मिस्टर काठमाडौंको उपाधि विसन गुरुङलाई

मिस्टर काठमाडौंको उपाधि विसन गुरुङलाई


७५ केजी तौलका कान्तिपुर फिटनेसका विसन गुरुङ तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठन, महिला फिटनेस तथा द्वितीय जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता २०७५ मा जित निकाल्दै मिस्टर काठमाडौं हुन सफल भएका छन् ।

काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको फाइनल चरणमा विसन मिस्टर काठमाडौं हुन सफल भएका हुन् । उनले नगद १ लाख, ब्यानेट र ट्रफी प्राप्त गरे । उनले आफ्नो तौलमा समेत प्रथम स्थान हात पार्दै नगद १० हजार प्राप्त गरेका थिए । यसका साथै उनले विभिन्न कम्पनीले प्रदान गरेको सम्लिमेन्ट र गिफ्टहरू प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट पोजरको उपाधि उदीत श्रेष्ठले प्राप्त गरे । शंखमूल हेल्थ क्लब तथा फिटनेस सेन्टरका उनले नगद १० हजारसहित ट्रफी, प्रमाणपत्र तथा सप्लिमेन्ट प्राप्त गरे । त्यस्तै तेस्रो महिला फिजिक फिटनेसअन्तर्गत भएको प्रतियोगितामा मसल्स वल्र्ड फिटनेसकी शोभा मानन्धर उत्कृष्ट भइन् । उनले स्वर्ण पदक पाइन् ।

यस्तै डिभाइन फिजिकलकी सुजिता मानन्धरले रजत र मसल एन्ड फिटनेसकी सनम मुलगुठीले कांस्य पाइन । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ र ५ हजार नगद हात पारे । यसका विजयीहरूले विभिन्न कम्पनीले प्रदान गरेको सम्लिमेन्ट र गिफ्टहरू प्राप्त गरेका थिए ।

काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगिताको सिनियर पुरुषतर्फ ५५ केजी तौलमा मसल मेनिया फिटनेसका आवाज प्याकुरेल पहिलो भएका छन् । उनी ओभर अल राउन्डका लागि छनोट भएका छन् । दोस्रो स्थानमा पाराडाइज फिटनेसका सुरज तण्डुकार तथा तेस्रो स्थानमा फ्लेक्स जिमका सुजन गुरुङ रहे । विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी ६० केजीमा टोटल फिजिकल फिटनेसका किसनदास दिवाकारले आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै ओभरअलमा प्रवेश गरे । दोस्रो स्थानमा न्यु फ्लेक्स एन्ड फिटनेसका सुरेश मुनिकार रहे । तेस्रो स्थानमा फिटनेस स्टुडियोका अशोककुमार घिमिरे रहेका थिए । ६५ केजी तौलमा डिभाइन फिजिकल फिटनेसका प्रज्ज्वलमान शाक्यले पहिलो स्थान प्राप्त गरे । दोस्रो स्थानमा सेप्स टु ढल्कोका विवेक विष्ट र तेस्रो स्थानमा फिटनेस फस्र्टका अमर गमाल रहे ।

७० केजी तौलमा अक्सफोर्ड जिम एन्ड फिटनेसका समीर श्रेष्ठले बाजी मारे । उनी ओभरअल राउन्डका लागि छनोट भए । दोस्रो स्थानमा मोसल्स एन्ड फिटनेसका अमितकुमार मण्डल र तेस्रो स्थानमा फिटनेस स्टुडियोका सुपेन डंगोल रहे । ७५ केजी तौलमा कान्तिपुर फिटनेसका विसन गुरुङले बाजी मारे । उनले सेप्स टुका उज्ज्जल बज्राचार्यलाई पछाडि पारे । तेस्रो स्थानमा न्यु फ्लेक्सका रुजल शाही रहे । ७५ केजीभन्दा माथिको तौलमा न्यु फ्लेक्स एन्ड फिटनेसका नरेश मालाकारले अग्र स्थान प्राप्त गरे । जी फिटनेसका राजन बानियाँ दोस्रो र डिभाइन फिजिकलका मोहित कार्की तेस्रो भए ।

राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको दोस्रो जुनियर मिस्टर काठमाडौंतर्फ पाराडाइजका किशोर कार्कीले बाजी मारे । उनले फिटनेस फस्र्टका मनीष बज्राचार्यलाई पछि पारेका हुन् । तेस्रो स्थानमा फिटनेस प्लसका राज खड्का रहे । उनीहरूले क्रमशः ३० हजार, १५ हजार र ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रका साथै सप्लिमेन्ट प्राप्त गरे ।