कालोबजारीया आरोपित व्यक्ति महँगी नियन्त्रण गर्ने अन्तरक्रियाका अतिथि !

कालोबजारीया आरोपित व्यक्ति महँगी नियन्त्रण गर्ने अन्तरक्रियाका अतिथि !


नजिकै आएको चाडपर्वको मुखमा उपभोक्ताहरु अत्याधिक महँगीको मारमा परेको र व्यापारीहरुले बजारमा एकाधिकार जमाउन खोजेको प्रसङ्गले आम उपभोक्तावादीहरु मूल्यबृद्धिको मारमा परेको सन्दर्भलाई ध्यान दिँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालमा ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा संसदीय उद्योग वाणिज्य उपभोक्ता संरक्षण तथा श्रम समितिको सभापति विमल श्रीवास्तवले आफू भर्खरै समितिको सभापति भएको र जिम्मेवारी मिलेलगत्तै समस्यै समस्या लिएर सबैजना आफूसामू आएको प्रसङ्ग उल्लेख गर्दै के गर्ने भन्ने विषयमा आफू अन्योलमा परेको खुलासा गरे । उनले व्यापारीहरुको एकाधिकार चल्न नहुने तर्क गर्दै यसले आम उपभोक्ताको अधिकार कुण्ठित गर्ने बताए ।

सभापति श्रीवास्तवले बजारमा मूल्यहरु मनपरी भएकाले काला व्यापारीहरुलाई नियन्त्रणमा लिएर आफ्नो कार्यकाल ऐतिहासिक बनाउन प्रमुख जिल्ला अधिकारी र वाणिज्य विभागका महानिर्देशकलाई सुझाव दिए । उनले भने, ‘कालाव्यापारीको पक्षमा जुनसुकै निकायबाट दबाब आए पनि आफ्नो दायित्व पूरा गर्नुहोस्, तपाईहरुको नाम स्वर्णिम अक्षरले लेखिनेछ ।’

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुगमन प्रमुख यमलाल भुषालले सरकार आफ्नो नीति तथा कार्यक्रमको योजनामा सचेत भएको बताउँदै आम नागरिकको हितका निम्ति बजार अनुगमन र अनुगमनमाथिको अनुगमन गरिरहेको सन्दर्भ उल्लेख गर्दै सहज र सुलभ रुपमा आपूर्तिका सामानहरु उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई निर्देशन दिए।

त्यसैगरी काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चाडपर्वको बेला उपत्यकाका सबै नाकाहरुमा चेकजाँच कडाई गरेको र शान्ति सुरक्षा, उपभोग्य बस्तुहरुलाई गुणस्तरीय छ छैन सम्बन्धित निकायबाट चेकजाँच गरी मात्र प्रयोगमा ल्याउन आफू कार्यरत संस्थाले सचेततापूर्वक काम गरिरहेको बताउ । जनताले अत्याधिक उपभोग गर्ने बस्तुहरु गुणस्तरीय र सुलभ मूल्यमा प्राप्त गर्नु उनीहरुको अधिकार भएकोले त्यसतर्फ आफूहरु सचेत भएको उनको भनाई थियो ।

त्यस्तै, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्व नजिकिरहेको बेला मात्र नभएर विभागले आफ्नो उदेश्य अनुरुपका कामहरु गर्दै आइरहेको बताउँदै चाडपर्वको बेला थप जिम्मेवार बन्दै विभिन्न निकायहरुमा अनुगमन काम तीव्र बनाएको बताए भने महानिर्देशक गौचनले सरोकार राख्ने सम्पूर्ण निकायहरुले बजारमा देखिएका बेथितिहरुलाई न्यूनीकरण गर्नका लागि आफुले देखेका ठगीलगायतका घटनाहरुलाई विभागलाई जानकारी गराएर साथ दिई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले उखु किसानहरुले उखुको अर्बौं रकम चाडपर्वको बेलामा समेत पाएका छैनन् भन्दै तिनै उखुको रकमसमेत नतिर्ने व्यापारीहरुको पक्षमा एकाधिकार गराउन सरकारले साथ दिएको हो भने त्यो आमनागरिकको लागि घातक हुने बताउँदै ‘त्यस्ता व्यापारीहरुले सहुलियत सहितको चिनीको जिम्मा पाउँदा जनताले कस्तो राहत पाउलान् ? भनी सवाल उठाए । सदस्य चौलागाईंले एकाधिकार जमाउने व्यापारीले वितरण गर्न खोजेको चिनीमा सल्फरजस्ता मानव जीवनमा हानि पु¥याउने तत्व भएको सन्दर्भ उल्लेख गर्दै सरकारले सहुलियत दरको पसल सुरुवात गर्दा एकाधिकार जमाउने र संसदमा समेत दर्जनौं सांसदहरुले माफियाका आरोप लगाएका व्यक्ति अतिथिको मन्तव्य दिइरहेको देख्दा लोक हाँसेकाले यो विषयमा छानविनसमेत हुनुपर्ने माग गरे ।

काठमाडौ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले चाडपर्वको बेला शान्तिसुरक्षामा खलल ल्याउने र कालाबजारी गर्नेहरुलाई नेपाल प्रहरीले कानुनी कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने चेतावनी दिए भने उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको अर्थ मन्त्रालयले एकाधिकार गर्ने कालाबजारीहरुको पक्षमा निर्णय गरेकाले बजार सरकारको नियन्त्रणभन्दा बाहिर जान थालेको आरोप लगाए ।

कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडका उपकार्यकारी निर्देशक कुमार राजभण्डारीले चिनीको मूल्यमा केही फेरबदल आएको भन्ने गुनासा आएकाले सरकारको निर्देशन अनुसार चिनी बेच्न केही दिन रोकिएको जानकारी दिए ।