राष्ट्रपति भन्छिन्– वातावरण संरक्षणमा समाज नै अग्रसर हुनुपर्छ

राष्ट्रपति भन्छिन्– वातावरण संरक्षणमा समाज नै अग्रसर हुनुपर्छ


राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, सम्वर्धन र व्यवस्थापनमा सिंगो समाज नै अग्रसर हुनुपर्ने बताएकी छिन् ।

एकीकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा आज राजधानीमा आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पुऱ्याउनुपर्ने औँल्याइन् ।

जलवायु परिवर्तनले सुक्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको र नेपालका सुन्दर हिमशृंखला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाट वातावरण विनाश र पर्यटनको आकर्षणको केन्द्रका रूपमा रहेका नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन् ।

‘पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानुन तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु,’ राष्ट्रपतिले भण्डारीले भनिन् । उनले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिन् । उनले सम्मेलनले वर्तमान र भावी पुस्ताको स्वस्थ वातावरणमा स्वस्थ भएर बाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिक कार्यदिशा तय गर्ने विश्वास गरिन् ।

सो अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन, वातावरण र बढ्दो शहरीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढंगले सम्बोधन गर्न सरकारले निरन्तर प्रयत्न गर्दै आएको बताए । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथा जीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकता आई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुस हुँदै गएको बताए । सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरी वातारण तथा फोहोर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्यांकन’लगायत विषयमा छलफल गरिनेछ ।