पढ्न पाइन्छ । विगतमा अमेरिकालाई समेत आफ्नो अधीनमा राख्न सफल तत्कालीन साम्राज्यवाद बेलायतले हाम्रो दक्षिणतर्फको छिमेकी मुलुक भारतलाई र उत्तरतर्फको चीनलाई समेत आफ्नो अधीनमा राख्न सफल हुँदा नेपाललाई किन सकेन भन्नेतर्फ विचार गरियो भने वर्तमान नेपालको समस्या सुल्झाएर फेरि पनि यो मुलुकको अस्तित्व जोगाउन सकिन्छ ।
हाम्रा छिमेकी भारत र चीनलाई समेत आफ्नो अधीनमा राखिसकेको बेलायतले नेपाललाई छोड्न चाहेको थिएन । त्यतिबेलाको सानो राज्य गोरखामा पनि आक्रमण नगरेको होइन, तर पृथ्वीनारायण शाहको चतु-याइँ र बहादुरीको अगाडि साम्राज्य हा-यो, गोरखा राज्य बच्यो । तिनै गोरखाका राजा पृथ्वीनारायण शाहले एउटै देश साना–साना गणराज्यमा विभाजित हुँदा विदेशीले हेप्न सक्ने हुन्छ र नेपालको अस्तित्व नै समाप्त हुनसक्छ भन्ने अड्कल गरेर तत्कालीन अवस्थामा एकीकरण गरेर नजोगाएको भए सायद यतिबेला हामी नेपाली भइरहेका हुने थिएनौँ कि भनेर सोचिएन भने राष्ट्रनिर्मातामाथि अन्याय गरेको हुनेछ । गोरखाली सेनाको बहादुरीबाट ब्रिटिस साम्राज्यवाद डराएको कुरा उसको सैनिक जनरल लर्ड हेस्टिङको भनाइबाट सजिलै बुझ्न सकिन्छ । लर्ड हेस्टिङले त्यसै भनेका थिएनन् कि संसारको कुनै पनि फौजसँग मलाई डर लाग्दैन तर एउटै गोरखाली पल्टन भनेपछि मेरो मुटु लुगलुग काप्छ ।
पृथ्वीनारायण शाहको पालादेखि राजा ज्ञानेन्द्रको पालासम्म पुग्दा देश र जनताको कुभलो हुने काम राजसंस्थाले के–के ग-यो ? अन्तिम राजा ज्ञानेन्द्रले राष्ट्रहितविपरीत काम के–के गरे ? सायद उनले यतिबेलाझैं नेपालको अस्तित्व नै धरापमा पार्ने गरी आफ्नो दलगत र व्यक्तिवादी स्वार्थ पूरा गर्न दिएनन् । खराब भए त राजा ज्ञानेन्द्र तिनै दलगत स्वार्थमा लिप्त हुने, व्यक्तिगत स्वार्थमा लिप्त हुने र आफ्नो व्यक्तिगत स्वार्थका लागि राष्ट्रियता बेच्न नहिच्किचाउनेहरूका लागि खराब भए । नत्रभने राजा ज्ञानेन्द्रले यो–यो जनविरोधी र राष्ट्रघातीका काम गरे भनी किन कसैले यकिनसाथ भन्न सक्दैन ? यहाँ चिन्ता तत्कालीन राजा ज्ञानेन्द्रको गर्न खोजिएको होइन, बरु उनै ज्ञानेन्द्रका पुर्खा पृथ्वीनारायण शाहको सम्झनामा यी पङ्क्ति कोर्नुपरेको हो, जो नेपालका राष्ट्रनिर्माता हुन् । के तत्कालीन राजा ज्ञानेन्द्रप्रति पूर्वाग्रह राख्नेहरूको जालमा परेर अब पनि राष्ट्रनिर्माताको श्रद्धा र सम्मानमा मनाइँदै आएको पृथ्वीजयन्ती मनाउन लाज मान्ने ? सच्चा देशभक्त नेपाली हौँ भने पृथ्वीजयन्ती मान्न लाज होइन गर्व मानौ‘ ।
– लालकृष्ण धमला