साठी हजार बालबालिका शिक्षाबाट वञ्चित

साठी हजार बालबालिका शिक्षाबाट वञ्चित


– रामभरत साह

नेपालमा अहिलेपनि ६० हजार भन्दा बढी बालबालिका स्कूल जानबाट बञ्चित रहेको खुलासा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराज मनि पोख्रेलले गरेका छन् । उनले विद्यालयका पहुँचभन्दा बाहिर रहेका ६० हजार बालबालिकालाई विद्यालयमा ल्याउन सबैको सक्रियताको आवश्यकता माथि जोड दिदै संघियताको अनुभव हुने गरि विद्यालयमा ल्याउनका निमित्त यहाँका स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा संग सम्बन्धित निकायहरूलाई निर्देशन नै दिएका छन् । जबसम्म बालबालिकाहरू विद्यालय जाँदैन तबसम्म तिनका अभिभावक समेतले संघियता र गणतन्त्रको अनुभूति गर्न नसक्ने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जनकपुरमा जयगोविन्द साह अध्ययन केन्द्रको आयोजनामा विद्यार्थी भर्ना तथा साक्षरता अभिबृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रि पोख्रेलले यस आर्थिक वर्ष भित्र बालबालिकाहरूलाई विद्यालय भित्र ल्याउन सक्ने सुझाब दिएका छन् । उनले भने अहिले विद्यालय आउन नसकेका आर्थिक ,सामाजिक र साँस्कृतिकरुपमा पछि परेका बालबालिबाहरू रहेकाले त्यस्तालाई विषेश योजना र कार्यक्रम ल्याई पढन पाउने अधिकार सुनिश्चित गरिनु पर्दछ ।

मन्त्रि पोख्रेलले आफू निजी विद्यालयको पक्षमा नरहेको जनाउँदै जनशक्तिको अभाव देखाई शिक्षाको गुणस्तरमा कुनै पनि परिस्थितीमा सम्झौता गर्न नसक्ने चेतावनी दिए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने मात्रै हैन टिकाउने अभिभारा पनि चलाउनु पर्ने कुरामा जोड दिए । उनले वि.सं.२०८५ सम्ममा अनिवार्य शिक्षा हासिल गर्न नसक्नेले बैंकिंग कारोबार गर्न नपाउने चेतावनी दिंदै विद्यार्थीलाई विद्यालय नपठाउने अभिभावकहरूलाई समेत कार्यवाही गर्ने बताए । सामुदायिक विद्यालयहरूको अवस्था दयनिय रहेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको समस्या सामाधानका लागि केन्द्र, प्रदेश तथा स्थानिय सरकारले एक अर्का संग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए ।

प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिंदै दक्ष जनशक्ति तयार गर्ने बताए । स्थानिय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने बताउदैं स्थानिय तहका जनप्रतिनिधिहरूले भर्ना अभियानलाई विशेष पर्वको रुपमा लिनुपर्नै भन्दै वहाँले तराईका केही पिछिर्डिका जातीहरू मुसहर,डोम र दलित बालबालिकाहरूलाई विद्यालय सम्म ल्याउन नसकिएको अवस्था रहेको उल्लेख गरेका थिए ।

सबै जातजाती र बालबालिकाहरूलाई विद्यालयको पहुँचसम्म ल्याउन र शिक्षा प्रति जनचेतना जगाउन विषेश अभियान नै चलाउनु पर्ने आवश्यकता माथि जोड दिदैं मन्त्रि पोख्रेलले सरकारी विद्यालयहरूमा कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेमा हामी सबै गम्भिर हुनुपर्ने बताउँदै भर्ना अभियान अन्तर्गत अहिले सम्म ७ वटा स्थानिय तह पूर्ण साक्षर घोषणा भईसकेको जानकारी दिएका थिए । वहाँले विद्यालयहरूमा अनावश्यकरुपमा मानसिक यातना दिने गरेको र पैसा माग्ने गरेको प्रति आपती जनाउँदै विद्यालयहरूलाई अभिभावक मैत्री बन्न आवहान समेत गरे ।