केकीद्वारा आफ्नै मुटुमाथि धोका

केकीद्वारा आफ्नै मुटुमाथि धोका


funtimeपारिश्रमिक लिएर सिनेमामा अभिनय गर्दैमा कलाकारको वास्तविक कर्तव्य पूरा हुँदैन । व्यावसायिक सफलताका लागि सिनेमा दर्शकमाझ पुग्नुभन्दा पहिले अपनाइने प्रचारप्रसारलगायतका प्रक्रियामा पनि सम्बन्धित कलाकारले साथ दियो भने त्यस सिनेमाप्रति दर्शकको झुकाव निश्चय नै बढ्न पुग्छ । बलिउडमा सिनेमाको प्रमोसनका निम्ति कलाकारलाई भरपुर उपयोग गर्ने गरिएको यसै होइन ।
यसरी प्रमोसनमा कलाकारले साथ दिएर सिनेमा चल्यो भने त्यसको जश त कलाकारले पनि पाउँछ । तर, यहाँका कैयन कलाकार अर्काका लागि सिनेमा खेल्दिएजस्तो गरेर पारिश्रमिक पाउनासाथ आफैँले काम गरेको चलचित्रलाई लात मारेकै शैलीमा बेवास्ता गर्ने गर्छन् । भोलि सिनेमा असफल हुँदा त्यसको असर आफैँमाथि पर्नेबारे त्यस्ता कलाकारले सोचेको देखिँदैन ।
यस्तै कोटिको कलाकारका रूपमा नायिका केकी अधिकारीले आफूलाई उभ्याउन थालेकी छिन् भन्ने आलोचना यतिबेला कलिवुडमा चल्न थालेको छ । चलचित्रमा अभिनय गर्नुभन्दा पहिले चलचित्रको रिलिजको समयमा यसो गर्छु, उसो गर्छु, प्रचारप्रसारमा पनि पूरै सघाउँछु भनेर ठुल्ठूला गफ दिने केकीका कारण यतिबेला प्रदर्शनमा आइरहेको एउटा चलचित्रले ठूलो धोका पाएको चर्चा छ । केकीले अभिनय गरेको तर प्रमोसनमा साथ नपाएको त्यो चलचित्र हो– मुटु ।
१४ वर्ष अमेरिका बसेर नेपाल आएका चलचित्रकर्मी सूर्य बोहोराले बनाएका हुन् मुटु । तर, नेपाली चलचित्रकर्मीहरूमा देखापरेको असहयोगी भावना देखेर उनी तीनछक्क र निराश बनेका छन् । भन्छन्, ‘पहिले त यस्तो थिएन, तर अहिले के ट्रेन्ड आएछ । कलाकारले आफ्नो पेसा र क्षेत्रप्रति सम्मान गरेको पनि देखिनँ मैले त ।’
चलचित्र मुुटुमा प्रमुख भूमिकामा देखापरेकी केकीले मागेजति पारिश्रमिक दिँदा पनि उनले चलचित्रलाई अन्तिम अवस्थामा आएर साथ दिइनन् । चलचित्रको प्रचारप्रसार कार्य सुरु गर्नुअघिको प्रेस मिटमा समेत ‘कार्यक्रमका लागि मलेसिया जानु छ’ भन्ने बहाना बनाएर केकी अनुपस्थित भएपछि फिल्म युनिट खिन्न भएको थियो । तर, पत्रकार सम्मेलनका दिन केकी मलेसिया नगएर काठमाडौं नै थिइन् । आफूले अभिनय गरेको चलचित्र रिलिज हुँदा केकीबाट चलचित्रप्रति ‘पोजेटिभ रेस्पोन्स’ नपाउँदा खिन्न हुन पुगेको चलचित्र मुटुको युनिट चलचित्रलाई दर्शकहरूले साथ दिँदा भने उत्साहित बन्न पुगेको छ । यता जुन चलचित्रमा काम ग-यो त्यो चलचित्रको युनिटसँग राम्रो व्यवहार नहुने केकीको पुरानो शैली अन्ततः चलचित्र मुटुमा पनि आएर दोहोरिन पुगेको छ । आफूले अभिनय गरेको अनि आफ्नै प्रमुख भूमिका रहेको चलचित्र मुटुको बेवास्ता गर्नु केकीका लागि कतै आफ्नै मुटुलाई धोका दिएसरह हुने त होइन ? कतिपयले यस्तै टिप्पणी गरेका छन् ।

स्टार एफएमको बेग्लै अवार्ड
नेपाली चलचित्र र नेपाली गीत/सङ्गीत क्षेत्रमा अवार्डको लहर नै आएको छ । विभिन्न सङ्घ/संस्थाले मात्र नभई केही समययता आएर सञ्चारमाध्यमहरूले पनि चलचित्र र सङ्गीतसम्बन्धी अवार्ड कार्यक्रम आयोजना गर्दै आएका छन् । यसै क्रममा श्रोतामाझ निकै लोकप्रिय मानिएको स्टार एफएमले पहिलोपटक म्युजिक अवार्डको आयोजना गरेको छ । आज बुधबारकै दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ यो अवार्ड कार्यक्रम सम्पन्न हुन गइरहेको छ ।
यस कार्यक्रमसँगसँगै स्टार एफएमले एउटा नयाँ कामको सुरुवात पनि गरेको छ । सञ्चारकर्ममा लामो समयदेखि लागिपर्दै आएका रेडियोकर्मीलाई सम्मान गर्ने उद्देश्यले स्टारले हरेक वर्ष ‘रेडियोकर्मी अवार्ड’बाट कुनै रेडियोकर्मीलाई सम्मान गर्ने भएको छ । यस वर्षका लागि स्टार एफएमले लामो समयदेखि रेडियो क्षेत्रमा सक्रिय कृष्णा ताम्राकारलाई रेडियोकर्मी सम्मानद्वारा सम्मानित तुल्याउने भएको छ ।

राजेशले लुकेर नगर्ने
चर्चित अभिनेता राजेश हमालको बारेमा गएको साताभर गजबको चर्चा चल्यो । नेस्टा फिल्म अवार्डमा भाग लिन मलेसिया पुगेका हमालले सुटुक्क सिंगापुर पुगेर उतै विवाह गरे भन्ने चर्चाले बजार गरम हुन पुग्यो । प्रेमिका सार्वजनिक गरिसकेको परिवेशमा उक्त हल्लालाई धेरैले पत्याए पनि । तर, हमालले भने यो कुरा पूरै गलत भएको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्, ‘मैले त्यस्तो कुनै गल्ती गरेको छैन जसका कारण मैले लुकेर सुटुक्क बिहे गर्नुपरोस् ।’ राजेशले सिंगापुरमा विवाह गरेको भन्ने खबर केही मिडियामा आउँदा चलचित्र दुलहीमा राजेश र नायिका सुमिना घिमिरेबीचको विवाहको दृश्यलाई प्रकाशित गरिएको थियो । उक्त तस्बिरको पनि हमालले खण्डन गरेका छन् । ‘यो त चलचित्र दुलहीको तस्बिर हो । यही तस्बिरको आधारमा मेरो विवाहको खबरको चर्चा गरिएछ,’ हमालले आश्चर्य व्यक्त गरे । उनले थपे, ‘मेरो विवाहको खबर मैले मिडियाबाट थाहा पाउनुपर्ने ? कस्तो अचम्म । आजसम्म मैले विवाह गरेको छैन र गरेँ भने गुपचुप गर्दिनँ, सबैलाई जानकारी दिएर रामै्रसँग गर्छु नि, किन लुकेर गर्नु ?’