पाठक

पाठक


pathakmanchबद्री परेछन् मैनालीकै शरण
आफू सभासद् हुँदा पीए बनाएका बद्री न्यौपानेलाई अध्यक्षका रूपमा स्वीकार गरी पूर्वसभासद् तथा चुरेभावर पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले पार्टी एकीकरण गर्ने भएछन् । कुनैबेला पीएका रूपमा रहेका बद्रीले पार्टीको नाम बेचेर गलत काम गरेको भन्दै मैनालीले बद्रीलाई पीएको जिम्मेवारीबाट बिदा गरेका थिए । त्यही झोंकमा पार्टीभित्रका असन्तुष्टहरूलाई उचालेर बद्रीले केशव मैनालीलाई नै सभासद्बाट च्युत गरी आफैँ सो पदमा आसिन भएका थिए । यति मात्र नभई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बद्री न्यौपाने महिला बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत पड्काउन भ्याए भने मैनाली हेरेकोहे¥यै परेका थिए । यसरी आफूलाई अपमानित गर्दै सक्रिय राजनीतिबाटै वितृष्णा गराउने बद्रीसँग पुन: सहकार्यका लागि हात मिलाएर चुरेभावर आन्दोलनका ‘सर्वोच्च नेता’ मैनालीले भावर क्षेत्रमा नयाँ तरङ्ग पैदा गरिदिएका छन् । यसरी पूर्वमन्त्री बद्री न्यौपानेको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र पूर्वसभासद् केशव मैनालीले नेतृत्व गरेको चुरेभावर राष्ट्रिय पार्टीबीच एकीकरण भएको बुझिन्छ ।
तर, दुई पार्टीका वार्ताटोलीबीच पटक–पटक वार्ता भएपछि एकीकरणलाई अन्तिम रूप दिइएको भनिए पनि खासगरी सर्लाहीकै सरोकारवालाहरूलाई भने यसबारे पत्तै छैन । जे होस्, वार्ता टोलीबीच केशव मैनालीलाई सर्वोच्च नेता बनाउने र पार्टीको अध्यक्ष बद्री न्यौपाने नै रहने गरी सहमति भएको रहेछ, ठीकै लाग्यो । एकीकृत पार्टीले चुरेभावर आन्दोलनले उठाएको जातीयता, नागरिकता वितरण, चुरेभावर प्रदेशको एजेन्डासहित आन्दोलनको तयारी गर्ने कार्यक्रम पनि तय गरेको रहेछ । हेरौँ, बदलिएको परिवेशमा चुरेले कत्तिको जुरो हल्लाउने हो ?!
– हेमन्त पोखरेल, सप्तरी

व्यवसायी मन्त्रीको पोल्टामा श्रम मन्त्रालय
राजनीतिक दलहरूको नेतृत्वमा नयाँ सरकार गठन भई नयाँ श्रम तथा रोजगारमन्त्रीको आगमनसँगै वैदेशिक रोजगार विभागमा फाइल गायब बनाउने र संस्थागत घुसमा वृद्धि भएको पाइएको छ । विगतमा पनि म्यानपावर कम्पनीले प्रतिबद्धतापत्र फाइलमा राखेपछि नक्कली भिजा र डिमान्ड भए पनि स्वीकृति दिने प्रचलन थियो । तत्कालीन महानिर्देशक पूर्णचन्द्र भट्टराईले त्यसलाई कडाइ गर्दै रोक्ने प्रयास गरे पनि पूर्ण रूपमा रोकिएको थिएन । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. २०५, पूर्वस्वीकृति एल.टी.नं. ६८११९, फाइभ स्टार इन्टरनेसनल ओभरसिज प्रा.लि.को फाइल गायव बनाएर मलेसियाको भिजा क्लिक गर्ने डम्बरबहादुर विकले बार्गेनिङ गरिरहेका छन् भने विक संसद्को सार्वजनिक लेखा समितिबाट श्रम तथा रोजगार मन्त्रालयको ईपीएस शाखा हुँदै वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा पुगेका कर्मचारी हुन् । उनले अन्तिम स्वीकृति शाखामा भिजा क्लिक गर्ने जिम्मा पाएका छन् । चित्तबुभ्mदो घुस दिनेको काम तत्काल गर्ने र घुस नदिनेको काम हप्तौँ दिनसम्म अड्काउने गरेका छन् । भन्ने नै हो भने उनको संसद्को शक्ति वैदेशिक रोजगार विभागमा देखिएको छ ।
वर्तमान सरकारका श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङ स्वयम् हिमाल म्यानपावरसँग सम्बद्ध व्यक्ति हुन् । उनको म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले ज्यान गुमाउनुपरेको छ । धेरै विदेशमा जेल परेका छन् । कैयन नेपाली महिला दिदी–बहिनीलाई वेश्यावृत्ति गर्न बाध्य पारिएको छ, संसद्ले त्यसको जानकारी जनतालाई एकदिन दिनैपर्ने हुन्छ । मन्त्री गुरुङ पाल्तेन गुरुङका भाइ हुन् ।
त्यसैगरी प्रशासनका निर्देशक बद्रीबहादुर कार्कीले कारबाही गर्ने म्यानपावरको लिस्ट बनाउँदै रकम असुल्दै गरेको विभाग स्रोतले जानकारी दिएको छ । उनी शिक्षा मन्त्रालयबाट वैदेशिक रोजगार विभागमा आएर आम्दानी हुने शाखामा मात्रै बहाल रहेका छन् । स्रोतका अनुसार कार्की र विकलगायत विभागका कर्मचारीहरूले गरिबका छोराछोरी बेच्ने अनुमति दिएबापत कमाएको घुस थन्क्याउन घरजग्गा खोज्दै हिँडेका छन् ।
– म्यानपावर व्यवसाय त्यागेका एक पीडित