अन्तर्घाती को ?– भीम ढुङ्गाना

अन्तर्घाती को ?– भीम ढुङ्गाना


bicharनिर्वाचन सम्पन्न भएको लगभग दुई महिना बित्न लाग्यो । संविधानसभा गठनको प्रक्रिया पनि पूरा भइसकेको छ भने अब नयाँ सरकार गठनको तयारी सुरु हुँदै छ । तर, चुनावमा भएका घात–अन्तर्घातका आरोप–प्रत्यारोपको चर्चा भने सेलाउनुको साटो उत्कर्षतिर लागेको अनुभूति हुँदै छ । केन्द्रभन्दा जिल्ला–जिल्लामा पार्टी कार्यकर्ताबीच आरोप–प्रत्यारोपको तुष बल्झेको देखिँदै छ । कतिपय अन्तर्घातीहरू उल्टै तुजुक लगाएर केन्द्रका नेताहरूलाई प्रभावमा पार्न खोज्दै गरेका भेटिन थालेका छन् भने कतिपय इमानदार र पार्टीप्रति वफादार नेता–कार्यकर्तामाथि अन्तर्घात गरेको झुटो आरोप लगाएर पूर्वाग्रह साध्न खोजिँदै छ । पङ्क्तिकारलाई पनि जिल्लाका खुराफाती एवम् अन्तर्घातीहरूद्वारा यस्तै जालझेलको सिकार बनाउन लागेको अनुभूति भएकाले केही शब्द कोर्न बाध्य भएको छु ।
धादिङ जिल्ला पहिलेदेखि नै कम्युनिस्टको ज्यादा प्रभाव भएकाले नेपाली काङ्ग्रेसका लागि त्यति अनुकूल बनिनसकेको अवस्था छ । तथापि, यसपटकको चुनावमा २ नम्बर क्षेत्रमा टिकट वितरणमा पार्टीले विचार पु-याएको भए जित्ने करिब–करिब निश्चित थियो । १ मा सभापतिकै कमजोरीका कारण हार व्यहोर्नुपरेको र ३ नम्बर क्षेत्रमा भने जित्ने सम्भावना पार्टी मूल्याङ्कनामा पनि कमजोर नै थियो ।
यात्रु चढ्ने बस कन्डिसनमा छ भने पनि यदि ड्राइभर कच्चा या जँड्याहा छ भने दुर्घटनाको सम्भावना एकदम रहन्छ । धादिङ काङ्ग्रेसको ड्राइभरको कमजोरीका कारण धादिङको १ र २ नम्बर क्षेत्र जित्न सकिने अवस्था रहँदारहँदै पनि काङ्ग्रेसले गुमाउनुप-यो । यो व्यक्तिगत रूपले मलाई र सिङ्गो पार्टीकै लागि पनि अत्यन्त दु:खको कुरा हो । तर, यो हार जिल्लाका अन्य नेता–कार्यकर्ताका कारण नभई स्वयम् जिल्ला पार्टी सभापति रामनाथ अधिकारीका कारण हुन पुग्यो । थप दु:ख मान्नुपर्ने कारण यो पनि छ ।
पार्टीका तल्ला निकाय, गाउँ, क्षेत्र तथा जिल्लाका जिम्मेवार नेता–कार्यकर्ता, भ्रातृ सङ्गठनका प्रमुखहरूका साथै काङ्ग्रेसका शुभचिन्तकहरूले ‘रामनाथ अधिकारीले कुनै पनि हालतमा चुनाव जित्न सक्ने अवस्था छैन, उनलाई टिकट दिनु काङ्ग्रेसले आफ्नै खुट्टामा बञ्चरो हानेसरह हुनेछ, उनीबाहेक जसलाई टिकट दिए पनि जित्न सकिने अवस्था भएकोले टिकट वितरणमा ध्यान पु-याइयोस्/ भनी पार्टीको उपल्लो निकाय तथा शीर्ष नेतृत्व तहमा लिखित रूपमै बुझाएको थियो । तर, केन्द्रले यो सुनेन र उनलाई नै टिकट दियो । नदिनुपर्ने थियो– दिइयो । जे भयो–भयो, अब पार्टीलाई जसरी पनि जित दिलाउनेतिर लाग्नुपर्छ भनेर हामीहरू चुनावी अभियानमा होमियौँ । म पनि आफ्नो बुता र बर्कतले भ्याएसम्म खटँे । आफ्नो क्षेत्रका उम्मेदवार केन्द्रसम्म पहुँच भएका जिल्ला सभापति नै भए पनि आफ्नै खर्चमा प्रचार अभियानमा हिँडेँ, आफूसँग हिँड्ने साथीभाइको खर्च पनि आफैँले जोहो गरँे । उम्मेदवारले दिन्छु खर्च चाहिन्छ कि भनेर पनि सोधेनन् र हामीले पनि मागेनौँ । म आफू महासमिति सदस्यसमेत भएको नाताले पनि अहोरात्र खटिएर जनतासँग मत माग्नु अपरिहार्य नै थियो । आफ्नो कर्तव्य मैले हरदम सम्झिरहेको थिएँ । जिल्लाभरका पचास गाविसमध्ये आफ्नोबाट सबभन्दा बढी मत आउनेमा म ढुक्क थिएँ, रामनाथजीका लागि यसपटक पनि जिल्लाभरका गाविसमध्ये मेरो गाविस मुरलीभञ्ज्याङबाट सर्वाधिक मत खस्यो । यहाँसम्म त ठिकै थियो । तर, चुनावअघि बानेश्वरको होटल इन्द्रायणीमा पार्टीका शुभचिन्तक, इञ्जिनियर, डाक्टर तथा तमाम बुद्धिजीवीसमक्ष ‘मङ्सिर ४ गते मतपेटिका गणनास्थलमा बुझाएलगत्तै पार्टी सभापतिको जिम्मेवारीबाट राजीनामा दिन्छु, यदि मैले राजीनामा दिइन भने सार्वजनिक बेइज्जत गर्दै मुखमा थुके हुन्छ/ भन्ने वाचा गर्दै टिकट हत्याएका अधिकारीज्यूले पार्टीको हारका निम्ति आत्मालोचना गर्दै राजीनामा गर्नुको साटो उल्टै जिल्लाका नेता–कार्यकर्तालाई अन्तर्घाती आरोप लगाउँदै कारबाहीको नाटक मञ्चन पो गर्न थालेका छन् । आफ्नो कमजोरी ढाकछोप गर्न यसरी कारबाहीको प्रोपोगण्डा मच्चाउन खोजेको नबुझ्ने कोही छैन, तर सभापतिले यस्तो निकृष्ट कदम चाल्न रत्तिभर लज्जाबोध नगर्नु विडम्बनाको कुरा हो ।
पङ्क्तिकारलाई क्षेत्रीय समितिद्वारा कारबाही सिफारिस गरिएको भनेर पत्रपत्रिकामा आधा अधुरो समाचार पढेको हुँ । अहिलेसम्म यससम्बन्धी कुनै आधिकारिक चिठी आएको छैन । स्पष्टीकरण केही सोधिएको पनि छैन । जहाँसम्म मैले अन्तर्घात गरेको आरोपको सवाल छ, हाम्रो गाउँघरतिर बोकाको मुखमा कुभिण्डो नअटेको भन्ने एउटा उखान छ । हाम्रो जिल्ला सभापतिको हकमा यो कुरा ठ्याक्कै मिल्न आउँछ । रामनाथ अधिकारी ०५५ सालमा पार्टी जिल्ला सभापति भए । त्यसयता उनले पार्टी सङ्गठनका लागि के गरे र जनतालाई के–कस्ता आश्वासन दिएर ढाँटे भन्ने कुरा मैले होइन सम्बन्धित जनता नै बोल्छन् । उनको डिक्सनरीमा ‘नो/ भन्ने शब्द नै नभएकाले जसले जे मागे पनि उनी ‘हुन्छ, गर्दिन्छु, भइहाल्छ/ भनिदिन्छन् । कामको प्रकृति हेरेर पूरा गर्न सक्ने या नसक्ने छ्यानविचार गरी यथार्थको धरातलमा उभिएर जनतासमक्ष प्रस्ट कुरा राखेर सम्झाउन सक्ने क्षमता उनमा रत्तिभर नभएकाले सिङ्गो धादिङ काङ्ग्रेसले दु:ख पाइरहेको छ । इमानदार र पार्टीका लागि कटिबद्ध कार्यकर्तालाई उनको सोच र शैलीले धुरुक्कै पारेको छ । जनताको काम गरिदिन्छु भनेर सदरमुकाम बोलाउने अनि मोबाइलको स्विच अफ गरेर तास फिटेर बसिदिने गर्दा पार्टीको छविमा निकै आँच पुगेको छ, पार्टीको सङ्गठन कमजोर बन्न पुगेको छ । तैपनि चुनावमा थुप्रै साथीहरू दायाँबायाँ नभनी अहोरात्र खटिए । म पनि त्यसमध्येकै एक हुँ । हिजो अदालतमा बैदार ओहदामा रहेकोले होला, पार्टीको काममा यत्तिका वर्ष अवसर पाउँदा पनि आफ्नो जागिरभन्दा माथि उठेर व्यवहार गर्ने सोच वा स्तर प्रदर्शन गर्न सक्दै सकेनन् उनले ।
रामनाथजीकै विगतदेखिको ढँटुवा र टालटुले व्यवहारले गर्दा चुनाव त उनले हारे नै, तर १ नम्बर क्षेत्रमा जित्ने तय भइसकेको साथीलाई समेत अन्तर्घात गर्न जिल्लाका केही साथीलाई उकासेर उनैले हराइदिए । पहिले १ नम्बर क्षेत्रमा जनजाति उम्मेदवार चाहिन्छ भन्दै ब्राह्मण सम्प्रदायका एक साथीलाई टिकट नदिलाउन उनी ज्यान छाडेर लागे, अनि जब ती साथीले टिकट नपाउने भए, त्यसपछि छेपारोले रङ बदलेझैँ बदलेर ‘तपाईंले त पाउनुपथ्र्यो तर पाउनुभएन, अब टिकट पाएका तिलकलाई हराउने उद्यम गर, नत्र उसले तिम्रो राजनीति सर्लक्कै खाइदिन्छ/ भन्दै अन्तर्घात गर्न उक्साए । यो कुरामा सत्यता रहेनछ भने म जेसुकै कारबाही भोग्न पनि तत्पर छु, निश्पक्ष छानबिन गरेर यो बुझ्ने प्रयत्न गरे सबै छर्लङ्ग भइहाल्छ ।
मङ्सिर ५ गतेदेखि मतगणना सुरु भयो र छिट्टै नै नतिजा पनि आयो । रामनाथ अधिकारी हारे । हारेलगत्तै गाविस महासङ्घको कमलादीस्थित कार्यालयमा भेटेर गरिएको कुराकानीमा उनले ‘भीमजी, तपाईंले धेरै सघाउनुभएको हो, धेरै दु:ख गर्नुभयो, तपाईंप्रति गुनासो छैन/ भन्ने अभिव्यक्ति पनि दिएका थिए । मैले पार्टीका निम्ति गर्नु आफ्नै ठाउँमा छ, तर उनका लागि के–कसरी खटिएँ भन्ने आफैँलाई र भगवान्लाई थाहा छ । मेरो योगदान बुझेरै धन्यवाद भनेका होलान् भन्ने ठानँे र पार्टीको पराजयप्रति संयुक्त रूपमा दु:खमनाउ गरेर छुट्टिएका थियौँ । तर, त्यसरी बोलेको व्यक्ति यतिबेला आएर पङ्क्तिकारलगायत पार्टीका इमानदार कार्यकर्ता साथीहरूलाई जथाभावी कारबाही गराउँदै हिँड्न थालेको देख्दा उनको मनस्थितिमाथि नै प्रश्नचिह्न खडा भएको अनुभूति मैले गरिरहेछु ।
उनले ममाथि आरोप लगाउनुको कारण पार्टीको जिल्ला सभापति छोड्नुपर्ला भनेर नै हो । जसरी प्रचण्डले पहिले शान्तिपूर्ण चुनाव भन्दै स्वागत वक्तव्य जारी गरेर पछि पद धरापमा पर्ने भएपछि धाँधलीको कुरा गरेर विषयवस्तुलाई डाइभर्ट गरे, ठीक यही धूत्र्याइँ रामनाथ अधिकारीले पनि अपनाएका छन्, हामीमाथि व्यर्थको आरोप थोपरेर । रामनाथजीको व्यवहारका आधारमा त पाँच हजार भोट पनि नआउने अवस्था थियो, तर हामीजस्ता कार्यकर्ता साथीहरू मिलेर खटेकाले १८ हजार भोट आएको छ । रामनाथजस्ता व्यक्ति सभापति भएको अवस्थामा पनि यति मत आउनु धादिङ काङ्ग्रेसको ठूलो उपलब्धि हो भनेर बुझेका छन् सबैले ।
अब रामनाथले धादिङको राजनीतिमा ‘र/ सम्म पनि उच्चारण गर्न नमिल्ने र नसुहाउने परिस्थति पैदा भएको छ । मलाई अन्तर्घातको आरोप लगाउने रामनाथ अधिकारीलाई च्यालेञ्ज दिन चाहन्छु कि मेरो कल डिटेल्स छानबिन गरियोस्, अन्य गतिविधिमाथि छानबिन र बुझबुझारथ गरियोस्, अन्तर्घात गरेको आभास मात्र आउने कुनै पनि हर्कत कसैसँग गरेको एउटा मात्र प्रमाण दिन सकून्, म च्यालेञ्ज दिन्छु । होइन भने पूर्वाग्रही बनेर आरोप लगाउने यस्ता व्यक्तिले नै कारबाही भोग्न तयार हुनुपर्छ ।
काङ्ग्रेसका सबै साथीहरू र केन्द्रले पनि के बुझ्नु जरुरी छ भने रामनाथ अधिकारी नेतृत्वमा रहेसम्म धादिङ जिल्लाको काङ्ग्रेसको अवस्था नुन छरेको चौरजस्तै निर्जन बनिरहनेछ । यसपटक मात्र नभई उनी नेतृत्वमा रहेसम्म कहिल्यै कुनै सिट पनि जित्न सक्दैन भनी म दाबीका साथ भन्न सक्छु । यसमा फरक परेमा कारबाहीको डण्डा वर्षाइयोस्, भोग्न तयार छौँ । नैतिकताको आधारमा राजीनामा दिनुपर्ने व्यक्तिले उल्टै पार्टीप्रति वफादार र इमानदार साथीभाइलाई अन्तर्घातको आरोप लगाउनुजस्तो निर्घिणी र अपराध अरू के हुन सक्छ ?
ममाथि क्षेत्रीय समितिले गरेको भनिएको कारबाहीको सिफारिस कति नम्बर विधानअनुसार गरिएको हो प्रस्ट्याइनुपर्छ । के कुरामा कारबाही गरिएको हो जानकारी हुनुप-यो । यत्तिकै कारबाहीको प्रचार गर्दा मेरो नैसर्गिक अधिकारको हनन भएको छ, मानहानि गरिएको छ । अनुशासन समिति गठन हुँदाहुँदै त्यो समितिलाई जानकारी नै नभई कारबाही प्रक्रिया कुन चोरबाटोबाट गुज्रियो ? म पनि क्षेत्रीय समितिको सदस्य हुँ, कारबाहीको निर्णय कुन बैठकले ग-यो, मलाई किन बोलाइएन, किन केही सोधिएन ? चरित्रहत्या किन गरियो, मेरो प्रतिप्रश्न छ ।
घाउ कोट्याउँदै गएपछि त्यो झन्–झन् बल्झिन्छ भनेझँै चुनावमा कार्यकर्ता साथीहरूको दोष देख्ने सभापतिले आफ्ना गल्ती–कमजोरीहरूबारे पनि नियाल्नुपर्छ । पार्टीमा आर्थिक हिनामिना भएको आवाज उठ्न थालेको धेरै भयो, तर सभापतिले चित्तबुझ्दो जवाफ आजसम्म दिन सकेका छैनन् । सानातिना रकमको त कुरा गरिसाध्यै छैन । बीपी स्मृति भवन निर्माणको नाममा लगिएको लाखौँ रकमसमेतको हिसाबकिताब छैन । रामनाथ अधिकारीले आफू पार्टीसभापति भएदेखि अहिलेसम्म पनि वर्ष–वर्षमा गराउनुपर्ने अडिट गराएका छैनन् । चन्दाको रसिद बनाइएको छैन । धेरै व्यक्तिले काङ्ग्रेसलाई सहयोग गरेका छन्, तर त्यो सबै रकम उनकै गोजीमा जान्छ, कुनै टिपोट या हिसाब नै छैन, पार्टीमा रेकर्ड नै छैन । ५६ सालको चुनावको अहिलेसम्म आर्थिक समीक्षा गरिएको छैन भने ६४ र ७० को के कुरा ? पूर्णकुमार सेर्मा स्थानीय विकासमन्त्री हुँदा लाखौँ रुपैयाँ बीपी स्मृति भवन बनाउन दिइएको थियो । आज पन्ध्रौँ वर्ष बित्दा पनि न केही काम भएको छ न त्यो रकम नै कतै बाँकी देखिन्छ । केही दिनअघि मात्र पार्टीको खाता हेर्दा जम्मा ६४ हजार रकम मौज्दात देखियो । काम नै नगरेपछि रकम त खातामा हुनुपर्ने हो नि, तर छैन । अब यसको खोजतलास गर्नुपर्नेछ । सरकारका सरोकारवाला निकायहरूले पनि यसको खोजतलास गर्नुपर्छ । धादिङ जिविसमार्फत गएको रकम हो त्यो, तर किन काम भए–नभएको खोजबिन गरिरहेको छैन जिविसले ? प्रश्न जिविसतिर पनि तेर्सिएको छ ।
काङ्ग्रेस महासमिति सदस्य हुनुको नाताले मैले पनि जिम्मेवारी देखाउनैपर्छ र यसरी लाखौँ रकम हिनामिना भएको विषयबारे खोजबिन गर्नु मैले आफ्नो दायित्व र कर्तव्य ठानेको छु । मैले यसरी आर्थिक अनियमितताको आवाज हरेक फोरममा उठाउन थालेका कारण सभापतिले मलाई पूर्वाग्रह राखेर कारबाहीको डङ्का पिटाएका हुन् भन्नेमा पनि मलाई अब कुनै शङ्का रहेन ।
चुनाव हारेपछि मात्र होइन त्यसअघि पनि निकै समय गुज्रिसक्यो सभापतिले पार्टीको मिटिङ बसाएका छैनन् । यत्रो ऐतिहासिक चुनावका बेला पनि जिल्ला समितिको बैठक गराएर साथीभाइको रायसुझाव लिने आवश्यकता उनले ठानेनन् । योभन्दा बढी तानाशाही र निरङ्कुशपन, अप्रजातान्त्रिक रवैया अरू के हुनसक्छ ? अब छिट्टै स्थानीय निकायको निर्वाचन हुनेवाला छ । के यही लथालिङ्ग र पराजित मानसिकता लिएर काङ्ग्रेस स्थानीय निर्वाचनमा होमिने ? यसको जवाफ धादिङ काङ्ग्रेसको जिल्ला नेतृत्वले कसरी दिन्छ ? यस्ता थुप्रै प्रश्न छन्, जो धादिङ काङ्ग्रेसको यसपटकको पराजयले सतहमा ल्याइदिएको छ । सचेत काङ्ग्रेसजन अब चुप बस्नुहुँदैन । पार्टीका विकारको शुद्धीकरणमा लाग्न ढिलो भइसकेको छ ।
(लेखक काङ्ग्रेस महासमिति सदस्य हुन्)