दुई हजार पाँच सय मेट्रिक टन चिनी गोदाममै थन्कियो

दुई हजार पाँच सय मेट्रिक टन चिनी गोदाममै थन्कियो


संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब रु. १३ करोड मूल्यबराबरको दुई हजार पाँच सय मेट्रिक टन भारतीय चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएको छ ।

हिन्दूहरूको महान् चाड दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसनले भारत गुजरातको रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको, तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन गएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले जनाएको छ ।

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो,’ प्रमुख भन्सार अधिकृत सूर्यप्रसाद सेढाईंले भने, ‘तर साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ गते आएकाले सो चिनी रोकिएको हो ।’

०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको भन्सार प्रमुख सेढाईंको भनाइ छ ।

विगत १० दिनदेखि सो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकाले अन्य सामान गोदाममा राख्न समस्या भएको बताइएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि संघीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकिलो रु. ७० का दरले किन्न बाध्य छन् ।