जंगली हात्तीको झुण्डबाट धानबाली नष्ट

जंगली हात्तीको झुण्डबाट धानबाली नष्ट


जंगली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ ।

हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । ‘रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,’ स्थानीयवासी नरबहादुर ढुंगेलले भने, ‘ज्यान जोगाउन मुस्किल भएको छ ।’

बर्सेनी जंगली हात्तीले अन्नबाली नोक्सान गर्दै आएको छ । निकुञ्जसँग जोडिएका बस्तीका बासिन्दाले छिमेकी गाउँमा शरण लिनुपरेको छ । तारापुर शिविरमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार बस्दै आएका छन् ।

हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवामा ६ बिघामा लगाएको धानबाली नष्ट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । हात्तीको बथानले गर्जमनीका वासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मीनबहादुर रावल, अर्जुनदेव भट्टलगायतका किसानको धानबाली नष्ट गरेको छ ।

‘हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको छ,’ गर्जमनीका वासुदेव भट्टले भने । निकुञ्जका हात्तीले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ । ‘भित्र्याउने बेला जंगली जनावरले अन्नबाली खाइदिन्छ, हामीले सधैँ बजारबाट अन्न खरिद गर्नुपर्ने बाध्यता छ,’ भट्टले भने । निकुञ्जसँग जोडिएका बस्तीमा हात्तीले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको छ ।