भरतपुरका तीन सय बिजुली चोर कारबाहीमा

भरतपुरका तीन सय बिजुली चोर कारबाहीमा


नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३ सय २ जनालाई कारबाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरूलाई कारबाही गरेको हो ।

कारबाही गरिएका व्यक्तिबाट कार्यालयले रु. २८ लाख २० हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समयसमयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।

तथ्यांकअनुसार अघिल्लो आवमा १२ दशमलव ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताए ।

कार्यालयले सोही अवधिमा समयमै महसुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार एक सयजनाको पुनः जडान गरिएको महतोले बताए । पुनः जडान गर्ने सेवाग्राहीबाट रु. दुई करोड आठ लाख २९ हजार जरिवाना रकम संकलन गरेको छ ।

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । गत आवमा सात हजार नयाँ ग्राहक थपिएका छन् । योसँगै केन्द्रका ग्राहकको संख्या ८० हजार १९९ पुगेका छन् ।