इलाम नगरपालिकाका सबै बालबालिका विद्यालय भर्ना

इलाम नगरपालिकाका सबै बालबालिका विद्यालय भर्ना


इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो ।

नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताए ।

बालबालिका विद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारिसको आधारमा घोषणा गरिएको हो । इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये ३१ वटा आधारभूत (१–५) कक्षा, (६–८) सम्मका १० वटा र माध्यमिक तह कक्षा (९–१०) १३ वटा रहेका छन् । यहाँका सामुदायिक विद्यालयमा पाँच हजार ३१ जना विद्यार्थी छन् ।

विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न अभिभावकलाई जनचेतनामूलक अभिमुखीकरण, अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेमा प्रमुख बस्नेतले जोड दिए । शिक्षा विकास तथा समन्वय इकाइ तथा जिशिअ होमनाथ भण्डारीले इलाम नगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको र कोही पनि बालबालिका विद्यालयबाहिर नरहेकाले अब उनीहरूमा पठन संस्कृतिको विकास र विद्यालयमा टिकाइराख्ने किसिमको शिक्षा दिनु जरुरी रहेको बताए ।