लमजुङको दुर्गममध्ये एउटा गाउँ हो चरागाउँ । क्वोलासोंथर गाउँपालिका ७ मा रहेको यो गाउँ साविकको घाम्राङ गाविसमा पर्छ । सोही चरागाउँका स्थानीयले शनिबार एक कार्यक्रमको आयोजना गरी आफुहरु भाग्यमानी भएको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएकाले उनीहरुले आफुलाई भाग्यमानी ठानेका हुन् । मुख्यमन्त्रीपत्नी एवं क्वोलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङको माइती गाउँ हो चरागाउँ । चरागाउँबाट पोखरा बसाई आएका क्रोम्छें भाई खलक परिवारले शनिबार आयोजना गरेको चेलीबेटी तथा स्टमित्र भेटघाट एवं शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीयले उक्त कुरा बताए हुन् ।
गुरुङ जातिले दशैँको पुर्वसन्ध्यामा छोरी, ज्वाईँ, भाञ्जाभाञ्जी लगायतलाई एकै ठाउँमा भेला बोलाएर नाचगानका साथै शुभकामना आदान प्रदान कार्यक्रम गर्छ । यस्तै कार्यक्रम गुरुङ समुदायले लोसारमा पनि आयोजना गर्ने गर्छन् । तर लोसार कार्यक्रम भने दशैँको भन्दा भब्य हुने उनीहरुको भनाई छ ।
चरगाउँबाट पोखरा बसाई आएका नरबहादुर गुरुङले स्वागतमै भने, ‘हाम्रो छोरी गाउँपालिका उपाध्यक्ष भएका छन्, ज्वाइँ मुख्यमन्त्री, हामीलाई गौरव छ ।’ उनले उनले थपे, ‘हामी पछाडी परेका छौँ, हाम्रो उत्थान तपाईंले गर्नुपर्छ ।’
लमजुङ चरागाउँका क्रोम्छें परिवारका ४४ घर अहिले पोखरामा बसाइँ आएका छन् । परिवारका अध्यक्ष नौबहादुर गुरुङले मुख्यमन्त्री र गाउँपालिका उपाध्यक्ष दुबैजना त्यसै यहाँसम्म नआएको बताए । ‘उहाँहरुले धेरै उकालो ओरोलो पार गर्नुप¥यो, कहिले खोलामा बग्नुप¥यो, कहिले ठक्कर खानुप¥यो ।’ जनताले यो स्थानमा पु¥याएको भन्दै जनतालाई पनि अब अहिले भन्दा उच्च स्थानमा पु¥याउन उनले आग्रह गरे ।
‘छोराछोरी कहीँ पुग्यो भने बाबुआमालाई आशा हुन्छ, बाबुआमा कहीँ पुगे छोराछोरीलाई आशा हुन्छ’, गुरुङले भने– ‘तपाईहरु यो स्थानमा हुनुहुन्छ हामीलाई आशा छ ।’

पोखरा १२ स्थित पसगाउँ पै कों तमु समाजघरमा आयोजित कार्यक्रममा क्वोलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङले भावुक मन्तव्य दिइन् । ‘गुरुङको चलनचल्ती अनुसार माइती खाना पहिलो पटक खाएँ, उनले भनिन्, कर्मथलोमै बस्नुप¥यो, सानोमा पनि मामाघरमा बसेँ, आज माइतीको माया अनुभव गरेको छु ।’ दशैँको शुभकामना दिँदै उनले थपिन्, ‘बुबा आमा, दिदी बहिनी, सबैलाई एकै ठाउँमा पहिलो पटक भेट्न पाएको भन्दै यस्तै अवसर फेरी पनि आओस् ।’
मुख्यमन्त्री गुरुङले इस्टमित्र सबैको घरमा पुगेको अनुभव गरेको बताए । ‘पहिले पहिले सबैलाई घरघरमा बोलाउने चलन थियो, उनले भने, अहिले एकै ठाउँमा सबैलाई भेट्न पाउँदा घरघरै पुगेजस्तो लाग्यो ।’
चरागाउँका क्रोम्छें परिवारको कार्यक्रम पश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नै जन्मभूमि लमजुङको टक्सार गाउँलेले आयोजना गरेको कार्यक्रममा पुगे । लमजुङ पाँचगाउँ टक्सार समाजले पोखराको माटेपानीमा सोही प्रकृतिको कार्यक्रमको आयोजना गरेका थिए । हिमाली गुरुङ परिवारको प्राङ्गणमा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले दशैँको शुभकामना दिए । ‘चाडपर्वमा कुनै झैझगडा नहोस्, आपसमा खुशीयाली साटासाट होस्, उनले भने, दशैँको शुभकामना ।’
समाजका उपाध्यक्ष शिरसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रतनसिँह गुरुङ र सहसचिव गजबहादुर गुरुङले गरेको थिए । कार्यक्रम विगत १० बर्षदेखि आयोजना गर्दै आएको समाजका सल्लाहकार नारायणसिँह गुरुङले जानकारी दिए ।
‘दशैँ गुरुङको चाड थिएन’
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विक्रम सम्बत १५०० सम्म दशैँ गुरुङ जातिले नमानाएको बताए । ‘दशैँ गुरुङको चाड थिएन, लमजुङ दरबारमा घलेराजा र शाहराजाविच सम्झौता भएपछि मनाउन थाले ।’ उनले दुई राजाविच संझौता भएपछि शाहराजाको शासन चलेको र शाहराजाले गुरुङ जातिलाई साविककै रुपममा जल, जमिन, जंगल लगायत प्रयोग गर्न दिएर कर उठाउन थालेको बताए ।
शाह राजाले मान्ने चाड गुरुङले मनाउँछन् कि मनाउँदैनन्, भनेर त्यतिबेला राजाका मान्छे घर घरमा अनुगमनमा जाने गरेको उनले बताए । ‘गुरुङले दशैँ मानेको प्रमाण दिन रगतको छाप घरको भित्तामा लगाउनुपथ्र्यो, उनले भने, त्यही कारण विक्रम संवत १५५१ तिरदेखी गुरुङ जातिले पनि दशैँ मनाउन थाले ।’
प्रतिक्रिया