जनवादी शिक्षाको हावा

जनवादी शिक्षाको हावा


bichar– अधिवक्ता जी.बी. आचार्य
०४८ को आमचुनावको समय थियो । बर्दिया जिल्लाको एउटा निर्वाचन क्षेत्रबाट एउटा कम्युनिस्ट पार्टीको झण्डामुनि एकजना ‘धाँसु क्रान्तिकारी नेता’ चुनावका उम्मेदवार थिए । उनैको चुनाव प्रचारमा हिँडेको एक हुल युवा समूहले मुख्य बजारबाट जिल्ला विकास समितिको कार्यालय जाने बाटोको एउटा कल्भर्टमा चुनावी नारा लेख्न सुरु ग-यो । त्यो कल्भर्टको भित्तामा पञ्चायतकालमै लेखिएको होला एउटा धमिलो नारा बाँकी थियो । नारा यस्तो थियो, ‘जनवादी शिक्षा लागू गर ।’ त्यो नारामाथि सबैभन्दा पहिला त्यो क्रान्तिकारी समूहले चुनको सेतो झोल पोत्ने काम ग-यो अनि त्यसमाथि रातो रङले बान्कीपूर्ण अक्षरमा लेख्यो, ‘…चुनाव चिह्नमा छापलगाई क. .. लाई विजयी गराऔँ’ त्यसको शिरानमा एउटा ठूलो चुनाव चिह्न पनि बनायो त्यो समूहले । आज नेपालमा जनवादी शिक्षाको हविगत त्यही भित्तामा विस्मृत भएको नारा जस्तै भएको छ । सबैले बिर्सेका छन् यसलाई ।
जनवादी शिक्षा नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको माग हो । अहिले नेपालमा प्रचलनमा रहेको शिक्षापद्धति बुर्जुवा भएको उनीहरूको ठम्याइ छ । शिक्षा प्रणाली बुर्जुवा भएकै कारणले यसले नेपाली समाजका तमाम समस्या समाधान गर्न नसकेको उनीहरूको निष्कर्ष छ । त्यसैले उनीहरूले हरेकजसो आन्दोलनमा जनवादी शिक्षाको नारा उचालिरहेका छन् । तर के जनवादी शिक्षा कोरा नारा मात्रै हो त ? अथवा यसको पछाडि कुनै छुट्टै आर्थिक, सांस्कृतिक वा दार्शनिक आधार छ, नेपालका सबैजसो कम्युनिस्ट पार्टीहरू यस विषयमा मौन छन् । जनवादी शिक्षाको स्पष्ट खाका नकोरिएकोले नेपालमा जनवादी शिक्षा आज एउटा कोरा आदर्श वा नारामा मात्र सीमित भएको छ, तर पार्टीहरूले यो नारा लगाउन भने छाडेका छैनन् । तर, जनवादी शिक्षा के हो, आज नेपालमा चलिरहेको शिक्षाभन्दा यो के फरक छ, यसका उद्देश्य के–के हृुन्छन् र ती आजको मूलधारको शिक्षाभन्दा के–कति फरक हुन्छन्, यसले के–कस्ता विधिहरूलाई जोड दिन्छ, यसले के–कस्तो जनशक्ति उत्पादनको ध्येय राख्दछ यी र यस्ता कैयन प्रश्नको उत्तर आजसम्म न कुनै पार्टीले दिएका छन् भने न त कुनै नेताजनले नै । त्यसैले आज जनवादी शिक्षाको नारा जति चर्को गरी लागेको छ, नेपाली जनता त्यति नै भ्रममा परेका देखिन्छन् ।
पार्टीअनुसार जनवादी शिक्षाका डम्फूहरू पनि फरक ढंगले बजेका छन् । कसैले यसलाई उत्पादनसँग जोडिएको शिक्षा भनेर व्याख्या गर्ने प्रयत्न गरेको छन्, कोही–कोहीले यसलाई युद्धकार्यसँग जोडिएको शिक्षा भनेर सबैलाई अनिवार्य सैनिक तालिम हुनुपर्ने निष्कर्ष निकालेकाछन् भने समाजमा व्याप्त सबैखाले असमानताको विरोधी शिक्षा, साम्राज्यवादविरोधी शिक्षा आदि कोणबाट व्याख्या गर्ने प्रयत्न पनि भएको छ । अहिलेको शिक्षा कोरा सैद्धान्तिक ज्ञानमा आधारित भएको हुँदा पढिसकेपछि मिहिनेत गर्नुहुँदैन भन्ने भावनाको विकास हुँदै जाँदा जति पढ्यो त्यति सढ्यो भनेझैँ मानिस पढिसकेपछि थप अल्छी, सुविधाभोगी, भ्रष्ट र अवसरवादी हुँदै गइरहेको यथार्थ हाम्रासामु छँदै छ । त्यसको विकल्प जनवादी शिक्षा हुनुपर्छ र जनवादी शिक्षा भनेको सामूहिक जीवन बाँच्नका लागि अभिप्रेरणा दिने, मानवताको पाठ सिकाउने हुनुपर्छ । अहिलेको शिक्षा बजारकेन्द्रित छ, बजारमा मानिसको किनबेच आधुनिक पारामा भइरहेको छ । यो बौद्धिक किनबेचले मानिस–मानिसका बीचमा अस्वस्थ प्रतिस्पर्धा जन्माएको छ । मानिसको आवश्यकतालाई असीमित गरिएको छ । पुँजीवादले यसो किन गरेको छ भने त्यसो नगरी पुँजीको विकास हुन सक्दैन, बजार विस्तार हुँदैन, र बजार विस्तार नभई मुनाफा आर्जन हुँदैन भन्ने पुँजीवादको ठम्याइ छ । जनवादी शिक्षा पुँजीवादी शिक्षाको वैकल्पिक आन्दोलन हो र यसले मानिसलाई मेसिनमा फेर्ने आजको पुँजीवादी शिक्षाको विकल्प दिन सक्नुपर्छ ।
तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धकालमा जनवादी शिक्षा भनेको निजी शिक्षाको समूल नष्ट गरी सामुदायिक शिक्षाको विकास र विस्तार हो भन्ने नीति लिएको देखियो । शिक्षा, स्वास्थ्य, आमसञ्चारजस्ता अति आवश्यक र संवेदनशील विषय राज्यको नियन्त्रण र स्वामित्वमा राखिनुपर्छ भन्ने विचार नराम्रो पनि होइन । तर, के बदलिँदो परिवेशअनुसार मानिसका आवश्यकताअनुसारका सुविधा दिन हाम्रो राज्य सक्षम छ त भनेर राज्यको व्ययभार, उपलब्ध साधनस्रोत र सम्भाव्यताको मूल्याङ्कन र उचित विचार गरिनुपर्छ । यदि स्वयम् राज्यले यो सबै भार व्यहोर्न सक्दैन भने यो नारा अव्यावहारिक भएन त ? अनि अव्यावहारिक नारा बोक्ने कुपमण्डुकतावादीहरू क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् कि सक्दैनन् । अझ डरलाग्दो कुरा त तत्कालीन विद्रोही शक्ति नेकपा (माओवादी) मा देखिएको विचलन पक्ष हो । हिजो जनवादी शिक्षाको नारा लगाउने र सार्वजनिक शिक्षाको वकालत गर्ने क्रान्तिकारी कामरेडहरू आज निजी विद्यालयका मालिक बनेकाछन् कतिपयले भने आफ्ना सन्तानलाई राजधानीका सबैभन्दा राम्रा कहलिएका निजी विद्यालयमा पढाइरहेका छन् । हिजो अर्काले सञ्चालन गरेका विद्यालयमा तुल–बम राख्नेहरू आज आफैँले कसरी निजी विद्यालय सञ्चालन गर्न सकेका ? विचलनको फेहरिस्त यतिमा मात्र सीमित छैन, हिजो निजी शिक्षाको विरोधमा आन्दोलन गर्ने विद्यार्थी नेताहरू आज तिनै निजी शैक्षिक संस्थामा गई चन्दा असुलिरहेकाछन् । जनयुद्धकालमा जनवादी शिक्षाको अभ्यास गर्ने भनेर चलाइएका विद्यालयहरू आज बन्द भइसकेका छन् भने जनवादी शिक्षाको पाठ्यक्रमहरू व्यक्तिको स्तुतिवादमा आधारित भएका र ती समाजमा कामै नलाग्ने भएकाले आममानिसले तिनलाई विश्वास गर्न सक्ने कुरै भएन । भने यसरी लागू गर्नै नसक्ने शिक्षाको बारेमा चर्का नारा लगाएर आममानिसलाई भ्रममा पार्ने कुत्सित काम तत्काल बन्द गरिनुपर्छ ।
नेपाली समाजमा तमाम खालका शोषण, दमन र उत्पीडन कायम छन् । आर्थिक, सांस्कृतिक, राजनीतिक, र लैंगिक हिसाबले हुने यस्ता शोषणहरूमा कतिपय ठाउँमा राज्य दोषी देखिन्छ भने कतिपय ठाउँमा स्वयम् आमजनता पनि जिम्मेवार देखिन्छन् । विज्ञान र प्रविधिको हिसाबले देश धेरै पछाडि छ, यो क्षेत्रको विकासबिना देशले आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक र विकासको हिसाबले प्रगति गर्न सम्भव पनि छैन । समाज एकातिर रुढीग्रस्त छ । जातीय छुवाछुत, बोक्सी प्रथा, लैंगिक हिंसा, बालविवाहजस्ता अनगिन्ती समस्यासँग लड्नका लागि हामीलाई चाहिएको शिक्षा भनेको वैज्ञानिक शिक्षा हो । विज्ञानले यति धेरै प्रगति गरिसक्दा पनि हामीले आजसम्म कुनै आविष्कार गर्न सकेका र मानव सभ्यतालाई गुन लाउन सकेका छैनौँ । शिक्षाको क्षेत्रमा राज्य सम्पूर्ण रूपले असफल भइसकेको छ । एकाध अपवादलाई छाड्ने हो भने राज्यले शिक्षामा लगानी गरेको रकम बालुवामा पानी मात्र बनेको छ । यस्तो अवस्थामा राज्यलाई सफल बनाउन सार्वजनिक शिक्षालाई सबल बनाउन आवश्यक छ । त्यसका लागि सार्वजनिक विद्यालयमा हुने अनियमितता, शिक्षक नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप, शिक्षकहरूले गर्ने झोले राजनीति बन्द गरिनुपर्छ । आज सार्वजनिक विद्यालयमा सबैभन्दा बढी फोहोर राजनीति कसले गरिरहेको छ ? अब यिनीहरूले कस्तो जनवादी शिक्षाको प्रारूप तयार गर्लान् यो विषय सबभन्दा खेदजनक छ ।