श्रेष्ठले किन बनाए अवालेलाई ‘भिआईपी गेस्ट’ ?

श्रेष्ठले किन बनाए अवालेलाई ‘भिआईपी गेस्ट’ ?


– श्रीविक्रम भण्डारी

सर्वोच्च अदालतद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १८औं एसियाडमा आफैले गरेको निर्णय उल्लंघन गरेको जानकारी प्राप्त भएको छ । श्रेष्ठले एसियाड सञ्चालन हुनुअघि सम्पूर्ण राष्ट्रिय खेलकुद संघहरूलाई पत्राचार गर्दै संघका अध्यक्ष तथा कार्यसमितिका कुनैपनि पदाधिकारीलाई एक्रिडिएसन कार्ड बनाउन नसक्ने जानकारी गराएका थिए । अध्यक्षको सो निर्देशनअनुसार कुनैपनि संघका अध्यक्ष र कार्यसमितिका पदाधिकारीको ओलम्पिक कमिटीले एक्रिडिएसन कार्ड बनाएको थिएन ।

तर, जकार्ता पुगेपछि श्रेष्ठले आफैले गरेको निर्णयविपरीत अर्को निर्णय गरेका थिए । जकार्तामा उनले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई ‘एनओसी गेस्ट भिआईपी कार्ड’ बनाएर इन्डोनेसिया बोलाएको खुलासा भएको छ । स्रोतका अनुसार यसपछि अवाले भिआईपी बनेर एसियाडमा भित्रिएका थिए ।

श्रेष्ठले अवालेलाई किन ‘भिआईपी’ बनाएर एसियाडमा भित्र्याए भन्ने कुरा निकै रहश्यपूर्ण मानिएको छ । यसरी अवाले भिआईपी बनेर एसियाड पुगेपछि राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले समेत चासो राखेको बुझिएको छ । यसअघि नेपालमा अवालेको कुनै किसिमको एक्रिडिएसन कार्ड बनेको थिएन ।

अन्य संघका अध्यक्ष र पदाधिकारीलाई पाखा लगाउँदै बक्सिङका अध्यक्ष अवालेलाई मात्र जीवनरामले किन काखी च्यापेर ‘एनओसी गेस्ट भिआईपी कार्ड’ उपलब्ध गराए– अहिले चर्चाको विषय बनेको छ । साथै अवालेलाई मात्र किन यस्तो भिआईपी कार्ड उपलब्ध गराईयो भन्ने प्रश्नको घेरामा जीवनराम परेका छन् ।

उक्त भिआईपी कार्ड बनाउन अवाले र श्रेष्ठबीच कुनै खास चलखेल भएको आशङ्का पनि सम्बद्ध क्षेत्रमा गरिन थालिएको छ । अन्यथा अवाले मात्रै किन श्रेष्ठको प्राथमिकतामा परेर भिआईपी गेस्ट बन्न पुगे त ? त्यसको जवाफ श्रेष्ठले दिनैपर्ने आवाज खेलकुदमा उठ्न थालेको छ ।

त्यस्तै, १८औं एसियाडमा नेपालको सबैभन्दा खराब प्रदर्शन नै बक्सिङमा रहेको थियो । एसियाडमा नेपालका बक्सिङ खेलाडीले एउटा पनि बाउट नजितेर ‘कीर्तिमान’ बनाएका थिए । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा बक्सिङका पुरन राईले एउटा खेल जितेका थिए । त्यस्तै सन् २०१० मा चीनको ग्वाङझाउमा सम्पन्न एसियाडमा बक्सिङले काश्य पदक जितेको थियो । दीपक महर्जनले जितेको उक्त पदक नेपालले जितेको पहिलो र एउटै मात्र पदक थियो ।