खेलकुदमन्त्री सुनारले भने– एसियाडमा यस्तो दुर्घटना कसरी भयो ?

खेलकुदमन्त्री सुनारले भने– एसियाडमा यस्तो दुर्घटना कसरी भयो ?


–श्रीविक्रम भण्डारी
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले एसियाडमा दुर्घटना कसरी भयो ? प्रश्न गरेका छन् । भदौ १८ गते १८औँ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता प्याराग्लाइडिङका खेलाडीको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सुनारले यस्तो प्रश्न गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको उक्त बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री सुनारले मन्त्रालयले एसियाडमा खेलाडीको सहभागितामा कुनै पनि किसिमको विवाद नआओस् भनेर निश्चित खेलाडी र पदाधिकारी मात्रै जाने निर्णय गरेको जानकारी गराउँदै कसरी मन्त्रालयको निर्णयविपरीत अन्य खेलाडी एसियाडमा गए भनी प्रश्न गरेका गरेका थिए ।

खेलकुदमन्त्री सुनारले एसियाडमा राखेपको सिफारिस र खेलकुद मन्त्रालयको स्वीकृतिबेगर कसरी ती खेलाडीले १८औँ एसियाडमा सहभागिता जनाए, त्यसबारे छानबिन हुने बताए । विगतका एसियाडमा खेलाडीभन्दा पदाधिकारीको टोली ठूलो हुने तीतो सत्यलाई दृष्टिगत गर्दै हालै सम्पन्न १८औँ एसियाडमा पुुनः त्यस्तो घटना दोहोरिन नदिन आफूले व्यापक कटौती गरे पनि कुन दुलोबाट एसियाडमा ती खेलाडी छिरे भन्दै त्यसले मन्त्रालयको निर्णयलाई समेत चुनौती दिएको बताए ।

कुन संस्थाबाट ती खेलाडीले एसियाडमा सहभागिता जनाए त्यसबारे आफूलाई जानकारी भए पनि खेलाडी गएका हुन्–होइनन् त्यसबारे सम्बन्धित निकायले जानकारी गराउनुपर्ने उनको भनाइ थियो । मन्त्री सुनारले यस्तो अभिव्यक्ति राख्दा सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ उँधोमुन्टो लगाएर बसेका थिए । प्राप्त जानकारीअनुसार ओलम्पिक कमिटीले भित्रीरूपमा साँठगाँठ गर्दै केही खेलाडी एसियाडमा सहभागी गराएको बुझिन आएको छ । मन्त्री सुनारले ओलम्पिक कमिटीको नाम नलिए पनि त्यसतर्फ इसारा गर्दै गैरकानुनी कार्य गर्नेलाई कानुन कारबाही गरिने खुलासा गरेका थिए ।

त्यस्तै सम्भावित पदक विजेता खेलको सूचीमा रहेका खेलहरूले अपेक्षाअनुरूप प्रदर्शन नगरेको भन्दै त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको सुनारले बताए । यो गम्भीर विषय हो भन्दै सुनारले अब कुनै बहाना नचल्ने र ती खेलको प्रदर्शनबारे व्यापक समीक्षा गरेर सोहीअनुरूप व्यवहार गरिने उल्लेख गरे । यसैगरी विवादित राष्ट्रिय संघहरूका कारण एसियाडमा राम्रो नतिजा नआएको बताउँदै त्यस्ता संघहरूलाई आवश्यक कारबाहीको दायरामा ल्याएर अगाडि बढ्ने उनको भनाइ छ ।