अब सेयर कारोबारको विवरण ‘मेरो सेयर’मार्फत

अब सेयर कारोबारको विवरण ‘मेरो सेयर’मार्फत


दोस्रो बजारमा लगानी गर्ने सेयर लगानीकर्ताले ‘मेरो सेयर’मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोबारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् ।

‘सीडएस एन्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रूपमा निर्देशन पुँजी जारी गर्ने सुविधा थप गरेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोबार सम्पन्न भएको दोस्रो कार्य जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सक्ने गरी व्यवस्था गरिएको र सो प्रणाली लागू गरिएको छ ।

नयाँ व्यवस्था यही असोज २१ गतेदेखि लागू हुनेछ । लगानीकर्ताले मेरो सेयर पुर्जीमार्फत नै विद्युतीय निर्देशन जारी गर्न सक्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कारोबार भएको धितोपत्रको हकमा लाग्ने हन्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाप सदस्यलाई बुझाउने र सो शुल्कसम्बन्धी राफसाफ, सदस्यमार्फत कारोबारको राफसाप तथा फस्र्योट प्रणालीमार्फत गर्ने व्यवस्था गरिएको छ ।

विद्युतीय निर्देशन पुर्जीको प्रयोगसँगै लगानीकर्तालाई नेपाल स्टक एक्सचेञ्जले हाल परीक्षण गरिरहेको र शीघ्र सञ्चालनमा ल्याउन लागिएको पूर्ण स्वचालित कारोबार प्रणालीको प्रयोग गरी कारोबार गर्न थप सहज हुने विश्वास लिइएको छ । कारोबार राफसाफका लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनुपर्ने बाध्यता तथा समयमा निर्देशन पुर्जी जारी हुन नसकेका कारण हुने समस्यासमेत अन्त्य हुनेछ ।

लगानीकर्तालाई पुँजी बजारसम्बन्धी जानकारी अभिवृद्धि गर्ने हेतुले आयोजना गर्न लागिएको विश्व लगानीकर्ता सप्ताह समारोहमा यही असोज १९ गतेदेखि आगामी कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो प्रविधिले लगानीकर्तालाई फाइदा पुग्ने तथा बजारको विस्तारका लागि समेत सहयोग पुग्ने बताए । कार्यक्रममा इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बजार विस्तार र सहज कारोबारका लागि प्रविधिको खोज र प्रयोगमा लगानी बढाउनुपर्ने बताए ।