दुई वर्षपछि रुम्जाटार विमानस्थलमा नियमित उडान हुँदै

दुई वर्षपछि रुम्जाटार विमानस्थलमा नियमित उडान हुँदै


ओखलढुंगास्थित रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मंलबारदेखि पुनः सञ्चालन हुने भएको हो ।

नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । ‘रुम्जाटारमा मंगलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ,’ उनले भने, ‘जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौँ ।’ उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।

सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

हवाई इन्धन केन्द्र बनाइने

रुम्जाटार विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए । केन्द्रका लागि उपयुक्त ठाउँ भएको विज्ञले बताएसँगै वायु सेवा निगम र सरोकारवालाबीच छलफल गरेर पहल थालिएको उनले बताए । ‘लामो समयको अथक प्रयासपछि रुम्जाटारमा नियमित उडान गराउन सफल भइयो । अब हवाई इन्धन केन्द्र पनि बनाइनेछ,’ सांसद सुनुवारले भने, ‘दर्जनौँपटक म आफैँ मन्त्रालय र निगममा पुगेर समस्या राखेको छु । अरू साथीहरूको सक्रियता पनि उत्तिकै छ । अब उडानलाई व्यवस्थित बनाउनेतर्फ हामी लाग्छौँ ।’ सांसद सुनुवारले यात्रु नपाएर उडान भर्न नसकिने अवस्था आउन नदिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । तीन वर्षअघि धावनमार्गमा कालोपत्र गरिएको रुम्जाटार विमानस्थल पूर्वीपहाडको सुरक्षित हवाई गन्तव्यका रूपमा लिइन्छ ।

स्थानीयवासी लाभान्वित
रुम्जाटारमा हुने नियमित उडानले स्थानीयवासीलाई फाइदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । चाडपर्वका समयमा सवारीसाधन रिजर्भ गरेर ओखलढुंगा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा पनि हवाई उडान भएपछि जिल्ला आउजाउ गर्न सजिलो हुने उनको भनाइ थियो । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामीलाई हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपर्ने अवस्था पनि नियमित उडानले अन्त्य हुने नगरप्रमुख श्रेष्ठले बताए ।

निर्वाचनताका विभिन्न दलका नेताले उडान सञ्चालन गराउने प्रतिबद्धतासमेत जनाएका थिए भने वर्तमान नगरप्रमुख श्रेष्ठको पनि मुख्य कार्यसूचीमा परेको थियो । रुम्जाटारकै प्रदेश सभाका सांसद अम्विरबाबु गुरुङले पनि यसलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि तत्काल विमान सञ्चालन गराउने प्रतिबद्धता जनाएका थिए ।