उधे्रको चोलीले बर्बाद

उधे्रको चोलीले बर्बाद


funtimeचलचित्र लुटमा ‘उधे्रको चोली’ बोलको आइटम गीतमा नृत्य गर्दा अभिनेत्री सुष्माले त्यो गीतबाट यत्रो चर्चा पाइएला भन्ने कल्पना पनि गरेकी थिइनन् । अन्ततः सोचेभन्दा ठूलो नाम कमाइन् उनले । यो त उनका लागि फाइदाको कुरा भयो । तर, क्षणिक फाइदा हेर्दा उनले अहिले भने घाटा सहनु परिरहेको छ ।
अभिनय क्षमता हुँदाहुँदै पनि सुरुमा नै आइटममा देखिँदा सुष्मालाई अन्य चलचित्रहरूबाट पनि यस्तै भूमिकाहरूबाट मात्र अफर आउन थाल्यो । सुरुवात त्यस्तो भएका कारण त्यसपछि गतिलो र भलाद्मी चरित्र पाउन छाडिन् उनले । अन्ततः अहिले सुष्मा कार्की चलचित्र वृत्तमा सुनसानको अवस्थामा रहेकी छिन् ।
केही समययता आएर चलचित्रहरूमा आइटम गीत पनि चल्न छाडेपछि सुष्मा हाल बेरोजगारजस्तै भएकी छिन् । केही चलचित्रमा त उनले नायिकाको भूमिका पनि नपाएकी होइनन्, तर दर्शकहरूले पचाएनन् सुष्मालाई । उनलाई प्रायशः आइटम गर्लको रूपमा हेरेका दर्शकले भलाद्मी नायिकको भूमिकामा पचाउन सकेनन् ।
राम्रो नृत्य गर्न सक्ने अनि अभिनय क्षमता पनि भएकी सुष्मालाई अहिले आएर भने पछुतो हुन थालेको छ । लहडमा चलचित्र ‘लुट’मा ‘आइटम गर्ल’ बनेकी सुष्माको फिल्मी करिअर अन्ततः लुटकै कारण अगाडि बढ्न नसकेको कुरा स्पष्ट भएको छ ।

विपना फर्कंदै
एक समय यस्तो थियो, जुन समय नायिकाको नामले चलचित्र चल्दथे । पोष्टरमा ती नायिकाको तस्बिर राख्दा दर्शकहरू हलतिर तानिन्थे । अझ भनौँ, पूरै चलचित्र बोक्ने क्षमता राख्दथे नायिकाहरू । यस्तै नायिकाहरूमध्येमा पर्थिन् विपना थापा पनि ।
चलचित्र नहेर्ने र त्यो क्षेत्रप्रति चासो नभएकाहरूमाझ पनि परिचित थिइन् विपना । यिनै विपना धेरै भइसक्यो चलचित्र क्षेत्रबाट टाढिएको । वैवाहिक बन्धनमा बाँधिएपछि सिनेमा क्षेत्रलाई चटक्क माया मारेकी उनी अब फेरि नेपाली सिनेमा क्षेत्रमा फर्कन लागेको चर्चाले बजार गर्माएको छ । यतिबेला उनी एक सन्तानकी आमा पनि भइसकेकी छिन् ।
विवाहपश्चात् आफ्नो घरजमतिर ध्यान दिएकी विपनाले सन्तान पनि अब ठूलो भएपछि फेरि सिनेमा क्षेत्रमा फर्कने तयारी गरेको कुरा बुझिएको छ । यतिबेला भारतमा आफ्ना श्रीमान्का साथ बसिरहेकी उनले केही समयअघि आफ्नो माइतीघर नेपाल आउँदा अनौपचारिक रूपमा चलचित्र खेल्ने इच्छा व्यक्त गरेकी हुन् । हुन त वैवाहिक बन्धनमा बाँधिएको केही समयपछि नै विपनालाई चलचित्रकर्मीहरूले चलचित्रको अभिनयलाई निरन्तरता दिन आग्रह गरेका थिए । ‘पारिवारिक जीवन व्यवस्थित गरेपछि म फेरि आउनेछु’ भनेर त्यतिबेला विपनाले भनेकी थिइन् । अन्ततः आफ्नो त्यो वाचालाई पूरा गर्दै नेपाली चलचित्र क्षेत्रमा फेरि फर्कन लागेकी विपनाको यो पुनरागमनलाई सकारात्मक रूपमा हेरिएको छ ।

ऋतुले दर्शकलाई अस्टेर्लिया घुमाउने
जुन नेपाली चलचित्र हे-यो त्यसमध्ये अधिकांश एउटै दृश्य, उस्तै लोकेसन अनि नायक–नायिकाले गीत गाएर नाच्ने र रमाउने स्थान पनि मिल्दो–जुल्दो । तर, अब नेपाली चलचित्रपे्रमी दर्शकहरूले अधिकांश नेपाली चलचित्रमा देख्दै आएका दृश्यहरूभन्दा निकै पर सात समुद्रपारका दृश्यहरू अब नेपाली चलचित्रमा देख्न पाउने भएका छन् ।
दर्शकहरूको आँखालाई नै आनन्द दिने दृश्यहरू कैद भएको चलचित्र हो– ऋतु । यो चलचित्रको सम्पूर्ण छायाङ्कन अस्टेर्लियामा गरिएको छ । अन्य फिल्मवालाहरूले जस्तो केही दृश्य र एउटा गीत विदेशमा खिचेर विदेशमा छायाङ्कन गरिएको चलचित्र भनेर ऋतुले दर्शकहरूलाई झुक्याउने काम गरेको छैन । यो चलचित्रको करिब ९५ प्रतिशत छायाङ्कन अस्टेर्लियामा गरिएको हो ।
नेपालबाट तीन कलाकार राजबल्लभ कोइराला, रिमा विश्वकर्मा र मलिना जोशीलाई अस्टेर्लिया बोलाएर चलचित्रको छायाङ्कन गर्नु भनेको सजिलो काम थिएन । तर, त्यो गाह्रो कामलाई निर्माता अपिल विष्टले सफल बनाए । यो चलचित्रलाई अस्टेर्लियामा नै बसोबास गर्ने नेपाली मनोज अधिकारीले निर्देशन गरेका हुन् । पर्दाभरि अस्टेर्लिया देखिने ऋतु फागुन २३ गते रिलिज हुँदै छ ।