पाठक मञ्च

पाठक मञ्च


pathakmanchअब ‘नेपाल’ होइन ‘नेता’ बन्द
जुनसुकै विषयमा पनि सरकारको विरोध गर्नुपर्दा नेपाल बन्द, उपत्यका बन्दजस्ता ‘बन्द’को आयोजना गर्ने प्रवृत्तिबाट जनता वाक्कदिक्क र आजित बन्न पुगेका छन् । देशमा पछिल्लो समय बढ्दै गरेको हिंसात्मक आन्दोलनको विरोधमा युवाहरुले अब सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि ‘मोटिभेसनल युथ मुभमेन्ट’ चलाउनु पर्ने भएको छ । देशमा पछिल्लो समय बढ्दै गएको हिंसात्मक आन्दोलनलाई सदाका लागि त्याग्दै नयाँ सन्देश दिनका लागि पनि मोटिभेसनल मुभमेन्ट चलाउनु पर्ने अवस्था छ । आन्दोलनका नाममा हुने विभिन्न खाले हिंसाले यदि कसैलाई क्षति पुगेको छ भने नेपाली जनतालाई नै पुगेको छ । यस्ताखाले राजनीतिक संरक्षणमा हुने र गरिने सबैखाले आन्दोलनलाई सदाका लागि अन्त्य गर्नुपर्छ । विभिन्न पार्टीका विद्यार्थी भातृ संगठनका नेताहरूले पनि दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय हित र नेपाली जनताको भलाईका लागि कटिबद्ध हुनु ढिलो भइसकेको छ ।
– सन्तोष अधिकारी, (संयोजक, युथ मुभमेन्ट)

बालकको जीवन–रक्षाका लागि आग्रह
आर्थिक अभावको कारण ब्रेनट्युमरको अप्रेसन गर्न नसक्दा जीवन–मरणको दोसाँधमा रहेका पर्वतका एक बालकको जीवन–रक्षाका लागि उनका आफन्तले सबैसँग याचना गरेका छन् । जिल्लाको भँगारा गाविस–६ रोहोटेका ५ वर्षीय सुसन नेपाली गत फागुन १९ गते घरमै खेलिरहेको अवस्थामा एक्कासि बेहोस भएपछि उपचारका लागि पर्वत जिल्ला अस्पताल पु-याइएको थियो । पर्वत अस्पतालमा उपचार गर्न नसकिने बताएपछि पश्चिमाञ्चल शिक्षण अस्पताल पोखरा लगिएको र उक्त अस्पतालमा सम्बन्धित डाक्टर नै नरहेको भन्दै मनिपाल शिक्षण अस्पतालमा रिफर गरिएको थियो । मणिपालमा सिटिस्क्यान गरेपछि ब्रेनट्युमर भएको भन्दै शिक्षण अस्पताल काठमाडौंमा रिफर गरेको बालकका ठूलोबुबा कुमार नेपालीले बताए ।
‘शिक्षण अस्पतालले बालकको अप्रेसन गर्न ६ लाख जम्मा गर्न भनेपछि बालकलाई घर फर्काउनुको विकल्प भएन,’ नेपालीले भने, ‘५० हजार मात्रले उपचार हुने भए पनि खर्च गर्ने हैसियत नभएका हामीले ६ लाख कसरी जुटाउने ?’ चिकित्सकको भनाइमा बालकको अप्रेसन जतिसक्दो छिटो गर्नुपर्ने अवस्था छ ।
बालकका बाबु सीताराम नेपाली गाउँमै मजदुरी गर्दछन् र उनका श्रीमतीसहित एक सात वर्षीया छोरी र पाँच वर्षीय छोरा (सुसन) मात्र छन् । ‘छोरा जन्मिएको दुई महिनापछि जन्डिस भयो,’ बालकका बाबु सीताराम भन्छन्, ‘दुई वर्षपछि फेरि निमोनिया हुँदा उपचार गराउँदाकै ऋण अझै तिर्न सकिएको छैन, अब ६ लाख रुपैयाँ कसरी आउँछ ?’ सीतारामले रुँदै आफन्त तथा नातेदारहरूसमक्ष हारगुहार गर्न जाँदा २–४ हजार मात्रै आर्थिक सहयोग उठेकोले छोरा बचाउन नसकिने अवस्था निम्तिएकोमा अत्यास लागेको बताए ।
‘सुसन बचाउ’ अभियानका संयोजकसमेत रहेका कुमार नेपालीले विश्व विकास बैंक, कुश्मा शाखाको खाता नं ००७०१२०००४६१९६०००००१ मा स्वेच्छिक रकम जम्मा गरी बालकको जीवन बचाइदिन सबैलाई अनुरोध गरेका छन् । कुमार नेपालीको सम्पर्क नं. ९८४७६३१६४४८ हो ।
– भवानी बराल, पर्वत

बालबालिकाको पीडामा बोल्ने को ?
त्यसो त बालबालिकाको स्याहारसुसार गर्ने भन्दै ‘ह्याप्पी होम’ नामक संस्था सञ्चालन गरेर गलत क्रियाकलाप गरेको अभियोग लागेका आरोपी यतिबेला कानुनबमोजिम सजाय भोग्दै छन्, तर यस्ता गलत सोचबाट प्रेरित व्यक्तिप्रतिको आक्रोश भने सरोकारवालाबीच कायम नै देखिएको छ । यसैको फलस्वरूप सानो पाइला नामक बाल उद्धार संस्थाले ह्याप्पी होम बालगृह सञ्चालक समितिका अध्यक्ष विश्वप्रताप आचार्यले बालबालिकालाई गरेको दुव्र्यवहार र अमानवीय क्रियाकलापको भत्र्सना गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले बालबालिका उद्धार गर्ने नाममा भएका ज्यादती, अमानवीय व्यवहार र बेचबिखनबारे जानकारी गराउँदै पछिल्लो समय ह्याप्पी होम बालगृहमा भएको अनियमितता र बालबन्दी गरेबापत यसका सञ्चालक कानुनी कठघरामा हुँदासमेत त्यहाँ विभिन्न प्रलोभनमा राखिएका बालबालिकाहरूको उद्धार गर्न नदिएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले बालअधिकारको संरक्षण गर्न बालबालिकाविरुद्ध हुने दुव्र्यवहारको अन्त्यका लागि वर्तमान कानुन तथा नियमावलीहरूको पालना तथा कार्यान्वयनका लागि ‘सानो पाइला’ले सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिँदै विगत केही महिनादेखि सानो पाइलाले केन्द्रीय बालकल्याण समिति र नेपाल प्रहरीसँग सहकार्य गर्दै बालगृहमा भएका दुव्र्यवहार, बेचबिखनको छानबिन गरेको दाबी पनि गरे ।
बालगृहमा रहेका बालबालिकालाई गम्भीर प्रकारका रोग लाग्दासमेत बालगृह सञ्चालकहरूले यथोचित ध्यान नदिई उनीहरूको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाउँदै यस्ता बालगृहलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । हाल विभिन्न बालगृहमा रहेका ११ हजार बालबालिकाको उद्धारका लागि ध्यानाकर्षण तथा न्यायको खाँचो रहेको ‘सानो पाइला’ले जनाएको छ । बालबालिकालाई आफ्नो परिवारमा हुर्कने तथा विद्यालय जाने स्वतन्त्र वातावरण सिर्जना गर्नका लागि समेत सो संस्थाले अपिल गरेको छ ।
– अरुण श्रेष्ठ