लमजुङ कारागारमा न्यायिक संवाद

लमजुङ कारागारमा न्यायिक संवाद


जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी जिल्ला न्यायाधीश, जिल्ला न्यायाधिवक्ता र कानून व्यवसायीका बीचमा न्यायिक संवादको आयोजना गरियो ।

अदालतको कामकारबाही, यसका प्रक्रिया, न्यायसम्पादन र त्यसभित्रका समस्या, न्यायमा सहज पहुँचको वातावरण सिर्जना, न्यायका उपभोगकर्तामा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने र न्यायपालिकासम्बन्धी सूचना प्रवाह गराउने उद्देश्यले कार्यक्रको आयोजना गरिएको जिल्ला अदालतले जनाएको छ ।

सो अवसरमा अदालतको क्षेत्राधिकार, न्यायमा सहज पहुँच अभिवृद्धि, अन्याय गर्नुभन्दा सहने प्रवृत्तिको न्यूनीकरणलगायत विषयमा जानकारी गराइएको थियो । कैदी जीवन बिताइरहेका कैदीबन्दीले भदौ १ गतेदेखि लागूभएको मुलुकीसंहिताका विषयमा चासो व्यक्त गरेको थिए ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेल, जिल्ला बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायतले न्याय सम्पादनका विभिन्न पक्षबारे कैदीबन्दीलाई जानकारी गराएका थिए ।

न्यायाधीश आचार्यले अदालती कामकारबाही, तिनका प्रक्रिया र कार्य अवधिजस्ता विषयमा कैदीबन्दीलाई जानकारी गराइएकाले न्यायक्षेत्र थप प्रभावकारी बन्ने बताए । उनले भने, ‘अदालत भनेको अन्यान गरेका र अन्यायमा परेको मात्र आउने र जो कोही जान नहुने भ्रम आम जनमानसमा परेको छ, अदालती प्रक्रिया बारेमा सबैले जानकारी लिँदा फाइदा हुने छ ।’

न्यायपालिकाप्रति सर्वसाधरणको बुझाई र आम धारणामा परिवर्तन ल्याउनमा यस्ता कार्यक्रम समयसमयमा सञ्चालन गरिँदै आइएको उनले बताए । जिल्ला कारागारमा महिला नौ र पुरुष ६७ गरी कूल ७६ कैदीबन्दी रहेका छन् ।