‘स्पोर्टस् भ्वाइस’ खेलकुद पत्रिकाको विमोचन

‘स्पोर्टस् भ्वाइस’ खेलकुद पत्रिकाको विमोचन


खेलकुदमा भएको विकृति–विसंगतिलाई उजागर गर्दै खेलाडीको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्देश्यले ‘स्पोर्टस् भ्वाइस’ खेलकुद मासिक पत्रिका जनसमक्ष आएको छ । पत्रिका नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघको संयुक्त प्रयासमा प्रकाशनमा आएको हो ।

पत्रिकाको प्रमुख अतिथि संघीय संसदका सांसद दुर्गा पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली, पूर्वसांसद एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, ओलम्पियन तथा पहिलो अन्तर्राष्ट्रिय पदाकधारी जितबहादुर केसीलगायतले पत्रिकाको विमोचन गरेका थिए । पत्रिकामा खेलाडी तथा खेलकर्मीहरूको अन्तर्वार्ताका साथै खेल, पर्यटन, आर्थिक तथा स्वास्थ्यसँग सम्वन्धित लेख रचनाहरूको समायोजन गरिएको छ ।

सो विमोचन समारोहमा उपस्थित अतिथिहरूले पत्रिकाको सफलताको कामना गर्दै खेलकुदमा देखिएको विकृति–विसंगतिलाई उजागर गर्दै खेलकुद क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन सक्षम हुनेमा विश्वास प्रकट गरेका थिए । साथै खेलकुद क्षेत्रलाई राज्यको नजरमा पार्दै खेलकुदमा आमूल परिवर्तन गर्न पत्रिका सक्षम हुने बताएका थिए । त्यस्तै प्रकाशकहरूले पत्रिकामार्फत खेलकुदमा आमूल परिवर्तन ल्याउने उद्देश्य रहेको बताए ।