पाठक मञ्च

पाठक मञ्च


pathakmanch‘फुटरिङ–म्यान’ले अवैध पेस्तोल राखेपछि…
यिनी सुगम ग्यास उद्योग नामक उद्योगका मालिक हुन् । केही वर्ष मात्र भयो यिनी ग्यास उद्योगीका रूपमा चर्चामा आउन थालेको । सुरु–सुरुमा ग्यास उद्योगीहरूको सङ्घका अध्यक्ष बनेर यिनी मिडियामा चिनिए । त्यहाँसम्म ठीकै थियो । अलिक पछि आएर उनका सहकर्मीले भन्न थाले कि यिनी बाङ्गो बाटो अपनाएर भए पनि पैसा कमाउनुपर्छ भन्ने स्वभावका मानिस हुन् । यस्तै चर्चा व्यवसायीबीच चल्दै गर्दा ग्यास तथा पेट्रोलियम व्यवसायमा अनेकथरी लफडा देखाउँदै यिनले नेपाल सरकारसँग बार्गेनिङ गर्न थाले, सङ्घको अध्यक्ष पदलाई हतियार बनाएर । यस्तै व्यवसायीका कारण पनि ग्यास, मट्टीतेल र डिजल–पेट्रोलमा भाउ बढ्ने गरेको यथार्थसँग सचेत उपभोक्ता नागरिक परिचित नै छन् ।
यिनै व्यक्ति डेढ–दुई वर्षअघि एक्कासि यसरी व्यापक चर्चामा आए– ‘सुगम ग्यासका मालिकले अर्काको ग्यास सिलिन्डरको फुटरिङ काटेर आफ्नोमा जोड्दै ग्यासमा निकै घोटाला गर्दै आएका छन् !’ फुटरिङ काटेर जोखिम बढाएको र राज्यलाई ठगेको सो अपराध चानेचुने थिएन, यिनी प्रहरी प्रशासनबाट बच्न त्यतिबेला भूमिगत नै हुनुप-यो । तर, पैसा भए जे पनि सम्भव हुने मुलुक नेपालमा यिनीजस्ताले खासै कानुनी कारबाही झेल्नुपर्ने कुरै रहेन ! यिनले पनि झेलेनन् । कतिपय पार्टीका नेताहरूले नै उनलाई जोगाइदिएको चर्चासमेत चल्यो मिडियामा ।
यसरी नराम्रै कारणले भए पनि बेलाबेलामा चर्चामा आइरहने ‘उद्यमी’ को हुन् भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ र यतिबेला किन उनको चर्चा झिकिँदै छ भन्ने जिज्ञासा पनि अस्वाभाविक छैन । यी चर्चित ‘राज्यमारा’ उद्यमीको नाम हो– शिवप्रसाद घिमिरे । र, यिनको यतिबेला फेरि चर्चा गर्नुपर्ने कारण हो– अवैध हतियार घरमा राख्नु र टिनएजका पुत्रलाई पेस्तोल बोकाएर जनमानसमा त्रास पैदा गराउनु । केही वर्षकै अन्तरालमा एक सामान्य आर्थिक हैसियतबाट अर्बौंपति बन्न सकेका घिमिरे यतिबेला पुनः प्रहरी–प्रशासनबाट बच्न लुक्दै उच्च नेताहरूको ढोका ढकढक्याएर हि‘डेपछि चर्चामा छाए ।
प्रहरी स्रोतका अनुसार शिव घिमिरेका छोरा सुगम घिमिरे पेस्तोल बोकेर साथीहरूको समूह बनाई हिँडेको अवस्थामा पक्राउ परेपछि उनकै बयानको आधारमा घिमिरेको घरमा छापा मार्दा केही गोली पनि फेला परेको छ । यसपछि घिमिरे फरार भएका हुन् । प्रहरीले उनको मानभवनस्थित घरमा १३ राउन्ड गोली फेला पारेको छ भने पेस्तोलसहित समातिएका सुगम र तिनका साथीहरू प्रहरी हिरासतमा पुगेका छन् । उक्त पेस्तोल बुबाको हो भन्ने बयान उनका छोराले दिएपछि घिमिरेमाथि प्रहरी–नजर आकर्षित हुन पुग्यो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले झन्डै दुई साताअघि नै धुम्बाराही अपार्टमेन्टअगाडिको चउरबाट शिवपुत्र सुगमसँगै सनी गुरुङ, विशाल पुन, तेजन श्रेष्ठ कर्माचार्य, दोसन वली र सन्दीप खड्का नामक युवालाई बेलायती रिभल्वर र एक राउन्ड गोलीसहित पक्राउ गरेको थियो । सुगमकै बयानका आधारमा प्रहरीले मानभवनस्थित घरमा छापा मारेको थियो भने घरमा १३ राउन्ड गोली फेला परेको थियो । त्यसपछि हिरासतमा रहेका छोरालाई समेत भेट्न नगई लुकिछिपी प्रहरीको ऑखा छलेका घिमिरे झण्डै दुई सातापछि प्रहरीको हात लागेको समाचार सार्वजनिक भएको छ । उनी समातिन यत्तिका दिन लागेबाट प्रहरीनिकायमाथि पनि आशङ्का नउठेको होइन । तर, ढिलै भए पनि अभियुक्त घिमिरे गिरफ्तार भएका छन् । अब हेर्नुछ, पहिलेको अपराधमा जस्तै घिमिरेलाई सजिलै उन्मुक्ति दिइन्छ कि राज्यले उचित कारबाही गरेर कानुनी राज्यको आभास पनि दिलाउँछ ?
– सुभास उप्रेती, नौविसे, धादिङ (हाल ः काठमाडौं)

यी पनि रहेछन् ‘वैरो’का घुस्याहा
वैदेशिक रोजगार विभागमा हुने अनियमितता र घुस प्रकरण अब ‘मुलुककै लज्जा’ बन्न पुगेको त सबैसामु छर्लङ्गै छ । त्यहाँका शाखा अधिकृत, सुब्बा, खरिदार र एजेन्टहरूको मिलेमतोमा हुने घुसको कारोबारले झन् व्यापकता पाएको बुझिन्छ । विभागमा शक्तिशाली भनेर चिनिने र लाखौँ रकम घुस चढाएर अनियमित कारोबार गर्न सघाउने अमृत ढकाल, सोम ढकाल, दीपक ढकाल, अग्नि श्रेष्ठ, घनश्याम पौडेल, विलाश, प्रकाश सापकोटालगायत दर्जनौँ एजेन्ट र नवीकरणका शाखा अधिकृतद्वय बेबी काफ्ले, खेम पौडेल, वन मन्त्रालयबाट आएका एक अधिकृत, सुब्बा मित्र खतिवडा र कम्प्युटर अपरेटरहरू कुमार पौडेल र राजेन्द्र पराजुलीको मिलेमतोमा अवैध धन्दा मौलाउँदै आएको स्रोतको दाबी छ । राजेन्द्र पराजुली अन्तिम स्वीकृतिका कम्प्युटर अपरेटर हुन् भने मित्र खतिवडा नवीकरण र अन्तिम दुवै ठाउँमा काम गर्ने सुब्बा हुन् । अन्तिम र नवीकरणको घुसको सेटिङ सुब्बा मित्र खतिवडा, क्लिक गर्ने अमर महरा र एजेन्ट अमृत ढकालबाट हुने गरेको छ ।
एजेन्ट अमृत ढकाल र सुब्बा मित्र खतिवडाको मिलेमतोमा नवीकरण र अन्तिम स्वीकृतिमा व्यापक अनियमितता हुने गरेको दाबी गर्दै स्रोतले दिएको जानकारीअनुसार प्रत्येक दिन श्रमस्वीकृतिको काम सकिएपछि घुस कारोबारको अड्डाको रूपमा ‘ज्ञवाली खाजाघर’को पूर्वपट्टिको खाली ठाउँलाई प्रयोग गर्न थालिएको छ । त्यसैगरी तत्कालीन कार्की फास्टफुड एण्ड क्याफे, पाल्पाली कृष्ण पोखरेलले किनेपछि उनको क्याफेमा घुसको कारोबार र अवैध धन्दा मौलाउँदै आएको छ । दैनिक लाखौँको कारोबार गर्ने पोखरेलले उक्त क्याफेलाई करको दायरामा नल्याई दैनिक लाखौँ ब्रह्मलुट गरेका छन् भने रेस्टुरेन्टलाई प्रयोग गर्दै अवैध रूपमा नेपाली महिला तथा पुरुषलाई वैदेशिक रोजगारीका लागि खाडीलगायतका मुलुकमा पु-याउन सहयोग गरिरहेको स्रोतले जानकारी दिएको छ ।
श्रमप्रतिनिधि अमृत ढकाल पूर्व, अन्तिम, ओरिन्टेसन, व्यक्तिगत र नवीकरणलगायत विभागको सबै शाखामा घुसको कारोबार मिलाउन च्यानल भएका मिलनसार व्यक्तिका रूपमा परिचित रहेका छन् । नक्कली कागजातका आधारमा अन्तिम स्वीकृति दिएबापत सुब्बा मित्र खतिवडा ज्ञवाली खाजाघरको पूर्वपट्टि ट्वाइलेटको छेउमा पुग्दै ‘हजारी बिटा’ बुझेर बाटो लाग्ने गर्छन् । विभागको अन्तिम, व्यक्तिगत र नवीकरण शाखामा ढकालले झोलाका झोला पासपोर्ट बुझाएपछि एकैपटक श्रमस्वीकृति निकालेर सुब्बा खतिवडाले राखिदिने गर्दछन् । काम भइसकेपछि रेस्टुरेन्ट, क्याफे र मोटरसाइकलमार्फत विभाग परिसरभन्दा केही पर पु-याएर घुसको लेनदेन भएपछि एजेन्ट र कर्मचारीहरू आ–आफ्नो बाटो लाग्ने गरेका छन् ।
अर्कोतर्फ व्यक्तिगत प्रयासको नाममा म्यानपावरले निकालेका भिसाका आधारमा ओमन र बहराइनजस्ता मुलुकमा घरेलु कामदारका रूपमा जाने ३० वर्षमुनिका महिला कामदारलाई पेसा परिवर्तन गराई नक्कली कागजातमा क्लिनरको भिसा तयार पारी वैदेशिक रोजगारीमा पठाइरहेको बुझिन्छ । शाखामा शाखा अधिकृत नानीराम थापा, रोशन ओझा र कम्प्युटर अपरेटरमा उषा श्रेष्ठ र मेनुका श्रेष्ठ रहेको स्रोतले जानकारी दिएको छ । एजेन्टहरू अमृत ढकाल, दीपक ढकाल, खेम अर्याल, अजय शाहलगायत दर्जनौँ वैध–अवैध एजेन्ट र म्यानपावर प्रतिनिधिले समेत व्यक्तिगत श्रमस्वीकृति निकालेर भारतकोे बाटो हुँदै सर्वसाधारण नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । वैदेशिक रोजगार विभाग परिसरमा रहेका फोटोकपी, इन्स्युरेन्स, होटल, ट्राभल्स, रेस्टुरेन्टलगायत एउटा पेसा र व्यवसाय गर्न इजाजतप्राप्त संस्थाहरूले वैदेशिक रोजगार ऐन ०६४ विपरीत कार्य गरिरहेका छन् । के एण्ड के फोटोकपीका सञ्चालकदम्पती र उनका नातेदारहरू गणेश पन्थी तिनकुने सरेदेखि नै दलाली र अवैध धन्दामा संलग्न रहँदै आएका छन् । मानव तस्करीलाई प्रमुख पेसा बनाएर करिब तीन वर्षको अवधिमा उनीहरूले करोडौँ रकम असुलिसकेको स्रोतले दाबी गरेको छ ।
एजेन्ट र कर्मचारीको मिलेमतोमा दुबईको श्रमस्वीकृति निकालेर सरकारद्वारा प्रतिबन्धित मुलुकमा नेपाली महिला कामदारलाई पठाउने गरिएको छ । घरेलु कामदारको भिसा स्क्यानिङ गरी क्लिनरको नक्कली कागजात बनाई डीएचएल वा पार्सल देखाएर व्यक्तिगत श्रमस्वीकृति दिने गरिएको छ । म्यानपावर व्यवसायी, प्रतिनिधि, एजेन्ट, दलाल र मानव तस्करहरूले नक्कली इन्स्युरेन्स बनाई श्रमस्वीकृति निकालिरहेको नबुझ्ने कोही छैनन् । नक्कली इन्स्युरेन्स भएका व्यक्तिले विदेशमा वा स्वदेश कुनै दुर्घटना भए कम्पनीको रेकर्डमा नाम नहुने हुनाले पाउनुपर्ने क्षतिपूर्तिबाट स्वयम् व्यक्ति वा उनका परिवारले कुनै रकम पाउँदैनन् । वैदेशिक रोजगारीमा जान कल्याणकारी राजस्व, बिमा वा इन्स्युरेन्स र अभिमुखीकरण तालिम अनिवार्य रूपमा पूरा गर्नुपर्ने हुन्छ । विभागले श्रमस्वीकृतिमा जति कडाइ गरेको छ त्यति नै सेटिङ र घुसको मूल्य उकालो लाग्ने गरेको छ । खाडी मुलुकका लागि व्यक्तिगत श्रमस्वीकृति टिकटसहित ७५ हजार रहेको बताइन्छ । अर्कोतर्फ अभिमुखीकरण शाखाका निर्देशक बद्रीबहादुर कार्कीको निर्देशनमा नपढाईकन पढाएको भनी नेमलिस्ट देखाई जनही तीन सयका दरले सम्बन्धित शाखामा अवैध रकम बुझाएपछि अभिमुखीकरण तालिम नलिई सर्टिफिकेट प्रमाणित गर्ने गरिएको छ । यसमा वैदेशिक रोजगार अभिमुखीकरण महासङ्घसम्बद्ध संस्थाहरूले समेत ओरिन्टेसन सेटिङ, नक्कली छाप र सही गरेको विभाग स्रोतले जानकारी दिएको छ ।
– एचआर लम्साल, हाल काठमाडौं