डाक्टर हिँडेपछि बिरामीको बिचल्ली

डाक्टर हिँडेपछि बिरामीको बिचल्ली


उदयपुरको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैपटक अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ ।

दैनिक ५० देखि एक सयको हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

कटारी–८ सिरिसेका रामप्रसाद पौडेल भन्छन्, ‘एक महिना अगाडिसम्म अस्पतालमा आउनेबित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।’

अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउँछिन् ।
यस विषयमा कटारी अस्पतालका प्रमुख डा. गौरव साहले भने, ‘तीनजना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघि नै सरुवा लिएर अन्यत्र गए भने एकजना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको छ ।’

डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा. साह बताउँछन् ।

कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुंगा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो संख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।