एन्फामा अनुशासनको खडेरी

एन्फामा अनुशासनको खडेरी


sportखेलकुद लेख
गोप्यता भङ्ग गर्नु फुटबलको दुर्भाग्य
एन्फा अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल सङ्घ हाँकेको दुई दशक बितिसकेको छ । यो अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरमा एउटै सफलता हासिल गर्न नसके पनि मुलुक भने फुटबलमय बनेकोमा सायदै कसैको दुईमत होला । विभिन्न उचारचढावका बाबजुद पनि थापाले फुटबलको शानलाई कायम राख्न गरेको मिहिनेत र प्रयासलाई भने सलाम गर्नैपर्छ । थापाले आफ्नो नेतृत्वमा फुटबललाई एक सूत्रमा बाँधेर अगाडि लान जस्तो क्रियाशीलता देखाए त्यो उनको हदभन्दा परको कुराको थियो । फुटबलको समग्र विकासका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई रिझाउन थापाले खेलेको भूमिका आफँैमा प्रशंसनीय थियो । यसमा उनको व्यक्तिगत स्वार्थको झझल्को देखिए पनि त्यो केबल फुटबलको श्रीवृद्धिमा निहित थियो । र पनि दुई दशक लामो समयसम्म एन्फामा एकछत्र राज गरेका थापा आफैँले पनि मनन गर्न जरुरी छ कि एन्फाले फुटबल हाँक्यो कि गणेश थापाले ? जुन अहिलेसम्म अनुत्तरित र अहम् प्रश्न बनेको छ । सत्ता र शक्तिका पुजारी थापाले एन्फामा एकल नेतृत्व कायम राख्दा बेलाबेलामा उनका विरुद्ध आवाज नउठेका पक्कै होइन । तर, उनले जसरी आफ्नो रोटी सेके त्यो फुटबल पदाधिकारीको चरित्र भने अवश्य थिएन । त्यो नितान्त व्यक्तिगत र तानाशाही सोचको उपज थियो ।
थापाको यही सोच, चिन्तन र प्रवृत्तिले गर्दा अहिले एन्फा पुनः विवादमा घेरिएको छ, थापाका कार्यशैलीका विरुद्धमा विरोधका स्वर घन्किएका छन् । थापाका हरेक क्रियाकलापमा विगत डेढ दशकदेखि होस्टेमा हैंसे गर्दै आएका उनकै जिम्मेवार पदाधिकारीहरूले उनीविरुद्ध जेहाद छेडेका छन् । थापालाई खुला चुनौती दिँदै एन्फाको कार्यसमितिमा उपस्थित नभई बहिष्कार गरिसकेका छन् । त्यस्तो अवस्थामा थापाको एन्फारूपी जहाजमा प्वाल परेर पानी छिर्ने प्रक्रियाको शुभारम्भ भइसकेको छ । हिजोसम्म लुते कुकुरझैँ पुच्छर टाङमुनि हाल्दै थापाका सामु नतमस्तक हुनेहरूले आज राम्रैसँग पुच्छर हल्लाउन थालेका छन् । जुन थापाका लागि शुभसङ्केत कदापि मान्न सकिँदैन । जसले थापाको एन्फारूपी जहाजमा मुसा बनेर पसी पूरै जहाज डुबाउन पनि सक्छन् । यस्तो वास्तविकता ज्ञात हँुदाहँुदै पनि उल्टै थापाले राजनीतिक आस्थाका आधारमा कोही एन्फाविरुद्ध सक्रिय भए त्यसविरुद्ध डरलाग्दो सङ्घर्षमा उत्रिने चेतावनी दिएपछि यसले आगोमा घ्यू थप्ने कार्य गरेको छ । एन्फाको यो नौलो तथा सामान्य विवादलाई जसले नजिकबाट नियाल्दै आएका छन् उनीहरूले पनि थापाको यो आक्रोशमा तानाशाहीको गन्ध भएको प्रतिक्रिया दिएका छन् ।
एन्फाका उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले एन्फा अध्यक्ष थापामाथि लगाएको आरोप सामान्य थियो । उनीहरूले एन्फा विधानसम्मत नचलेको र पारदर्शी नभएको आरोप लगाउँदै यसमा सुधार ल्याउनुपर्ने माग राखेका थिए । यो कुरा सामान्य थियो र आपसी छलफलबाट सामान्य तरिकाबाटै समाधान हुन सक्थ्यो । तर, यहाँ उपाध्यक्षद्वयले किन ‘बिनामौसम बाँसुरी बजाए’ त्यो भने खोजीको विषय बनेको छ । अझ काङ्ग्रेसनिकटका व्यक्तिहरूले मात्रैले थापाको विरुद्धमा जेहाद छेड्नुले यसलाई अझै रहस्यमय बनाएको छ । निकै शङ्का–उपशङ्का उब्जाएको यो विवाद राजनीतिक प्रेरित त होइन भन्नेमा समेत अहिले बहस र चर्चा छेडिएको छ । चियागफकै कुरा गर्ने हो भने त उपाध्यक्षद्वयले उपप्रधानमन्त्री तथा स्थानीयमन्त्री प्रकाशमान सिंहको आडमा यस्तो हर्कत गरेको सुनिनमा आएको छ । थापासँग बदला लिन एन्फाका पूर्वअध्यक्ष पुरुषोत्तम श्रेष्ठको निर्देशनमा यो खेल रचिएको बुझिएको छ । यो कुरालाई श्रेष्ठसँग निकै निकट रहेका कर्मा र विजयको सम्बन्धले पनि पुष्टि गर्छ । तर, जुन समयमा यो मुद्दालाई पत्रिकाहरूमा प्रचारबाजी गर्दै सार्वजनिक गरिएको छ, त्यसको औचित्य पुष्टि गर्न भने गाह्रो छ । किन र के स्वार्थबाट प्रेरित भएर बिनामौसम वर्षात् गर्ने दुस्साहस गरियो त्यसको पछाडि केही रहस्य त अवश्य होला, अन्यथा त्यसै त कसैले डम्फु बजाउँदैन होला ।
एन्फा विवादलाई सर्सर्ती अध्ययन र विश्लेषण गर्दा यो विरोधका लागि विरोध गरिएको मात्रै प्रतीत हुन्छ । क्लब र फुटबलको भलाइभन्दा पनि निहित स्वार्थ पूरा गर्न राजनीतिक शक्तिको आडमा धम्क्याउने र घुक्र्याउन खोजिएको जस्तो देखिन्छ । जुन भविष्यमा फुटबलको प्रतिष्ठा र अस्मितामाथि प्रत्युत्पादक बन्ने पक्का छ । तसर्थ फुटबलको अस्मिता लिलाम गर्ने अधिकार कसैलाई छैन । यहाँ फुटबललाई दाउमा लगाउनुभन्दा पहिले एन्फा अध्यक्ष गणेश थापा या उपाध्यक्षद्वय कर्मा छिरिङ र विजयनारायण नै किन नहुन् उनीहरूले सयौँचोटि सोच्नुपर्छ । सबैले एन्फाको नीति–नियम र विधानको अक्षरशः पालना गर्दै जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ । कसैले पनि आंशिक र क्षणिक चर्चा र फाइदाका लागि एन्फाको गोप्यतालाई भङ्ग गर्दै तिलाञ्जली दिन कदापि मिल्दैन । तसर्थ राजनीतिक परिवर्तन, सत्ता परिवर्तन र शक्तिको आडमा छेपारोझैं रंग फेर्नु एन्फाका लागि घातक हुनेछ । एन्फाको नुन खाने अनि त्यसैको धज्जी उडाउँदै आफूले खाएको थालमा प्वाल पार्ने कोसिस गर्नुलाई शोभनीय कार्य मान्न सकिँदैन । यसले समस्याको समाधान नभई व्यवधान निम्त्याउने कुरामा सायदै कसैको दुईमत होला ।
एन्फाका पदाधिकारीको गुनिलो गुण भनेकै मौनता साँध्नु र तुम शरणम् गर्नु हो । त्यो हिजो पनि थियो, अहिले पनि छ र भोलि पनि नरहला भन्न सकिँदैन । कुर्सी प्राप्त गर्न महत्वपूर्ण समयममा चुप्पी साँध्ने र लोभीपापीको भूमिका निभाउने अनि बिनामौसममा भैँसीको अगाडि विन बजाउनुको मतलब के हो ? त्यो असान्दर्भिक र औचित्यहीन हुन्छ भन्नेको हेक्का विरोधी पक्षले किन आत्मसात् नगरेका होलान् यहाँ बुझ्न सकिएको छैन । यदि सन्दर्भमा फुटबलका एक जानकारले यो विवादलाई विश्वकपअघिको चहल पहलको संज्ञा दिएका छन् । केही महिनापछि ब्राजिलमा आयोजना हुन गइरहेको विश्वकप फुटबलमा जानका लागि दबाब दिन यो रणनीति अख्तियार गरेको बताएका छन् । बार्गेनिङ गरेर पैसा पनि खाने, पद पनि खाने र एन्फामा हालिमुहाली गर्नेहरूको भीडले एन्फालाई बद्नाम गरिरहेको बताउने उनले क्लबका पदाधिकारीहरूले फुटबलको विकासमा सिन्कोसमेत नभाँचेको आरोप लगाए । उनले बिनाअर्थ पत्रिकाबाजी गरेर राजनीतिक रंग दिई व्यक्तिगत स्वार्थसिद्ध गर्नेलाई एन्फाले कारबाही गर्नुपर्ने धारणासमेत राखेका छन् । उनले आक्रोशित हुँदै भने– ०४६ देखि मुखमा दही जमाएर बस्ने, थापाका जायज र नाजायज क्रियाकलापमा साथ र समर्थन दिने अनि अहिले आएर एन्फा विधानसम्मत नचलेको आरोप लगाउँदै विरोधमा उत्रिनुको अर्थ के हुन्छ ? उनीहरू एन्फाका शुभचिन्तक भएका भए किन त्यसैबेला आवाज बुलन्द गर्न सकेनन् त ? थापाविरुद्ध किन निर्वाचनमा खडा हुन सकेनन् ? किन थापालाई अहिलेसम्म सर्वसम्मतिबाट अध्यक्ष बनाइराखेका छन् ? पहिले आफ्नो अनुहार ऐना हेर्न अनुरोध गर्दै यो सम्पूर्ण हुनुमा उनीहरू पनि त्यत्तिकै दोषी रहेको बताएका छन् । त्यस्तै उनले फुटबल सङ्घमा काम गर्ने हो, नेतागिरी होइन । अनुशासित संस्थामा उछृङ्खल होइन, अनुशासित भएर कार्य गर्नुप¥यो । कुनै पनि संस्थाको उच्च पदमा व्यक्तिले संस्थाको गोप्यता छताछुल्ल पार्नुअघि संस्था कसरी चल्छ, गोप्यता र अनुशासन के हो, गम्भीर अध्ययन गर्न सुझाव दिएका छन् ।
विगत केही वर्षदेखि थापाको ‘सेन्सेक्स’ ओरालो लाग्दै आएको छ । यसमा अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय फुटबल टिमको असफलता र खुद थापाको रुखो बोली र व्यवहार प्रमुख रूपमा रहेका छन् । यसको प्रत्यक्ष असर थापाकोे व्यक्तित्वमा समेत परेको छ । चाँडै रिसाउने, विरोधी स्वर सुन्न नसक्ने र साम, दाम, डण्ड, भेद चारै नीति अपनाएर विरोधीलाई दबाउने र पाखा लगाउने रणनीतिले उनी पटकपटक विवादमा पर्दै आएका छन् । र पनि थापा यसैलाई आफ्नो उपलब्धि र सफलता ठानी रमाइरहेका छन् । तर, अब थापाको यो पुरातनवादी सोचले एन्फाको विडा पार हुनेवाला छैन । यसमा थापाले व्यापक सुधार गर्नुपर्ने आवश्यकता भइसकेको छ । आफ्ना वरिपरि दासको झुन्ड होइन कर्मवीरको झुन्ड तयार गर्नेतर्फ लाग्नुपर्नेछ । जसले जे भने पनि एन्फामा थापाको नेतृत्व प्रेरणादायी छ, यसमा उनको तुलना कसैसँग गर्न सकिँदैन । साँचो अर्थमा भन्नुपर्दा एन्फामा उनको विकल्प नै छैन भन्दा पनि अतिशयोक्ति नहोला । तर, देशकाल, परिस्थिति, अनुशासन एन्फाको कार्यसमितिमा गणेश थापा चेहराबाहेक अर्को कोही नदेखिनु त्यो भने विडम्बना र दुर्भाग्य भएको छ ।

राखेपको लगाम एनओसीमा छटपटी
राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि खेलका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुअघि राखेपको स्वीकृति लिनुपर्ने अन्यथा राखेप जिम्मेवार नहुने सूचना प्रकाशित गरेपछि नेपाल ओलम्पिक कमिटीको छटपटी बढेको छ । राखेपले लाखाँै खर्च गरेर खेलाडी तयार गर्ने, तर एनओसीले तिनै खेलाडीलाई देखाएर विदेश सयर गर्ने र मोज लुट्ने गलत परम्परा बढेकाले त्यसमाथि लगाम लगाउन राखेपले यो कदम उठाएको हो । अन्तर्राष्ट्रिय मान्यताको धाकमा नेपाली खेलकुद र खेलाडीमाथि रजाइँ गर्दै आएको एनओसीले पटक–पटक राखेपलाई बाइपास गर्दै आफ्नो स्वार्थ पूरा गर्दै आएको छ । मुलुकको कानुन नमान्ने र सर्वोच्चको फैसलालाई धोती लगाउने र डोटीमा राष्ट्रिय ओलम्पिक कमिटी दर्ता गरी अवैधानिक कार्य र आर्थिक चलखेल गर्दै खेलकुदको हुर्मत लिने कार्य गरेपछि एनओसीलाई अङ्कुश लगाउन राखेपले यस्तो निर्णय लिएको बुझिएको छ । एनओसीको यस्तो गैरजिम्मेवारी, हैकमवादी र तानाशाही चरित्रको सदाका लागि अन्त्य गर्न राखेपले यस्तो निर्णय गरेपछि हालै सम्पन्न एनओसीको बैठकमा यो प्रमुख मुद्दा बन्न पुगेको थियो । राखेपको यो निर्णयपछि दाँतबाट समेत पसिना आउन थालेपछि एनओसीका पदाधिकारीले निकासका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँग भेटेर सरकारको दृष्टिकोण बुझेर अगाडि बढ्ने जानकारीमा आएको छ । हेरौँ, अवैधानिक ओलम्पिक कमिटीलाई वैधानिक बनाउन बारम्बार ओलम्पिक कमिटीका कार्यक्रममा उपस्थित भएर स्वयम् अवैधानिक भइसकेका खेलकुदमन्त्री पौडेलले एनओसीभन्दा पनि जीवनराम श्रेष्ठलाई कसरी गंगाजल र दूधले नुहाउने दुस्साहस गर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

खेल समाचार
एसिया कप ट्रायथलनमा वसन्तलाई स्वर्ण
नेपालका वसन्त थारूले फिलिपिन्सको सुबिक बेमा जारी एएसटीसी ट्रायथलन एसिया कपमा स्वर्ण जितेका छन् । उनले २० देखि २९ वर्ष उमेर समूहको स्प्रिन्ट विधामा स्वर्ण जितेको नेपाल ट्रायथलन सङ्घका महासचिव नीलेन्द्रराज श्रेष्ठले जनाएका छन् । सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड पूरा गर्न वसन्तले ५७ मिनेट ५८ सेकेन्ड समय लगाए । यसअघि २०१३ मा भएको एसियालीस्तरको ट्रायथलनअन्तर्गत सोही उमेरको स्पर्धामा राजीव गुरुङ (फिलिपिन्स) र टीकाराम थापा (चीन) ले स्वर्ण जितेका थिए । त्यस्तै सोही प्रतियोगितामा नेपालका रुद्र कटुवालले रजत पदक जितेका छन् । कटुवालले ३० देखि ३९ वर्ष उमेर समूहमा सो उपलब्धि हासिल गरेका हुन् । उनले १.५ किलोमिटर पौडी, ४० किलोमिटर बाइक र १० किलोमिटर दौड दुई घन्टा १८ मिनेट ३७ सेकेन्डमा पार गरेका थिए । कटुवालले हालै पोखराको वेगनासमा सम्पन्न भएको एसियन ट्रायथलन च्याम्पियनसिपमा दुई घन्टा ४३ मिनेट ५३ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।

केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा छैटौँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीनदिने प्रतियोगिता गत सोमबारदेखि सुरु भएको छ । विद्यालयहरूको राष्ट्रियस्तरीय यो प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँँचै टिमको सहभागिता रहेको आयोजक समितिका सदस्य मीनकुमार शर्माले जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु गरी चार खेलमा प्रतिस्पर्धा हुँदै छ । एथलेटिक्समा ९० खेलाडीले २६ स्वर्ण, भलिबलमा पाँच विकास क्षेत्रका छात्र र छात्रा टिमले दुई स्वर्ण, करातेमा १२ खेलाडीले ८ स्वर्ण तथा उसुमा १२ खेलाडीले ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा उक्त चार खेल र तेक्वान्दोसहित पाँच खेल समावेश गरिएकोमा हाललाई तेक्वान्दो स्थगित गरिएको शर्माले जानकारी गराएका छन् ।
एथलेटिक्समा विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । एथलेटिक्सको हरेक व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार दिइनेछ । रिलेमा पहिलो हुनेले एक हजार पाँच सय, दोस्रोले एक हजार र तेस्रोले पाँच सय नगद पुरस्कार थाप्नेछन् । एथलेटिक्समा छैटौँ र भलिबलमा तेस्रोसम्म रहने टिमलाई निश्चित अङ्क दिई सर्वाधिक अङ्क ल्याउने टिमलाई टिम च्याम्पियन घोषणा गरिनेछ । टिममा पहिलो हुनेले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार पाउनेछन् । मार्सल आर्टको पदक टिम च्याम्पियनमा गणना गरिने छैन ।
एथलेटिक्सको व्यक्तिगत विधामा पहिलोदेखि छैटौँ स्थानसम्म रहने टिमलाई क्रमशः ७, ५, ४, ३, २ र १ तथा रिलेमा क्रमशः १४, १०, ८, ६, ४ र २ अङ्क दिइनेछ । भलिबलमा पहिलो हुने टिमलाई ३५, दोस्रोलाई २१ तथा तेस्रो हुने दुई टिमलाई १४–१४ अङ्क प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट ३३ लाख रुपैयाँ रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्यसचिव युवराज लामा संयोजक र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल सचिव रहेको १४ सदस्यीय आयोजक समिति गठन गरिएको छ । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेप हाताभित्र सञ्चालन हुनेछन् ।

पहिलो पदकविजेता केसी सम्मानित
नेपालका पहिलो अन्तर्राष्ट्रिय पदकविजेता धावक जितबहादुर केसीलाई सम्मान गरिएको छ । सदाबहार खेलकुद समाज, कपन र रिलायन्स एजुकेसन फाउन्डेसन, कपनले केसीलाई सम्मान गरेको हो । प्रथम अन्तर्राष्ट्रिय खेलकुद महोत्सवको समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले केसीलाई दोसल्ला ओढाउनु साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । सोही अवसरमा २०३१ सालका बोर्ड फस्र्ट सहरी विकास मन्त्रालयका सचिव किशोर थापा शिक्षा, नेपालका पहिलो सर्जन डा. ध्रुव शर्मा मुडभरीलाई स्वास्थ्य तथा केशवराज पाठकलाई कृषि क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको थियो ।
त्यस्तै महोत्वसवमा समावेश विभिन्न तीन खेलका विजेता र उपविजेतालाई पनि पुरस्कृत गरिएको थियो । ब्वाइज फुटबलको यू–१९ मा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) र यू–१४ मा लोयल्टी एकेडेमी पहिलो भएका थिए । ब्वाइज ह्यान्डबलको यू–१९ र यू–१४ दुवैमा रिलायन्स च्याम्पियन बनेको थियो । रोलबलतर्फ यू–१४ ब्वाइजमा भारतको जेभियर स्कुल र गल्र्समा नेपालको ट्रिनिटी स्कुलले पहिलो स्थानमा प्राप्त गरेका थिए । रोलबलकै यू–१७ ब्वाइज र गल्र्स दुवैमा भारतको बीभीबी स्कुलले शीर्ष स्थान कब्जा गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले खेलकुद अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रमुख माध्यम भएको बताउँदै खेलकुदले युवालाई कुलत र विकृतिबाट टाढा राख्न सहयोग गर्ने बताए । सदाबहार खेलकुद समाजको आयोजनामा चार दिनसम्म चलेको महोत्सवमा नेपालका आठ र भारतका चार स्कुल टिमले विभिन्न तीन खेलमा प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक बद्री भट्टराईले जनाएका छन् ।

माउन्ट एभरेष्ट तेक्वान्दोका लागि खेलाडी छनोट
दोस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका लागि १५ पुरुष र १२ महिला गरी २७ खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ६८ केजीमुनि नेपाल प्रहरी क्लबका निश्चलमान श्रेष्ठ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका आशीष महर्जन, ८० केजीमुनि नेपाली सेनाका विक्रम गुरुङ र एपीएफका भीमबहादुर खड्का, ८७ केजीमाथि सेनाका पूर्णसिंह गुरुङ, ६३ केजीमुनि एपीएफका सुजन जोशी र सेनाका सदम थापामगर, ५४ केजीमुनि प्रहरीका सुरेन्द्र खड्गी र एपीएफका चन्द्र रानामगर, ७४ केजीमुनि प्रहरीका अनुज पुजारी र कोटेश्वर तेक्वान्दो डोजाङका सक्षम कार्की, ८७ केजीमुनि एपीएफका द्वय गोपाल पुटुवार र लक्ष्मण महर्जन तथा ५८ केजीमुनि सेनाका प्रदीप लामा र प्रहरीका विशाल श्रेष्ठ छनोट भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतियोगिताको महिला ४६ केजीमुनि कास्कीकी राखी शर्मा र रूपन्देहीकी सरिता श्रेष्ठ, ४९ केजीमुनि ललितपुरकी रेश्मा थापा र रूपन्देहीकी लक्ष्मी राणा, ५३ केजीमुनि प्रहरीकी सीता तामाङ र कास्कीकी तारा जीसी, ५७ केजीमुनि धादिङकी अनिता घले र भक्तपुरकी नम्रता तुलाधर, ६२ केजीमुनि नयाँ बानेश्वर तेक्वान्दो डोजाङकी दीपशिखा राई र कास्कीकी रेखमाया गुरुङ तथा ६७ केजीमुनि सेनाकी मीरा काफ्ले र काठमाडौंकी आयशा शाक्य छानिएका छन् । महिलाको ६७ केजीमुनि दुई खेलाडी मात्र सहभागी थिए । प्रत्येक तौलसमूहमा फाइनल पुग्ने खेलाडी च्याम्पियनसिपका लागि छनोट भएका हुन् । फाइनल खेल खेलाइएको थिएन ।
छनोट भएका खेलाडीलाई तालिममा गरेको प्रदर्शनका आधारमा ‘बी’ र ‘सी’ टिमका रूपमा समूह विभाजन गरी नेपालको प्रतिनिधित्व गराइने तेक्वान्दो सङ्घले जनाएको छ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेतालाई ‘ए’ टिममा राखिएको छ । एकदिने छनोट प्रतियोगितामा ३१ पुरुषले ८ तथा २६ महिलाले ६ तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप वैशाख २० गतेदेखि राखेपको कभर्डहलमा सञ्चालन हँुदै छ ।

अल्ट्राधावक सञ्जय सम्मानित
अल्ट्राधावक सञ्जय पण्डितलाई गोल्डेनगेट इन्टरनेसनल कलेजले नगदसहित सम्मान गरेको छ । प्युठान निवासी २५ वर्षीय सञ्जयलाई गत मार्चमा अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारोको सफल आरोहण गरेबापत सम्मान गरिएको हो । सञ्जयका अनुसार उनले किलिमान्जारो दक्षिण एसियाबाट आरोहण गर्नेमध्ये सबैभन्दा कम समय ६ घन्टा १३ मिनेटमा आरोहण गरेका थिए । हालसम्म नेपालबाट १४ र दक्षिण एसियाबाट ९७ जनाले किलिमान्जारो आरोहण गरिसकेका छन् । सञ्जयले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र किलर माउन्टेनका रूपमा परिचित मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सञ्जयलाई एक लाख रुपैयाँबराबरको चेक र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा, राखेपका निवर्तमान उपाध्यक्ष पीताम्बर तिम्सिना, गोल्डेनगेटका कार्यकारी अधिकृत रमेश सिलवाललगायतको उपस्थिति रहेको थियो ।

एसियाली तेक्वान्दोमा डीपीआर कोरिया च्याम्पियन
डीपीआर कोरिया सातौँ एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपको सिनियरमा टिम च्याम्पियन बनेको छ । कोरियाले २४ स्वर्ण र चार रजत जितेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ताजाकिस्तान तीन स्वर्ण, १२ रजत र सात कास्यसाथ दोस्रो तथा काजाकिस्तान तीन स्वर्ण, चार रजत र पाँच कास्यसाथ तेस्रो भएका थिए । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआईटीएफ) द्वारा आयोजित प्रतियोगिताको जुनियरमा २६ स्वर्णसहित ताजाकिस्तान पहिलो, आठ स्वर्णसहित काजाकिस्तान दोस्रो तथा दुई स्वर्णसहित तुर्कमिनिस्तान तेस्रो भएका थिए । सिनियरको महिलामा डीपीआर कोरियाकी मि ह्याङ पाक तथा पुरुषमा कोरियाकै क्योङ हुम रा उत्कृष्ट खेलाडी घोषित भए । पाकले तीन र राले दुई स्वर्ण जितेका थिए ।
जुनियरको महिलामा ताजाकिस्तानकी सिरिन्बोनु नइभेभ तथा पुरुषमा तुर्कमिनिस्तानका ओराजमिराट चारी उत्कृष्ट खेलाडी चुनिए । नइभेभले दुई स्वर्ण र एक रजत तथा चारीले एक स्वर्ण र एक रजत हात पारेका थिए । प्रतियोगितामा नेपालले एक स्वर्णसहित सात रजत र १५ कास्य जितेको थियो । नेपालकी निश्मा बस्यालले स्वर्ण जितेकी थिइन् । एसियाली आईटीएफमा निश्माको स्वर्ण अहिलेसम्मकै पहिलो हो ।