आज भुटानसँग प्रतिस्पर्धा, नेपाललाई जित्नैपर्ने दबाब

आज भुटानसँग प्रतिस्पर्धा, नेपाललाई जित्नैपर्ने दबाब


नेपाल आज भुटान सँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा पहिलो खेलमा अन्तिम मिनेट सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाल भुटानविरुद्धको खेलमा जित्नै पर्ने दबाबमा छ ।

भुटानसँगको खेलमा जित हात पारे नेपालको नकआउट चरणको सम्भावना कायमै रहनेछ । पहिलो खेलबाट पाकिस्तान र आयोजक बंगलादेशले ३–३ अंक जोडेका कारण भुटानसँग ३ अंक खोस्न सकेको खण्डमा नेपालको सम्भावना जीवितै रहनेछ ।

नेपाली प्रशिक्षक बालगोपाल महर्जन पनि भुटानविरुद्धको खेलमा जित हात पार्नेमा आशावादी छन् । प्रशिक्षक महर्जनले पाकिस्तानविरुद्धको खेल नेपालको पक्षमा अन्तिम समयमा सम्हालिन नसक्दा पराजय ब्यहोरेको प्रतिक्रिया दिए ।

आक्रामक फुटबल खेल्ने र जितका लागि खेल्ने प्रशिक्षक महर्जनले बताएका छन् । भुटानविरुद्ध मैदानमा उत्रिएमा कप्तान विराज महर्जन नेपाली फुटबल इतिहासको सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्नेछन् । बंगलादेशविरुद्धको खेलमा ६८ क्याप जितेका विराजले राजुकाजी शाक्यलाई पछिपार्दै सर्वाधिक क्याप जित्ने नेपाली नेपाली फुटबलर बन्नेछन् ।

इतिहास हेर्ने हो भने नेपाल अहिले सम्म भुटानसँग पराजित भएको छैन । नेपाल र भुटानले अहिले सम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नेपाल १२ खेलमै बिजयी भएको छ । साफ च्याम्पियनसिपमा पनि नेपालले भुटानलाई दुई भेटमा दुबैमा निराश बनाएको छ ।