मनाङको पर्यटन विकासमा सघाउनेछु : साँसद घले

मनाङको पर्यटन विकासमा सघाउनेछु : साँसद घले


नेपाली कांग्रेस मनाङका नेता तथा संघीय संसदका साँसद कर्म घलेले मनाङको पर्यटन क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मतदाताको घरदैलोमा भेट्न गुह जिल्ला मनाङ पुगेका साँसद घलेले सबैको साथ र सहयोगसहित जिल्लाको सबै विकासमा सहयोग गर्ने बताएका हुन् ।

साँसद घलेले जिल्लाका विभिन्न भागमा छरिएर रहेका मतदातको घरमै पुगेर जनताका पीर मर्का र समस्या बुझिरहेका छन् । समानुपातिकतर्फबाट निर्बाचित साँसद घलेले मनाङ पर्यटनको लागि महत्वपूर्ण क्षेत्र भएकोले पर्यटन उद्योग धन्दाहरुमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘हामीसँग अथाह प्राकृतिक सम्पदाहरु छन् । अन्नपूर्ण पदमार्गमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई प्रकृति देखाएर सम्बृद्ध हुन सकिन्छ ।’ साँसद घलेले भने, ‘त्यसका लागि पूर्बाधारको निर्माण आवश्यक छ । त्यस्ता पूर्बाधार विकासमा नेपाली कांग्रेस खुलेर लागिरहेको छ ।’

लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङ सदरमुकाम चामे र माथिल्लो मनाङसम्मको सडक सञ्जाल, विद्युतीकरण कांग्रेसको सपना भएकोले त्यो आज पूरा भएको साँसद घले बताउँछन् । माथिल्लो मनाङका खाङ्सार, टंकी मनाङ, मनाङ, घ्यारु, ङावल, हुम्दे, पिसाङ, सदरमुकाम चामे, थानचोक, तिमाङ लगायतका गाउँहरुमा पुगेर साँसद घलेले मतदाताहरुलाई भेट गरेका छन् । उनले जिल्लाका सबै गाउँहरुमा पुगेर जनताको पिरमर्का बुझ्ने कार्यक्रम छ ।

साँसद घलेसँगै प्रदेश नम्बर ४ का प्रदेश साँसद चिन्ताबहादुर घले पनि मतदाताको घरघरमा पुगेका छन् । उनले जिल्लाको समस्या संसदमा राखेको र यहाँको जनतालाई विकासको अनुभुति हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘चुनाव जितेपछि आफ्ना मतदातालाई विर्सने धेरै नेताहरुको बानी हुन्छ ।

चुनाव अघि विभिन्न आश्वासन दिन गाउँ गाउँ डुल्ने नेताहरु चुनाव जितेपछि जनतामाझ कमै पुग्छन् ।’ उनले भने, ‘म र मेरो पार्टी नेपाली कांग्रेसका सांसदहरु भने यस्तो छैन् । हामी गाउँ गाउँ डुलेर जनतासंग साक्षात्कार गरीरहेका छन् । उनीहरुका गुनासा सुन्छौं र आफ्नो तर्फबाट हुन सक्ने कुराको प्रतिबद्धता जनाइरहेका छौं ।

घरदैलो कार्यक्रममा जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले, नासौं गाउँपालिकाका अध्यक्ष चन्द्र घले, पर्यटन ब्यवसायी विनोद गुरुङ लगायत नेता तथा कार्यकर्ताहरुका उल्लेख्य सहभागिता रहेको थियो । तस्बिर सौजन्यः विनोद गुरुङ