चौरजहारीमा प्राकृतिक विपत्तिबाट चार करोडको क्षति

चौरजहारीमा प्राकृतिक विपत्तिबाट चार करोडको क्षति


रुकुमको चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भूक्षयबाट तीन करोड ६९ लाख ६३ हजार रुपैयाँबराबरको क्षति भएको छ ।

नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पुऱ्याएको छ । बाढी र पहिरोले घर तथा अन्नबालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी बगेको छ । बाढी र पहिरोका कारण सात सडक तथा ६ वटा विद्यालयमा क्षति पुगेको छ ।

नगरपालिकाभित्रका जहारीखोला, सेतीगारखोला, मानाकोटखोला, दमदमेखोला, कालिगारखोला, नार्जिखोला, खहरेखोला, चिन्नेबगरखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, चैतेखोला तथा साक्चा खोलामा आएको बाढीले क्षति पु¥याएको कार्यदलका संयोजक सुनारले बताए ।

कार्यदलले क्षतिको कारण पत्ता लगाउँदै नगरपालिकालाई सुझावसमेत दिएको छ । कार्यदलले विशेषगरी जथाभावी खनिएका सडकका कारण बर्खायाममा व्यापक क्षति भएको निष्कर्ष निकालेको छ ।

नगरपालिकाले २० परिवारलाई तीन हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराएको छ ।