यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ को २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सैयदले उक्त दूरी २ः१०.५० मा पूरा गरेका थिए ।
नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त विधामा पुरुषतर्फ युलेन्सका अनुभव सुब्बा दोस्रो र लिंकनका नासिर हुसेन तेस्रो भए । महिलातर्फ खेलाडीको संख्या नपुगेका कारण एपीएफकी डुवाना लामाको टाइम ट्राइल मात्र लिइएको थियो । उनले उक्त दूरी २ः२३.७३ मा पूरा गरिन् ।
मित्रराष्ट्र चीनको ह्वाङजाउमा आयोजना हुने १४औँ फिना विश्व च्याम्पियनसिपका लागि छनोटसमेत रहेको सो प्रतियोगितामा १०० मिटर ब्याकमा लिंकन स्कुलका आदित्य सूर्याले १ः१२.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । लिंकनकै नासिर हुसेनले रजत र सेनाका दिलीप थापामगरले कास्य पाए । महिलातर्फ एपीएफकी डुवाना लामाले १ः१९.९४ समयका साथ स्वर्ण हात पारिन् । लिंकनकी आयुष्मा तुलाधरले रजत र निसर्गकी समिरा शोभा थापाले कांस्य प्राप्त गरिन् ।
यसैगरी १०० मिटर फ्लाईतर्फ युलेन्सका अनुभव सुब्बाले १ः०२.०३ सेकेन्डका साथ स्वर्ण हात पार्दा यूडब्लूसी इस्टका सैयद शाहले रजत पाए । लिंकनका नासिर हुसैनले कांस्य पाए । महिलातर्फ एपीएफकी डुवाना लामाले १ः१५.१३ मा दूरी पूरा गरिन् । यस्तै निसर्गकी समिरा शोभा थापाले १ः२८.७८ सेकेन्डमा दूरी पूरा गरिन् ।

२५ मिटरको इमाडोल पौडीपोखरीमा भएको प्रतियोगिताको ५० मिटर ब्रेस्ट स्ट्रोकतर्फ एपीएफका शुभम श्रेष्ठले उक्त दूरी ३१ः३७ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । यूडब्लूसी इस्टका सैयद हमजाले रजत र डीएभी स्कुलका वैदज्ञराज जोशीले कांस्य पाए । महिलातर्फ एपीएफकी डुवानाले ३७ः६३ सेकेन्डका साथ स्वर्ण, प्रिमियरकी उपास्ती महर्जनले रजत र लिंकनकी टिशा शाक्यले कांस्य पाइन् ।
यसै प्रतियोगिताबाट चीनको ह्वाङजाउमा हुने १४औँ फिना वल्र्ड च्याम्पियनसिपका लागि खेलाडीसमेत छनोट गरिनेछ । डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्स (२५ मिटरको पुलमा) हुने उक्त प्रतियोगिताका लागि समान २–२ पुरुष–महिला गरी चार खेलाडी छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगितामा १५५ खेलाडीले खुलातर्फ १८ तथा उमेर समूहतर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया