कञ्चनपुर घटनामा हिरासतमा लिइएका छुटे

कञ्चनपुर घटनामा हिरासतमा लिइएका छुटे


बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । बबिता बमलाई चाहिँ ३० हजार धरौटीमा छाडिएको जानकारी उनले दिए ।

बम दिदीबहिनीलाई उनका बुबाको र दिलीपलाई उनका दाजुको जिम्मा लगाइएको बताइएको छ । बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए ।

बिष्टको डिएनएसमेत म्याच नभएपछि र प्रमाण नभेटिएकाले साधारण तारेखमा छाडिएको कञ्जनपुर प्रहरीको भनाई छ । हत्याको अनुसन्धान भने जारी रहेको बताइएको छ ।

यसै क्रममा राष्ट्रियसभाका सांसदले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय भएको बताए । उनले उपसचिव केसीले निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा दिएको अभिव्यक्तिका सम्बन्धमा गृहमन्त्रीसँग ठोस जवाफ माग गरे ।

सांसद नन्दा चपाईंले सो घटनाका सम्बन्धमा हालसम्म पनि अपराधी पत्ता नलाग्नु गम्भीर हो भन्दै यस्ता घटनाका सम्बन्धमा राज्य गम्भीर भई नियन्त्रणका लागि तीनै तहका सरकारी संयन्त्रलाई परिचालन गर्नुपर्ने आँैल्याइन् ।

सांसद बिना पोखरेलले गत चैतदेखि असार मसान्तसम्म १५० भन्दा बढी महिलामाथि हिंसा र बलात्कारका घटना भएको उल्लेख गर्दै यस्ता अमानवीय घटनालाई राजनीतिक स्वार्थसँग जोड्न नहने औंल्याइन् ।