नवप्रवेशीका खुल्ला प्रेम !
कुनै बेला यस्तोसम्म थियो कि नेपाली सिनेमाका हिरोइनहरूको नाम कुनै पुरुषसँग जोडियो भने त्यसको व्यापक चर्चा हुन्थ्यो । चलचित्र वृत्तमा जिब्रो टोकिन्थ्यो अनि ती नायिकालाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउँथ्यो । तर, अहिले समयले कोल्टे फेरेको छ । कुनै पुरुषसँग हिँड्न, खान वा सम्बन्ध गाँसेको दृश्य देखे तापनि कसैले अब नजर उतातिर नलगाउने भएका छन् । यो त भयो एउटा पाटो, अर्को पाटो के पनि छ भने पहिले कुनै पुरुषसँग नाम जोडिए मिडियाविरुद्ध कुर्लने अभिनेत्रीहरू अहिले क्रमश: चलचित्र दुनियाँबाट अलग्गिए तापनि नवप्रवेशी अभिनेत्रीहरूलाई पनि यो कुराले खासै असर र प्रभाव पार्न छाडेको छ ।
नवप्रवेशीहरू लुकेर अरूले नदेख्ने गरी होइन कि सकभर सबैले देखून् भन्ने उद्देश्यले नै केटा साथीहरूको साथमा हिँड्न थालेका छन् । रेस्टुरेन्टतिर मात्र होइन कि अब त सयौँ चलचित्रकर्मी एकसाथ जमघट हुने स्थानमा एकसाथ उपस्थित हुन थालेका छन् । यहाँसम्म त ठीकै होला, तर ती नवप्रवेशी अभिनेत्रीहरू त ‘ऊ मेरो ब्यायपे्रmन्ड’ भनेर परिचय गराउन रत्तिभर धक मान्दैनन् । समयको गतिसँगै ‘एडभान्स’ हुन थालेका नेपाली अभिनेत्रीहरूको यस्तो क्रियाकलापलाई के भन्ने, उनीहरू नै जानुन् । यो साता नेपाल सुन्दरीबाट अभिनेत्री बनेकी मलिना जोशी र रिमा विश्वकर्मालाई पनि यस्तै अवस्थामा भेटियो ।
चलचित्र ऋतुको विशेष प्रदर्शनीमा आएका यी दुई अभिनेत्री मलिना र रिमाको त्यस दिनको व्यस्तता र ऊर्जा अलि बेग्लै देखिन्थ्यो । हुन त चलचित्र ऋतुमा यी दुवै नायिका पनि हुन् । आफूले अभिनय गरेको चलचित्रको प्रिमियर शोमा आएका यी अभिनेत्रीको साथमा ब्वायपे्रmन्डको पनि जोडदार उपस्थिति थियो । आफ्नो चलचित्र देखाउन दुवैले आफ्ना ब्वायपे्रmन्ड ल्याएपछि त्यो भीडमा चलचित्रकर्मीबीच गाइँगुइँ पनि चल्न थाल्यो, ‘अब त खुलेआम ब्वायपे्रmन्ड लिएर हिँड्न थाले हिरोइनहरू ।’ त्यही भीडमा अर्को चर्चा चल्यो, ‘प्यार किया तो डरना क्या ।’
हुन त त्यहाँ चलचित्र ऋतुको प्रिमियर शो थियो, तर चर्चा भने मलिना जोशी र रिमा विश्वकर्माको बढ्यो । आफूले पहिलोपटक अभिनय गरेको चलचित्र देखाउन मलिनाले आफ्नो ब्वायपे्रmन्डलाई ल्याएकी थिइन् भने रिमाले आफू हिरोइन भएको चलचित्र देखाउन ब्वायपे्रmन्डलाई निम्त्याएकी थिइन् । हेर्दाहेर्दै यसरी फरासिला र पारदर्शी बनेका नेपाली हिरोइनहरू अब लुकेर होइन खुलेरै मायापे्रम गर्न थालेका छन् । धन्य कलिवुड !
कवि इन्दुप्रकाशको ‘तस्बिर’ लोकार्पण
होटल याक एन्ड यतीस्थित लालदरबारमा भएको सुरमाण्डुको तेस्रो शृङ्खलामा पण्डित इन्दुप्रकाश त्रिवेदीको नेपाली गजलसङ्ग्रह ‘तस्बिर’ लोकार्पण गरिएको छ । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र माईपोखरी म्युजिक एन्ड मिडिया प्रालिले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा गजलसङ्ग्रह ‘तस्बिर’ लोकार्पणका लागि नेपालका लागि भारतीय राजदूत रणजित राय प्रमुख अतिथि तथा नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेष अतिथि हुनुहुन्थ्यो ।
हिन्दुस्तानी शास्त्रीय सङ्गीतका पारङ्गत पण्डित इन्दुप्रकाश उस्ताद नसिर अहमद खाँ, उस्ताद इक्वाल अहमद खाँ र उस्ताद सिद्धिक अहमद खाँका चेला हुनुहुन्छ । उहाँ ‘मुर्दावाद घराना’सँग संलग्न हुनुहुन्छ ।
भारतका थुप्रै गजल र भजनका सर्जक इन्दुप्रकाशले आफ्ना प्रशंसकहरूमाझ पहिलो नेपाली गजलसङ्ग्रह लोकार्पण गर्नुभयो । भारतीय राजदूत रणजित रायले इन्दुप्रकाशलाई बधाई दिनुको साथै नेपाल र भारतले शताब्दीयौँदेखि कला र सङ्गीतका सीपहरू आदान–प्रदान गर्दै आएको स्मरण गर्नुभयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गायकलाई बधाई दिनुको साथै सफलताको कामना गर्नुभयो ।
गजलसङ्ग्रहमा ‘सपना बन’ शीर्षकमा राष्ट्रकवि घिमिरेको पनि शब्द रहेको छ । मनमा दियो, नयनमा आँसु, धुवाँ बनाइदियौ, आधारातमा, एक्लिएर, तिम्रो मनका, नबोलेरै धेरै कुरा र किन तरेका आँखा ‘तस्बिर’का अन्य शीर्षकहरू हुन् ।
गजलसङ्ग्रह ‘तस्बिर’मा इन्दुप्रकाशसँगै गायिका उर्मिला महतको समेत स्वर रहेको छ । कार्यक्रमको अन्तमा प्रत्यक्ष प्रस्तुतिमार्फत इन्दुप्रकाश र उर्मिला महतले श्रोतालाई मनोरञ्जन प्रदान गर्नुभयो ।
सिनेमाण्डुमा ‘झोला’ हेरेर दर्शक मुग्ध
साहित्यकर्मी कृष्ण धरावासीको झोला नामक उपन्यासमा आधारित बहुप्रशंसित चलचित्र ‘झोला’ सिनेमाण्डुको १२औँ शृङ्खलामा प्रदर्शन गरिएको छ । भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको आयोजनामा नयाँसडकस्थित नेपाल वायुसेवा भवनमा रहेको नेपाल–भारत पुस्तकालयमा साप्ताहिक रूपमा सिनेमाण्डु, पोयमाण्डु, भ्वाइसेस र कन्भर्सेसन्स नामका कला र सिर्जनासम्बन्धी कार्यक्रम नियमित आयोजना हुँदै आएको छ । यादव भट्टराईद्वारा निर्देशित झोला गत बुधबार प्रदर्शन गरिएको हो । सो अवसरमा लेखक धरावासी, निर्देशक भट्टराई, निर्माताद्वय राज तिमल्सिना र गोपाल थापाका साथै कलाकार गरिमा पन्त, दीपक क्षेत्री, लक्ष्मी गिरी तथा सहायक निर्देशक किरण अर्याल पनि उपस्थित भई दर्शकसँग सिनेमाबारे अन्तरक्रिया गरेका थिए ।
नेपालमा कुनै बेला प्रचलनमा रहेको सती प्रथाको विकृतिबारे उजागर गरिएको ‘झोला’ सिनेमा निर्माणमा प्रचलित धारभन्दा फरक अर्थात् सत्य घटनामा आधारित भएर पनि दर्शनीय र सन्देशमूलक रहेकोमा उपस्थित दर्शकले खुलेर प्रशंसा गरे । निर्देशक भट्टराईले आफ्नो यो पहिलो प्रयास भएको उल्लेख गर्दै यस्तो कथामा चलचित्र नबनाउन सल्लाह दिने साथीभाइको सुझाव अटेर गर्दै जोखिम मोलेर नयाँ प्रयोग गरेको बताए भने कलाकार लक्ष्मी गिरीले पुरानो सामाजिक विषयमा आधारित कथामा अभिनय गरेर आजका दर्शकको मन जित्ने काम गर्न कठिन रहेको र उक्त चुनौतीमा आफूहरूलाई सफलता मिलेको बताइन् । यस्तै, नायिका गरिमा पन्तले झोलाजस्तो चलचित्रको एउटा हिस्सा बन्न पाएर आफूलाई गौरवानुभूति भएको खुलासा गरिन् ।
वसन्तको ‘काव्ययात्रा’ सम्पन्न
कवि तथा गीतकार वसन्त चौधरीको ‘विश्व काव्य यात्रा’ गत ८ मार्चका दिन अमेरिकाको कोलोराडोस्थित डेनवर सहरको ब्रुम्फिल्ड कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित सो कार्यक्रम च्याप्टरकी कोषाध्यक्ष तारा अधिकारीको उद्घोषणबाट सुरु गरिएको थियो । काव्ययात्रा समापन कार्यक्रममा च्याप्टरका उपाध्यक्ष राजु सिटौलाले स्वागत मन्तव्य राखे भने कार्यक्रमको प्रथम चरणमा कवि वसन्त चौधरीको परिचयात्मक वृतचित्र प्रस्तुत गरिएको थियो । दोस्रो चरणमा कवि वसन्तले एकल कविता वाचन प्रस्तुत गरेका थिए । सोही क्रममा उनको कृति ‘मेरा कविताहरू’को विमोचन वरिष्ठ साहित्यकार, कथाकार÷गजलकार मनु ब्राजाकीले गरेका थिए ।
च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले कवि चौधरीलाई सम्मानपत्र प्रदान गर्दै खादा ओढाएकी थिइन् भने कोलोराडोस्थित अन्य सङ्घ–संस्थाका प्रतिनिधिहरूले पनि चौधरीलाई खादा ओढाएर सम्मान गरेका थिए । त्यस क्रममा कवि वसन्त चौधरीले अनेसास कोलोराडो च्याप्टरको नाममा अध्यक्ष प्रभालाई मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायक मनोज तुलाधर र सुरेश प्रधानले गीतकार चौधरीको राष्ट्रप्रेमले ओतप्रोत गीत ‘शान्ति लुकाऊँ कहाँ…’ प्रस्तुत गरेर सबैलाई मोहित पारे ।
चलचित्र काट्ने तारा
कुन कलाकारले बोल्दा कुन कलाकारको दृश्य राख्ने ? अनि कस्तो भावको दृश्य राख्दा कथामा मर्म आउँछ वा ज्यान भरिन्छ ? लामा दृश्यहरू हेर्दा दर्शकलाई बोर पनि लाग्न सक्छ, तर त्यस्ता दृश्यहरू छाँटकाँट गरेर सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्राविधिक हुन् सम्पादक । भनिन्छ– चलचित्र राम्रो बनाउन सम्पादकको पचास प्रतिशत हात रहन्छ । त्यसमाथि केही समययता आएर चलचित्रमा सम्पादकहरूको महत्व बढ्न थालेको छ ।
नेपाली चलचित्रका सम्पादकहरूको कुरा गर्दा तारा थापा ‘किम्भे’को नाम पनि अग्रपङ्क्तिमा आउने गर्छ । उनको वास्तविक नाम ताराबहादुर थापा हो भने सिनेमा क्षेत्रमा आएपछि उनलाई तारा थापा ‘किम्भे’को नामले चिनिने गरिन्छ । उनले ०५७ सालदेखि चलचित्रको सम्पादन सुरु गरेका हुन् । तुलसी घिमिरेको चलचित्र दर्पण छायामा सहायक सम्पादकको रूपमा काम गरेपछि उनले आफ्नो क्रियाशीलता सहायककै रूपमा दुई दर्जन चलचित्रमा प्रस्तुत गरे । ताराले एकल रूपमा भने यादव खरेलको चलचित्र हत्तेरीबाट काम सुरु गरेका हुन् । अहिलेसम्म दुई सयभन्दा बढी चलचित्रको सम्पादन गरिसकेका तारा भन्छन्, ‘म आफूलाई भाग्यमानी नै ठान्छु कि पहिलो सहायक तुलसी घिमिरे र पहिलो पूरा यादव खरेलजस्ता वरिष्ठ निर्देशकको चलचित्रको सम्पादन गर्न पाएँ । यस कारणले पनि यो क्षेत्रमा स्थापित हुन मलाई गाह्रो भएन ।’
तारा चलचित्रको सम्पादन गर्दा आफू कथालाई विशेष ध्यान दिने कुरा बताउँछन् । ‘कथाको मर्म र ज्यान नमर्ने गरी सम्पादन गर्नुपर्छ । दृश्यहरू काट्नु मात्र सम्पादन होइन कि त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्नु सम्पादन हो । हेर्दाहेर्दै दृश्यहरू काँटछाँट भएको र सकिएको दर्शकहरूले पत्तै नपाउन् भन्ने हेक्का सम्पादकले राख्न सक्नुपर्छ,’ ताराले भने ।
तनहुँ जिल्लाको पर्यटकीय स्थान बन्दीपुरमा जन्मिएका तारा थापाले लगातार दुईपटक नेपाल चलचित्र प्राविधिक सङ्घले आयोजना गरेको फिल्म अवार्डमा उत्कृष्ट सम्पादनको अवार्डसमेत जितिसकेका छन् ।
नारी दिवसमा ‘कोक गोष्ठी’
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोक (कोठे कवि) गोष्ठीले विशेष कविता वाचन कार्यक्रम कवि रमेश खकुरेलको निवासमा गत शनिबार सम्पन्न ग-यो । कोक गोष्ठीले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिनिधि कविता भन्दै विगत तीन वर्षदेखि पुस्तक प्रकाशन गर्दा छन्दका कवि र छन्दमा लेख्ने कविहरूलाई पक्षपातपूर्ण तरिकाले समावेश नगरिएकामा प्रतिष्ठानविरुद्ध खेद प्रस्तावसमेत पारित ग-यो । साथै नेपाली भाषाको हिज्जे बिगार्ने काम गरेकोमा कवि गाउँले बलदेव अधिकारीले आपूm सरकार वा त्यस्तो गर्ने–गराउनेविरुद्ध कडा रूपमा सङ्घर्षमा उत्रने चेतावनी दिए । कवि गाउँलेले गिरिजाबाबुका पालादेखि नै नेपाली भाषालाई बिगार्ने काम गरिएकाले अब पनि सुधार नगरे नैतिक र भौतिक जुनसुकै कारबाहीमा उत्रन सक्ने चेतावनी दिए । कार्यक्रम रमेश खकुरेलको अध्यक्षता तथा कमलमणि दीक्षितको प्रमुख आतिथ्य र बूँद रानाको आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ कवि भुवनहरि सिग्देल, प्रह्लाद पोखरेल, बुनु लामिछाने, सीताराम अधिकारी, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, आर.डी. प्रभास चटौत, बूँद राना, चन्द्रमणि प्रसाईं, पीताम्बर शर्मा दाहाल, रामबहादुर पहाडी, नवराज लम्साल, सुरेश सुवेदी, बाबुराम पौडेल, कोषराज न्यौपाने, हेमचन्द्र नेपाल, अच्युतरमण अधिकारी, प्रकाश चापागाईं, उर्मिला लामिछाने, प्रभा भट्टराई, चन्द्रवदना घिमिरे, गौरीनाथ ढकाल, प्रदीपनाथ प्याकुरेल, शारदा पराजुली, मेनका पोखरेल, जगदीश्वर पोखरेल, सुमन थापा, शर्मिला गिरी, ब्रह्मप्रिय प्रेमस्वरूप र भूपू पाण्डेलगायत साढे दुई दर्जन कविहरूले कविता, गीत तथा गजल वाचन गरेका थिए । स्मरणीय छ कि कोक गोष्ठीमा छन्दमा लेखिएकाबाहेक गद्य कविता सुनाउन वर्जित छ । कोक गोष्ठीमा सुनाइएका कवितामा आयोजकले भूलसुधार गरिदिने चलन छ । यस गोष्ठीको उद्देश्य राम्रा र असल कवि बनाउनु रहेको छ । कोकको ६७औँ कार्यक्रममा सरला खकुरेलले चिया र नास्ताको प्रबन्ध मिलाउनुभएको थियो । कार्यक्रममा धेरै कविको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया