जोशीले मिश्रलाई फूलमाला लगाइदिँदा उपस्थितहरू भावविह्वल

जोशीले मिश्रलाई फूलमाला लगाइदिँदा उपस्थितहरू भावविह्वल


गत सोमबार सर्वोच्च अदालतमा देखिएको दृश्यले त्यहाँ उपस्थित सबैजसोलाई भावुक बनायो । प्रधानन्यायाधीश नियुक्त ओमप्रकाश मिश्रलाई पद बहाल गराउन वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी फूलमाला लिएर अदालत परिसरमा उपस्थित भएका थिए ।

प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित भएर पनि संसदीय सुुनुवाइ समितिबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको बिदा यसै साताको बिहीबारदेखि सकिँदै थियो । बिदा नसकिएको भए पनि जोशी मिश्रको स्वागतका निम्ति अदालत परिसरमा उपस्थित भएका थिए । उनले मिश्रलाई फूलमाला पहि¥याएर स्वागत गर्दै गर्दा धेरैले ‘नमिठो’ महसुस गरेका थिए ।

विगतमा कामु प्रधानन्यायाधीश भएर रहँदा जोशीले प्रधानन्यायाधीश बस्ने कुर्सी प्रयोग गरेका थिएनन् । आफूले सम्मानपूर्वक रिक्त राखिदिएको कुर्सीमा जोशीले आफूभन्दा कनिष्ट न्यायाधीशलाई स्वागत गरेर नेपालको न्यायिक परम्परामा नयाँ इतिहास रचेका छन् ।

यसअघि यस्तै प्रकारको घटना संयुक्त राज्य अमेरिकामा पनि भएको थियो । सन् २०१६ मा तात्कालिक अमेरिकी राष्ट्रपति बराक ओबामाले सर्वोच्च अदालतका न्यायाधीश मेरिक गेरल्यान्डलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । तर, संसदीय सुुनुवाइको मिति निर्धारण भएर पनि सुनुवाइका निम्ति नबोलाईकन ३ जनवरी २०१७ मा मेरिक गेरल्यान्डको नियुक्ति बदर गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भइसकेपछि प्रधानन्यायाधीशमा नील गोरसचलाई नियुक्त गरियो, त्यसपछि मेरिक गेरल्यान्ड आफ्नो पुरानै हैसियतमा फर्किएका छन् । करिब यस्तै प्रकारको घटना अहिले नेपालमा दोहोरिएको छ ।

यद्यपि दीपकराज जोशी यसअघि सर्वोच्च अदालतको न्यायाधीश हुँदा संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेका व्यक्ति हुन् । जुन संसद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका निम्ति योग्य ठहर गऱ्यो, सोही संसद्ले प्रधानन्यायाधीशमा नियुक्तिका लागि अस्वीकार गरेको हो । यसरी नियुक्ति अस्वीकार गरिनुको मुख्य कारण जोशीको एसएलसीको प्रमाणपत्र शङ्कास्पद रहेको बताइएको छ । तर, न्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली भएको बताउँदै छानबिन गरेर सत्यतथ्य सार्वजनिक गरिदिन सम्बद्ध पक्षसँग माग गर्दै आएका छन् ।

आफू सही हुँदाहुँदै दागी बनेर सेवाबाट बाहिरिन नचाहेको बताउने गरेका दीपक जोशी न्यायाधीशको रूपमा पूरा अवधि (आगामी एक वर्षसम्म) काम गरेर मात्र अवकाश लिने मानसिकतामा रहेको बुझिन्छ । स्वतः दोस्रो वरीयताका न्यायाधीश रहेका जोशी न्यायपरिषद्को सदस्यको हैसियतमा निरन्तर रहनेछन् ।

जोशी यसरी काममा फर्किएपछि तेस्रो वरीयतामा रहेका चोलेन्द्रशमशेर राणा र राणाका विशेष हितैषी मानिएका व्यापारी उपेन्द्र महतो नराम्रोसँग झस्किएका छन् । ओमप्रकाश मिश्रलाई समेत प्रधानन्यायाधीश बन्न नदिन प्रचण्डको आड लिएर सक्रिय रहेका राणा र महतो अब आउँदो पुसमा मिश्रले अवकाश पाएपछि पनि प्रतिकूल अवस्था पैदा हुने आशङ्काका कारण चिन्तित बनेका हुन् ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली भएको प्रमाणित भएमा आगामी पुसमा पुनः जोशीको नामसमेत प्रधानन्यायाधीशका रूपमा सिफारिस हुने हो कि भन्ने चिन्ता पनि राणा र महतोमा रहेको उनका निकटवर्तीहरूले जनाएका छन् । त्यसैले जोशीविरुद्ध अब चोलेन्द्रशमशेर राणा र उपेन्द्र महतोले कस्तो खेल खेल्ने हुन्– न्यायिक जगत्मा जिज्ञाशाको विषय बनेको छ ।