छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।

कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा.१९च ६१२२ नम्बरको कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ ।

कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कारचालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् । घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

त्यस्तै, विराटनगर महानगरपालिका– ९ स्थित कोसी राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रंगेली नगरपालिका– ७ बस्ने ३० वर्षीया आँसु अग्रवालको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलचालक मृतकका श्रीमान् ३८ वर्षीय मनोज अग्रवाल र उनकी छोरी सात वर्षीया अनिशा अग्रवाल घाइते भएकाले उनीहरूको सप्तकोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।