मीनकृष्णमाथि गोली प्रहार

मीनकृष्णमाथि गोली प्रहार


sportखेलकुद र राजनीतिक वृत्तमा सनसनी
गत शनिबार बिहानै राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, नेपाली काङ्गे्रस महासमितिका सदस्य तथा तरुण दलका केन्द्रीय सदस्य मीनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि खेलकुद र राजनीतिक वृत्तमा सनसनी फैलिएको छ । धापाखेलस्थित आफ्नै घरअगाडिको पीपलको बोटमा जल चढाएर फर्किने क्रममा महर्जनमाथि गोली प्रहार भएको थियो । महर्जनमाथि तीनवटा पल्सरमा सवार ६ जनाको समूहले खुँडा, तरबार र पेस्तोलले आक्रमण गरेको थियो । एक्कासि गरिएको आक्रमणको प्रतिवाद गर्दा महर्जनको हातमा सामान्य चोट लागे पनि अर्को व्यक्तिले गोली चलाउँदा महर्जन र उनका साथी मिलन सिलवालको तिघ्रामा गोली लागेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ललितपुरकै सञ्जय बानियाँ नामक व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको छ । प्राप्त जानकारीअनुसार केही महिना पहिले बानियाँले नै महर्जनको सवारी साधनमाथि आक्रमण गरी सिसा फुटाइदिएका थिए । अहिले महर्जन र सिलवालको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार दुवै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।
हालै सम्पन्न संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट उदयशमशेर राणालाई जिताउन अहम् भूमिका निर्वाह गरेका महर्जनमाथि राजनीतिक प्रतिशोध साँध्न पनि आक्रमण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । किन र के कारणले महर्जनमाथि आक्रमण भयो त्यसको प्रस्ट जानकारी नआए पनि काङ्ग्रेससम्बद्ध जोसिला युवा महर्जनलाई तर्साउन आक्रमणकारीले आक्रमण गरेको प्रहरीको अनुमान छ । यो घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरे पनि वास्तविक सत्यतथ्य सार्वजनिक भइसकेको छैन । रामेछापका रमेश बाहुनको निर्देशनमा बानियाँले महर्जनमाथि गोली प्रहार गरेको हुन सक्ने अनुमान पनि प्रहरीले लगाएको छ । बाहुन सेनाका पूर्वभगौडा सिपाही हुन् । वर्तमान अवस्थामा बाहुनले आफूलाई एमालेका कार्यकर्ताको रूपमा प्रस्तुत गर्दै आइरहे पनि प्रहरीले उनलाई फिरौती, गुण्डागर्दी, अपहरणजस्ता अपराधमा संलग्न रहेको अपराधमा खोजी गर्दै आएको छ ।
मीनकृष्णको व्यक्तित्व ः
दश वर्षको उमेरमा खेलकुदलाई आत्मसात् गरेका मीनकृष्णको खेलजीवन जति तारिफयोग्य छ, त्यति नै तारिफयोग्य राजनीतिक जीवन पनि छ । छोटो समयमा खेलकुदमा पाएको सफलताले उनको व्यक्तित्वलाई चर्चाको शिखरमा मात्रै सीमित नराखी राजनीतिक वृत्तमा समेत स्थापित गर्न सफल भयो । रंगशालादेखि सडकसम्मको उत्कृष्ट प्रदर्शनले मीनकृष्ण अहिले नेपाली काङ्ग्रेसका चर्चित युवा नेता बन्न पुगेका छन् । वर्तमान अवस्थामा खेलकुद र राजनीतिलाई सफलताका साथ डो-याइरहेका मीनकृष्णले यसैमा आफ्नो भविष्य पनि देखेका छन् । खेलकुद र राजनीतिलाई एक सिक्काको दुई पाटोको रूपमा विश्लेषण गर्ने उनले आगामी दिनमा पनि यी दुवै पाटालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । खेलकुदकै कारणले आफ्नो व्यक्तित्व निर्माण भएको र आमजनताले चिनेको बताउने उनले अहिले सामाजिक क्षेत्रमा गरेको योगदानको पनि खुलेरै चर्चा भएको छ । बाटाघाटो र मठमन्दिर निर्माणदेखि दीनदुःखीको सेवामा उनले गरेको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगले उनको व्यक्तित्वमा अझ चारचाँद लागेको छ । यिनै नेपाली काङ्ग्रेसका चर्चित युवा नेता, खेलकुदका चर्चित खेलाडी, प्रशिक्षक र पदाधिकारीको वास्तविक जीवनबारे खोतल्ने प्रयास गरिएको छ ।
मार्सल आर्टस्का महानायक ब्रुश्लीको खेल देखेर मार्सल आर्टस्तर्फ आकर्षित भएका मीनकृष्ण महर्जनले दश वर्षको उमेरदेखि कराते खेल्न थालेका थिए । घरनजिकैको चापागाउँ डोजोबाट कराते खेल्न थालेका उनले सुरुमा करातेलाई सौखमा रूपमा लिए पनि प्रशिक्षण गर्दै जाँदा सफल खेलाडी बन्ने सपना देखेका थिए । यसरी उनले आफ्नो सपना पूरा गर्न विभिन्न समयमा भिन्नभिन्न ठाउँमा तत्कालीन समयका चर्चित गुरुहरू राजेन्द्र कपाली, युवराज लामा र दावा गुरुङसँग प्रशिक्षण लिएका थिए । चार वर्षको कठोर प्रशिक्षणपश्चात् मीनले पहिलोपटक ०४४ मा आफ्नो प्रतिभा देखाउने अवसर पाएका थिए । जसमा उनी अब्बल खेलाडी सावित भएका थिए ।
भर्खरै प्रतिबन्ध हटेका कारणले त्यसबेला करातेका खासै प्रतियोगिता हँुदैनथ्यो । वर्षको एकचोटि हुने अल नेपाल च्याम्पियनसिप कराते प्रतियोगिताले खेलाडीको भविष्यको मापन गर्दथ्यो । मीनकृष्णले यो प्रतियोगिता करातेमा लागेको पाँच वर्षपछि मात्र खेल्न पाएका थिए । १४ वर्षका महर्जनले उक्त च्याम्पियनसिपमा ३५ केजीमा प्रतिस्पर्धा गरेका थिए । आफ्नो पहिलो भिडन्तका लागि निकै हौसिएका महर्जनले पहिलो सहभागितामै स्वर्ण पदक जितेर वाहवाही बटुलेका थिए । महर्जनका लागि कोसेढुङ्गा सावित भएको यो प्रतियोगितापश्चात् उनले चितवन र धरानमा आयोजना भएको यही प्रतियोगितामा लगातार स्वर्ण पदक जितेर ह्याट्रिक गर्न सफल भएका थिए । आफ्नो खेलजीवनको आठ वर्षको अन्तरालमा विभिन्न कठिनाइका बाबजुद पनि उनले आफूलाई अब्बल सावित गरेका थिए । यसरी करातेप्रतिको गहिरो लगाव र राष्ट्रियस्तरमा पाएको सफलताले महर्जन आफ्नो समूहमा चर्चित र उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।
करातेमा उत्कृष्ट खेलको प्रदर्शन गरेर आफूलाई प्रभावशाली खेलाडीको रूपमा महर्जनले स्थापित गरेको कुरामा सायदै दुईमत होला । आफ्नो खेलजीवनमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई नियाल्दा नै यो कुराको पुष्टि हुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय करातेका प्रतियोगितामा सहभागी भएर थुप्रै पदक भित्याएर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पु-याउन उनी सफल भएका थिए । आफ्नो तौल समूहमा सधैँ उत्कृष्ट रहेका महर्जनले अन्तर्राष्ट्रियस्तरमा पनि यो दबदबालाई कायम राखेका थिए । त्यसबेला उनको प्रतिद्वन्द्वी भनेको खुद उनी नै थिए । महर्जनसँग प्रतिस्पर्धा गर्नु भनेको हारलाई स्वीकार्नु थियो । तसर्थ प्रायजसो खेलाडी उनीसँग खेल्न डराउँथे । कोही भिडन्तमा उत्रिइहाल्यो भने पनि उसले पराजयको मुख देख्नुपथ्र्यो ।
त्यस्तो प्रतिभावान् खेलाडी भएर पनि महर्जनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साफ’मा मुलुकका लागि खेल्ने अवसर भने पाएनन् । जब सन् १९९९ मा नेपालमा आठौँ साफको आयोजना भयो, त्यसबेला करातेलाई पहिलोपटक साफ गेममा समावेश गरिएको थियो । दुर्भाग्य मीनकृष्ण त्यसबेला सक्रिय खेलजीवनवाट सन्न्यास लिएर प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । आठौँ साफमा नेपालले १५ समूहमा १४ स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान बनाउँदा महर्जनले उक्त टोलीको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । कराते टोलीलाई ऐतिहासिक सफलता दिलाउन महर्जनको अहम् भूमिका रहेको थियो । उनले त्यसबेला मुलुकलाई सफलता दिलाउन साम, दाम, दण्ड, भेद चारै नीतिहरू अवलम्बन गरेका थिए ।
प्रशिक्षकको रूपमा दोस्रो इनिङ शुभारम्भ गरेका महर्जनले त्यहाँ पनि खेलाडीझैँ सफलताको स्वाद चाखेका थिए । मिहिनेत, परिश्रम र लगनशीलतालाई सफलताको कडी मान्ने महर्जनले पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएका थिए । सो क्रममा उनले मलेसियामा भएको पाँचौँ सिनियर एसियन कराते च्याम्पियनसिप तथा रेफ्री सेमिनारमा उत्कृष्ट रेफ्री घोषित भएका थिए । त्यस्तै दक्षिण कोरियाको बुसानमा भएको १४ औँ एसियन गेममा जज र श्रीलंकामा भएको दसौँ सागमा रेफ्रीको भूमिका सफलताका साथ निभाएका थिए । सन् १९९२ मा थाइयाण्डमा किकबक्सिङको तीनमहिने विशेष प्रशिक्षण र सन् १९९७ मा जापानमा दुईमहिने तालिम लिएका छन् । यसबाहेक नेपालमा भएका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा महर्जनले सफलताका साथ रेफ्रीको भूमिका निभाइसकेका छन् ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि ०४६ मा मीनकृष्ण राजनीतिमा प्रवेश गरेका थिए । ०४६ सालमै काङ्ग्रेसको चार आने सदस्य लिएर राजनीतिमा होमिएका महर्जनको मुख्य उद्देश्यचाहिँ सामाजिक कार्य गर्नु थियो । सामाजिक कार्य गर्न राजनीतिक पार्टीको हाँगा समाउँदा सहज हुने भएकाले उनले आफ्नो उद्देश्य पूर्ति गर्न राजनीतिलाई आत्मसात् गरेका थिए । अझ सर्वमान्य नेता गणेशमान सिंहसँग निकै प्रभावित महर्जनले उहाँको त्याग, तपस्या देखेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको खुलासा गरेका छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि ०४६ मा भएको आन्दोलनमा महर्जनले ललितपुर जिल्लाबाट सक्रिय भूमिका निभाएका थिए । लोकतान्त्रिक आन्दोलन सफल पार्न आफ्नो ज्यानसमेत जोखिममा पारेर महर्जन सडकमा उत्रिएपछि उनी काङ्ग्रेसका चर्चित नेता खुमबहादुर खड्काको नजरमा परेका थिए । पछि नेता खड्काकै प्रेरणाले उनले आफ्नो सक्रिय राजनीतिलाई अगाडि बढाएका थिए । अहिले पनि महर्जन खड्काका दाहिने हातको रूपमा चिनिन्छन् ।
राजनीतिमा सक्रिय रूपमा लागेको १२ वर्षपछि अर्थात् २०५८ मा मीनकृष्ण तरुण दलको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । त्यसपछि ०६० मा महाविधेशन प्रतिनिधि बन्दै चितवनमा भएको महाधिवेशनमा मध्यमाञ्चलबाट अत्यधिक बहुमत पाउँदै तरुण दलको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि वर्तमान अवस्थासम्म तरुण दलको खेलकुद विभाग प्रमुख भएर कार्य गरिरहेका छन् । राजनीतिमा बढ्दो लगाव र समर्पणको भावनाले गर्दा महर्जनको व्यक्तित्वले पनि शिखर चुम्दै गयो । यसैको प्रतिफलको रूपमा ०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा उनी अत्यधिक बहुमतले महासमितिको सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, संविधानसभाको चुनावमा क्षेत्रीय कमिटीले उम्मेदवारका लागि एक नम्बरमा छनोट गरेर पठाए पनि नेपाली काङ्ग्रेसको संसदीय समितिमा छलफल हुँदा महर्जन टिकट पाउनबाट वञ्चित भएका थिए । र पनि, पार्टीमा अहम् भूमिका निभाएबापत मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्मा सदस्यमा नियुक्ति भई कोषाध्यक्ष बन्न सफल भएका थिए ।
खेलकुद होस् या राजनीति दुवैतर्फ सफलताको स्वाद चाख्दै गएका मीनकृष्णको व्यक्तित्व अहिले दिनप्रतिदिन शिखरतर्फ उन्मुख भइरहेको छ । निडर र स्पष्ट वक्ताको रूपमा परिचित महर्जनले खेलकुद र राजनीतिमा आफूलाई यसरी नै प्रस्तुत गरिरहेका छन् । खेलाडीहरूको हकहितदेखि कार्यकर्ताको सुखदुःखलाई आत्मसात् गर्दै यसको समाधानका लागि राष्ट्रिय खेलकुद परिषद्देखि पार्टी कार्यालयसम्म महर्जनले आवाज बुलन्द पार्दै आएका छन् । महर्जनको यही सहयोगी भावनाले गर्दा आज उनी छोटो समयमै खेलकुद र राजनीतिमा ठूलो छलाङ मार्न सफल भएका छन् । ललितपुर जिल्लामा मात्र नभई नेपाली काङ्ग्रेसको दोस्रो पुस्ताका चर्चित युवा नेताहरूमा उनको नाम अग्रिम पङ्क्तिमा आउँछ । यो कुराको पुष्टि काठमाडौंमा सम्पन्न भएको १२औँ महाधिवेशनमा अत्यधिक बहुमत ल्याएर महासमितिको सदस्यमा निर्वाचित हुनुलाई लिन सकिन्छ । साथै हालै सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ सिफारिसमा पर्नुले पनि उनको राजनीतिक लोकप्रियता कति छ, त्यसै अनुमान लगाउन सकिन्छ । ललितपुरका तीनवटै क्षेत्रमा नेपाली काङ्ग्रेसलाई जिताउन अहम् भूमिका निर्वाह गरेका महर्जन क्षेत्र नं. १ मा उदयशमशेर राणालाई जिताउन ज्यान छोडेर लागेका थिए । राणाका हरेक कदममा छाया बनेर हिँडेका महर्जनले राणालाई विजय दिलाउँदै राजनीतिमा आफ्नो हाइट बढाउन सफल भएका थिए ।

खेल समाचार

भारोत्तोलन च्याम्पियनसिप सुरु
प्रथम लुम्बिनी च्याम्पियनसिपअन्तर्गत २१ औँ पुरुष तथा छैटौँ महिला राष्ट्रिय भारोत्तोलन एवम् प्रथम जुनियर महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप आज बुधबारदेखि प्रारम्भ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल भारोत्तोलन सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न जिल्लाका ९२ पुरुष र ४६ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घका सहसचिव सञ्जय महर्जनले जनाएका छन् । दुईदिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।

स्कुटर हस्तान्तरण
नवौँ ढोरपाटन ब्लु स्काइ कप टीभीएस महिला डबल लिग भलिबल प्रतियोगिताको तीन विधामा दिइने टीभीएस स्कुटर हस्तान्तरण गरिएको छ । प्रायोजक टीभीएस कम्पनीका तर्फबाट सोरुम इन्चार्ज सुरेशराय क्षेत्रले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस् प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्याललाई स्कुटर हस्तान्तरण गरिएको हो । उत्कृष्ट, प्रतिभावान र वर्ष खेलाडीलाई समान १–१ थान स्कुटर प्रदान गरिनेछ । प्रतियोगिता माघ १६ देखि गोंगबुस्थित नयाँ बसपार्कमा सुरु हुँदै छ । हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले नेपालकै सर्वाधिक नगद पुरस्कारको प्रतियोगिताले विगतदेखि नै भलिबललाई सुस्ताएको अवस्थामा पनि जीवित राख्ने काम गरेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा आयोजकका उपाध्यक्ष कृष्ण घायल र खेम पुर्जा, महासचिव देवेन्द्र घर्तीमगर, दिलबहादुर पुर्जा तथा टिम म्यानेजर कुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रहरीका वीरेन्द्र र केशरीलाई हर्डल्स उपाधि
नेपाल प्रहरी क्लबका वीरेन्द्र चौधरी र केशरी चौधरीले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय एथलेटिक्सको हर्डल्स (बाधादौड) मा स्वर्ण जितेका छन् । पुरुषको १ सय १० मिटर वीरेन्द्रले १६.५ सेकेन्डमा पूरा गरे । १६.९ सेकेन्डसाथ नेपाली सेनाका योगेन्द्र लामा दोस्रो र १७.५ सेकेन्डसाथ सेनाकै पदम कार्की तेस्रो भए ।
महिलाको १ सय मिटर दूरी तय गर्न केशरीलाई १६.७ सेकेन्ड समय लाग्यो । अघिल्लो दिन ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी एपीएफकी सविता चौधरी १७.९ सेकेन्डसाथ दोस्रो स्थानमा सीमित भइन् । १९.० सेकेन्डमा दूरी पूरा गरेकी प्रहरीकी सन्त चौधरीले तेस्रो स्थान हात पारिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुषको चार सय मिटर दौडमा प्रहरीका ओलम्पियन तिलकराम थारूले शीर्ष स्थान कब्जा गरे । उनले ४८.९ सेकेन्डमा दौड पूरा गरेका थिए । सेनाका दशीराम चौधरी (५१.५ सेकेन्ड) दोस्रो तथा पश्चिमाञ्चलका विनोद गुरुङ (५२.९ सेकेन्ड) तेस्रो भए । त्यसै स्पर्धाको महिलामा ६०.० सेकेन्ड समय खर्चंदै एपीएफकी दिलमाया कार्की पहिलो भइन् । सेनाकी दुर्गा देवकोटा (६४.० सेकेन्ड) दोस्रो तथा मध्यमाञ्चलकी अनिता थापा (६६.८ सेकेन्ड) तेस्रो बने ।
महिलाको सटपुट (छेलो) मा ९.२८ मिटर टाढा फाल्दै प्रहरीकी चन्द्रकला लादघारले स्वर्ण चुमिन् । पश्चिमाञ्चलकी ऋषिसरा थापा दोस्रो र सेनाकी अञ्जु डगौरा तेस्रो भए । सोही स्पर्धाको पुरुषमा सेनाका राजेन्द्र बस्नेतले पहिलो स्थान कब्जा गरे । उनले ११.६१ मिटर टाढा फाले । प्रहरीका नरेन्द्रजंग शाह (११.३० मिटर) दोस्रो र सुदूरपश्चिमाञ्चलका टेकेन्द्रराज पाठक (११.११ मिटर) तेस्रो भए ।
महिलाको पाँच हजार मिटर दौड १९ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै एपीएफकी गीता खत्री पहिलो भइन् । सेनाकी विश्वरूपा बुढा (१९ मिनेट १०.६ सेकेन्ड) दोस्रो तथा मध्यमाञ्चलकी सङ्गीता खड्का (२० मिनेट ०७.३ सेकेन्ड) तेस्रो भए । उक्त स्पर्धाको पुरुषमा सेनाका हरिकुमार रिमालले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १५ मिनेट ४५.५ सेकेन्डको समय निकालेका थिए ।
पुरुषको लङजम्पमा सर्वाधिक ६.५६ मिटर हामफालेका सेनाका डिल्ली खत्री पहिलो भए । मध्यमाञ्चलका आशिष चौधरी (६.५५ मिटर) दोस्रो तथा सेनाका छविलाल चौधरी (६.४५ मिटर) तेस्रो भए । लङजम्पकै महिलामा प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले ५.२४ मिटर हामफालिन् । सेनाकी कृष्ण चौधरी (५.२२ मिटर) दोस्रो तथा पश्चिमाञ्चलकी विमला चौधरी (४.७८ मिटर) तेस्रो भए । महिलाको ४ गुणा १ सय मिटर रिलेमा एपीएफ पहिलो, प्रहरी दोस्रो र सेना तेस्रो भए । त्यसै स्पर्धाको पुरुषमा सेना, प्रहरी र मध्यमाञ्चलले शीर्ष तीन स्थान कब्जा गरे ।

स्क्वासमा अमृतले बाजी मारे
अमृत थापाले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत आठौँ राष्ट्रिय स्क्वासको पुरुष सिङ्गल्सको उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास एकेडेमीमा भएको फाइनलमा अमृतले बाबु हीराबहादुरलाई ११–८, ९–११, ३–११, १२–१० र १२–१० को सेटमा पराजित गरेका थिए । बाबु–छोरा उपाधिका लागि भिडेको यो चौथोपटक हो । अघिल्ला तीन फाइनलमा पनि अमृतले नै बाजी मारेका थिए ।
त्यस्तै यू–१७ ब्वाइज सिङ्गल्समा दीपक थापा पहिलो भए । दीपकले फाइनलमा आकाश सुनवारको चुनौती ११–७, ११–४ र ११–९ को सोझो सेटमा समाप्त पारे । त्यसै स्पर्धाको गल्र्समा विपना ब्लोन च्याम्पियन बनिन् । उपाधि भिडन्तमा विपनाले स्वस्थानी श्रेष्ठलाई ६–११, ११–९, ११–७ र ११–४ ले पाखा लगाएकी थिइन् । पुस २८ देखि सुरु प्रतियोगितामा १ सय २० खेलाडीले पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । महिला एकलको उपाधि हीराकी छोरी कृष्णा र पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले हात पारेको थियो ।
त्यस्तै कृष्णा थापाले आठौँ राष्ट्रिय स्क्वासको महिला सिङ्गल्सको उपाधि जितेकी छन् । फाइनलमा कृष्णाले विपना ब्लोनलाई ११–४, ११–६ र ११–२ को सोझो सेटमा पराजित गरेकी थिइन् । स्वस्थानी श्रेष्ठ र मञ्जिला आलेमगर संयुक्त रूपमा तेस्रो भए । पुरुष टिम इभेन्टको उपाधि पश्चिमाञ्चलले जित्यो ।

राष्ट्रिय लनटेनिस सुरु
अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १२औँ राष्ट्रिय लनटेनिस सुरु भएको छ । प्रतियोगितामा पुरुष/महिला सिङ्गल्स र डबल्स तथा मिक्स डबल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका छन् । १५ जिल्ला तथा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाली सेना गरी १८ टिमका ९६ खेलाडीले भाग लिएका छन् । त्यसमा ६४ पुरुष र ३२ महिला रहेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ ।

आईटीएफ यू–१४ मा संरक्षक पहिलो
थाइल्यान्डको बैंककमा भएको आईटीएफ यू–१४ जुनियर एसियाली टेनिस च्याम्पियनसिपको कन्सोलेसनतर्फ पुरुष एकलमा नेपालका संरक्षकभूषण बज्राचार्यले पहिलो स्थान हात पारेका छन् । संरक्षकले फाइनलमा पाकिस्तानका अली साहिबजादालाई ४–०, ०–४ र ५–४ ले पराजित गरे । त्यसअघि संरक्षकले पाकिस्तानका हाम्जा विन रेहानलाई ४–१ र ४–१, मंगोलियाका हिलेट साम क्वाङलाई ४–० र ४–० तथा भुटानका तेन्जिङ सिङ्येलाई ४–० र ४–० ले पाखा लगाएका थिए । कन्सोलेसनतर्फ कुनै पनि नेपाली पुरुष खेलाडीले पहिलो स्थान हात पारेको यो नै पहिलो अवसर भएको टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका छन् । अघिल्लो दिन मायाङ्काले कन्सोलेसनतर्फ नै महिला एकलमा शीर्ष स्थान कब्जा गरेकी थिइन् ।

राष्ट्रिय ब्याडमिन्टन अर्को साता
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३७औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला सिङ्गल्स र डबल्स तथा मिक्स डबल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजित पत्रकार सम्मेलनमा अयोजक सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले अवगत गराए । प्रतियोगितामा विभिन्न ४४ जिल्ला र तीन विभागीय टोलीका दुई सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख खर्च हुने बताइएको छ । राखेपले सङ्घलाई नौ लाख उपलब्ध गराएको छ भने नपुग रकम विभिन्न सङ्घ–संस्थाबाट जुटाइने आयोजकले जनाएको छ । माघ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछन् ।

२० वर्षमुनिको राष्ट्रिय बास्केटबल हुने
नेपाल बास्केटबल सङ्घको आयोजनामा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत प्रथम एनएईई कप यू–२० पुरुष तथा महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा १६ तथा महिलामा १२ टिमले भाग लिने आयोजक सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् प्राविधिक निर्देशक नरेन्द्र थापाले जानकारी गराएका छन् । सहभागी टिमलाई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
लुम्बिनीअन्तर्गत सिनियरको राष्ट्रिय प्रतियोगिता गर्नुपर्नेमा हाल सिनियर टिम काठमाडौंमै अप्रिलमा हुने तेस्रो साबा च्याम्पियनसिपको तयारीमा रहेकाले यू–२० को राष्ट्रिय प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । नेसनल एकेडेमी फर इन्जिनियरिङ एजुकेसन (एनएईई) को मुख्य प्रायोजनमा हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् ।

दक्षिण एसियाली निहोन कराते च्याम्पियनसिप
नेपाल निहोन सोतोकान कराते डो सङ्घको आयोजनामा यही माघ ९ र १० गते काठमाडौंमा प्रथम दक्षिण एसियाली निहोन कराते च्याम्पियनसिप हुने भएको छ । सङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भइसकेको र नेपालको राष्ट्रिय टिमको छनोटको काम अगाडि बढेको जनाएको हो । सङ्घका अध्यक्ष जितेन्द्रकुमार मोक्तानका अनुसार दक्षिण एसियाली खेलअघि माघ ७ गते राष्ट्रिय प्रतियोगिता गरिने र त्यसबाट छनोट भएका खेलाडीलाई दक्षिण एसियाली च्याम्पियनसिपमा सहभागी गराइनेछ ।
उनले राष्ट्रिय प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीले भाग लिने र दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालबाट २१ खेलाडीले भाग लिने बताए । च्याम्पियनसिपमा २५ विधामा प्रतिस्पर्धा गराइनेसमेत जनाइएको छ । निहोन सोतोकान करातेका प्रमुख प्रशिक्षक तथा महासचिव सञ्जय लामाले भारतबाट ६० जना, श्रीलंकाबाट १७ जना, पाकिस्तानबाट पाँचजना र भुटानबाट १२ जना खेलाडीले सहभागिता जनाउने निश्चित भइसकेको बताए । निहोन कराते जापान हेडक्वार्टरका प्रमुख प्रशिक्षक पेम्बा तामाङले प्रतियोगिता करातेको अन्तर्राष्ट्रिय नियमअनुसार हुने जनाएका छन् । दक्षिण एसियाली च्याम्पियनसिपका क्रममा माघ ८ गते अन्तर्राष्ट्रिय रेफ्री सेमिनार गर्ने पनि सङ्घले जनाएको छ । सङ्घका अनुसार च्याम्पियनसिपमा कातातर्फ महिला र पुरुष गरी आठ विधा तथा कुमुतेमा महिला र पुरुष गरी १७ विधा समावेश गरेको छ । जसमा आठ वर्षदेखि १८ वर्षसम्मको विभिन्न उमेर समूहमा, भेट्रानतर्फ ४० वर्ष र ४० वर्षमाथि तथा सिनियरतर्फ चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ । सङ्घका अध्यक्ष मोक्तानले राष्ट्रिय प्रतियोगिताका लागि ६ लाख रुपैयाँ र दक्षिण एसियाली प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट अनुमान गरिएकोसमेत जनाए ।