अपराधजन्य घटना न्युनीकरणका लागि सचेतनात्मक अन्तरक्रिया

अपराधजन्य घटना न्युनीकरणका लागि सचेतनात्मक अन्तरक्रिया


सामाजिक जागरणका लागि नारी अभियान नेपालको आयोजनामा शनिबार पोखरामा हत्या, हिंसा बलात्कारजन्य घटना न्यूनीकरणका लागि सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका वक्ताहरूले विश्वको तुलनामा नेपालको कानुन उत्कृष्ट भएको जनाउँदै यसको कार्यान्वनयका लागि जनजागरण आवश्यक भएको तर्क गरे । नेपालमा फाँसीको व्यवस्था नभए पनि फाँसीभन्दा उत्कृष्ट मृत्युसम्मको जेलसजाय रहेको उल्लेख गर्दै समाजमा यो या त्यो वहानामा घटना लुकाउन नहुने धारणा व्यक्त गरियो । कार्यक्रममा घटना घट्नुको शारिरिक, मानसिक र आध्यात्मिक विश्लेषणसहित सुरक्षा अवस्था र कानुनी व्यवस्थाका बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले महानगरपालिकाको शान्तिसुरक्षाका लागि टोलटोलमा सिसीटीभी राख्ने अभियान संचालन भएको जानकारी दिँदै महानगरपालिकाबाट भैरहेका कार्यक्रमका बारेमा जानकारी दिए । साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनताको सहयोगविना जनप्रतिनिधि एक्लैले केही गर्न नसक्ने भन्दै समाज विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाले कास्कीको शान्ति सुरक्षाको स्थितिका बारेमा बताउँदै हरेक नागरिक बर्दीविनाका प्रहरी भएकाले प्रहरी प्रशासनलाई साथीको रुपमा सोच्न आग्रह गरे । साथै घटना घट्नेवित्तिकै प्रहरीलाई जानकारी दिनुपर्नेमा घटना लुकाउन नहुने संस्कारको विकास गर्दै विरोध र्यालीभन्दा सचेतनामुलक कार्यक्रम राख्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले नयाँ कानुनमा भएको व्यवस्था तथा हत्या, हिंसा तथा वलात्कार जन्य घटनाका सम्बन्धमा कानुनि व्यवस्था र सजायबारे जानकारी गराए भने युवा चिन्तक माधव पहारीले घटना न्युनीकरणका लागि मानसिक तथा आध्यात्मिक विश्लेषण तथा समाजमा घटना घट्न नदिन नागरिकले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराए ।

त्यस्तै, मनोचिकित्सक प्राडा निर्मल लामिछानेले कस्तो मानसिक अवस्था भएका व्यक्तिले अपराध गर्छन् भन्ने मनोविश्लेषणसहित समाजमा यस्तै सचेतनामूलक कार्यक्रम राख्नाले घटना न्युनीकरण हुने तर्क गरे ।

अभियन्ता तथा अधिवक्ता सुष्मा पौडेलद्वारा सहजीकरण गरिएको कार्यक्रममा योग प्रशिक्षक लक्ष्मण पौडेलले योगको महत्व तथा महिला प्रहरी सेलका प्रमुख चन्द्रा गुरुङले महिला हिंसा घट्नुका कारणबारे बताएका थिए । कार्यक्रममा लोचना अधिकारी, अधिवक्ता राजु अधिकारी, दुर्गा थापा, गीता गौतम, कार्यक्रम संयोजक शान्ति पौडेललगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।