शरणार्थी रित्तिएपछि बेलडाँगी–१ शिविर खाली

शरणार्थी रित्तिएपछि बेलडाँगी–१ शिविर खाली


विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो ।

शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताए । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी– २ र ३ मा घर निर्माण गरी सारिएको पूर्वसचिव सुब्बाले जानकारी दिए । बेलडाँगीमा तीनवटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो ।

भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घरबाहेक अन्य सबै घर भत्काएर सो क्षेत्रबाट शरणार्थी हटाइसकिएको छ । शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा धेरै संख्या २५ हजार रहेको र स्थानन्तरणको समयमा ७७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वासपछि हाल बाँकी रहेका बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी जम्मा ६ हजार १४३ जना मात्र दर्ता भएका शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ । शरणार्थी दर्ता हुनबाट वञ्चित भुटानी शरणार्थीको संख्या एक हजार ७४१ रहेको शरणार्थीले दाबी गर्दै आएका छन् ।