बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो, गत वर्ष देशभर ५३४६ ले गरे आत्महत्या

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो, गत वर्ष देशभर ५३४६ ले गरे आत्महत्या


बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रूपले बढ्दै गएको छ । आर्थिक वर्ष ०७१–७२ मा १६ जनाले आत्महत्या गरेकामा आव ०७२–७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव ०७३–७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालू आवको आजसम्म तीनजनाले आत्महत्या गरेका छन् । बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरू बताउँछन् ।
बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताउँछन् । उनी भन्छन्, ‘घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्याको दर पनि घट्छ । यसको रोकथाम गर्नु समग्र समाजको दायित्व भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुुपर्छ ।’

आत्महत्याका घटना बढ्दै जानुका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताउँछन् । उनी आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने विचार राख्छन् । टिपसका अनुसार देशभर आव ०७४–७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए ।