फन टाइम

फन टाइम


funtimeआर्यनको दुवै हातमा लड्डु
यतिबेला दङ्ग छन् अभिनेता आर्यन सिग्देल । उनी दङ्ग पर्नुका कारण मुख्यतः दुई छन्, तर कुनचाहिँ कारणले उनी बढ्ता दङ्ग परे भन्ने अडकल काट्नेहरूको जमात ठूलै भए तापनि आर्यन भने दुवै कारणले आफू बराबर दङ्ग परेको बताउँछन् ।
नयाँ वर्ष आरम्भ भएलगत्तै गत ६ गते आर्यन वैवाहिक बन्धनमा बाँधिए भने यही वैशाखकै १२ गते उनको फिल्मी करियरमा महत्वशाली ठानिएको चलचित्र ‘नोभेम्बर रेन’ सार्वजनिक प्रदर्शनमा आयो । सिनेक्षेत्रका नायकहरू कैयनका पे्रम–प्रसङ्गहरू सार्वजनिक हुने गरे पनि घरजम बसाउने अवस्थासम्म भने तिनका प्रेम पुग्न सकेका पाइन्नन् । आर्यन भने यस मामिलामा सफल र भाग्यमानी ठहरिए । जोसँग पे्रम गरे उनैसँग विवाह गरेर असल उदाहरण प्रस्तुत गरे उनले । यसरी, ‘तिमीलाई बिहे नै गर्ने हो’ भन्दै दुई–चार दिन मोजमस्ती गरी हिँड्ने केही लुच्चा अभिनेताहरूको जमातमा बजारमा राम्रो सन्देश प्रवाह गरेका छन् आर्यनले । ‘मैले मनदेखि चाहेकोसँग पे्रम गरँे अनि उसैसँग विवाह पनि गरेँ,’ उनी भन्छन् । यसैमा उनले थपे, ‘मेरो पे्रममा स्वार्थ र वासना नभएकाले पारिवारिक सरसल्लाहमा जन्ती गएरै हिन्दू परम्पराअनुसार विवाह गरेँ । यतिबेला मेरो परिवार पनि खुसी अनि उनको परिवार पनि खुसी !’ वर्षौंदेखि प्रेम गरेकी प्रेमिकालाई सुटुक्क भगाउनु नपरेको, धुमधामले भोज खुवाएर विवाह गर्न पाएकोमा आर्यन मख्ख छन् यतिबेला ।
यसरी वैशाख ६ गते जीवनमा नौलो मोड काटेर नयाँ यात्रा सुरु गरेको खुसी सकिन नपाउँदै १२ गते फेरि आर्यनको जीवनमा ‘नोभेम्बर रेन’ नामक चलचित्रको प्रदर्शनीमार्फत अर्को खुसी थपिएको छ । काम राम्रो गरे पनि एकपछि अर्को चलचित्र राम्रोसँग नचलिरहेको अवस्थामा ‘नोभेम्बर रेन’ले आर्यनको चलचित्र करियरलाई नै माथि उठाउने गरी व्यवसाय गरेपछि रातारात उनी फेरि चर्चामा आएका छन् । शुक्रबारदेखि यो चलचित्रले हलमा बटुलेको दर्शकको भीड देख्दा अब आर्यनले आफ्नो फिल्मी करियरका लागि चिन्ता गर्दै पछाडि फर्कनुपर्ने अवस्था आउने छैन भनी अनुमान लगाउँदा फरक नपर्ला । एकै साताभित्र जीवनकै दुई खुसी हात पार्दा निकै दङ्ग परेका आर्यन यतिबेला निकै हौसिएका छन् । त्यसैले त उनी भन्छन्, ‘दुवै हातमा लड्डु भनेको यही रहेछ ।’

हट इन्दिराको शो चिसिने खतरा
आवाजमा कुनै जादु छैन । न त गायनमा कुनै मौलिक शैली वा विशेषता । शारीरिक हाउभाउका कारण मात्र स्टेजमा चलेकी हुन् गायिका इन्दिरा जोशी । यसो भन्दा विमति जनाउने कमै होलान् । स्टेजमा प्रदर्शन गर्ने ग्ल्यामर्स हाउभाउ ‘गतिलो’ भएकै कारण उनको गीत सुन्नभन्दा उनलाई हेर्न जाने दर्शकहरूको घुइँचो लाग्ने गरेको हो । यसरी, मीठो स्वरका कारण नभएर स्टेजमा भीड जम्मा पार्न सक्ने इन्दराको छवि कहिलेसम्म टिक्ने हो, त्यो भने हेर्न बाँकी नै छ । तथापि, उनको अनावश्यक नखरा र विदेशमा हुने कार्यक्रममा उनले देखाउने फुर्ती–फार्तीका कारण आयोजकहरू रुष्ट हुन थालेका छन् । बजारभन्दा बढी पारिश्रमिक माग्दै भाउ खोज्न थालेपछि इन्दिरा जोशीलाई बहिष्कार गर्ने सोचसम्म पुगिसकेका छन् आयोजकहरू ।
कुरा दुबईको हो । केही दिनअघि कार्यक्रम प्रस्तुत गर्न दुबई पुगेकी इन्दिराले सम्झौताभन्दा बढी रकम मागेपछि स्थानीय आयोजकहरू उनीसँग रिसाएका थिए । कार्यक्रम हिट भयो, दर्शक बढी आए, त्यसकारण मलाई पैसा थपिदिनुपर्छ भन्नेजस्ता अव्यावसायिक व्यवहार प्रदर्शन गरेपछि आयोजक समूह तिनछक्क परेको थियो । दर्शक बढी आएपछि पारिश्रमिक बढाउनुप¥यो भन्नेले घाटा खाएको भए आफूले लिने पारिश्रमिकमा घटाएर लिन्थिन् त भन्ने प्रश्न आयोजकको छ । उनीहरूले ठूलो जोखिम बोकेर विदेशमा कार्यक्रम आयोजना गर्दा यस्ता केही कलाकारका कारण माहौल नै खराब हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
पारिश्रमिक नबढाए अर्को शोमा नजाने ढिपी कसेपछि माहौल बिग्रिएको थियो । इन्दिरा जोशीको यो व्यवहारबाट रुष्ट भएका दुबईवासी नेपालीले अहिले एक स्वर र एकै व्यवहार गरेर अबदेखि दुबईमा नेपालीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा इन्दिरालाई नबोलाउने औपचारिक घोषणा गरेका छन् । दुबईवासी नेपालीको यो निर्णयको प्रभाव अन्य मुलुकमा बस्ने नेपालीमा पनि पर्ने भएकाले आफूलाई निकै ‘हट’ मान्ने इन्दिराका स्टेज शो चिसिने खतरा बढेको छ ।

कवि वसन्त हङकङमा गुञ्जने
युवा पिँढीका चर्चित कवि तथा गीतकार वसन्त चौधरी आफ्ना थप काव्यात्मक सिर्जनाका साथ पुनः एकल विश्व काव्य यात्रामा निस्कने तरखरमा छन् । पूर्वघोषित कार्यक्रमअनुसार यही वैशाख २१ गते आइतबार हङकङ नेपाली फाउन्डेसनद्वारा आयोजित कवि वसन्तको विशेष काव्यात्मक समारोहमा हङकङको ‘पाकिस्तान क्लब’मा आफ्ना केही पुराना र केही नवीनतम् काव्य सिर्जनासहित कवि चौधरी उपस्थित हुने बुझिएको छ ।
हङकङ नेपाली फाउन्डेसनका अध्यक्ष किशन राईका अनुसार गीतकार चौधरीले हालै सिर्जना गरेका थप काव्यात्मक बान्कीहरूसहितको कोसेली (काव्य सङ्ग्रह) ‘मेरा कविताहरू’को तेस्रो संस्करण उक्त समारोहमा हङकङवासी नेपाली साहित्यप्रेमीहरूबीच लोकार्पण गर्नेछन् ।
विश्वकाव्य यात्राको १०औँ शृङ्खला अर्थात् हङकङको कार्यक्रम समाप्तिपश्चात् नेपाल शृङ्खलाअन्तर्गत कवि चौधरीले क्रमशः विराटनगर, पोखरा, बिर्तामोड, चितवन र बुटवललगायतका प्रमुख स्थानहरूमा समेत आफ्ना साहित्यिक कोसेलीहरू पस्कने कार्यक्रम तय गरिसकेका छन् । कार्यक्रमअनुसार सन् २०१४ भित्र विश्वका कम्तीमा २० प्रमुख सहरमा उनले आफ्नो एकल विश्वकाव्य यात्रा सम्बन्धित साहित्यिक कार्यक्रमहरू गर्नेछन्, जसअनुसार जुलाई १३, २०१४ मा बेल्जियमको ब्रसेल्स र तत्पश्चात् जापानको टोकियोमा कार्यक्रमहरू तय भइसकेका छन् । पछिल्लो समयमा कवि/गीतकार चौधरीका बहुचर्चित गीत/सङ्गीत तथा काव्यात्मक रचनाहरू मोबाइलबाटै पनि पढ्न र सुन्न सकिने गरी तयार पारिएको ‘मोबाइल एप्स’ लोकार्पणको छोटो समयमा पाँच हजारभन्दा बढी दर्शक तथा श्रोताहरूले डाउनलोड गरिसकेका छन् भने उनको कविताको फ्यान क्लबमा ३१ हजारभन्दा बढी फ्यान एकत्रित भइसकेका छन् ।

अमेरिकाको कमाइ नेपाली फिल्ममा
कला, साहित्य, चलचित्र अनि सङ्गीत क्षेत्रमा लाग्न वा यो विधामा योगदान दिन स्वदेशमा नै हुनुपर्छ भन्ने छैन । विदेशमा रहेर पनि मन र इच्छा छ भने त्यो क्षेत्रमा लाग्नलाई कुनै कुराले रोक्दैन भन्ने कुराको गतिलो उदाहरण बनेका छन् पुष्कर पन्त ।
पुष्कर विगत दश वर्षदेखि अमेरिकामा बस्दै आइरहेका छन् । कुनै समय नेपाल टेलिभिजनको चर्चित हास्य कार्यक्रम ट्वाक्क टुक्कका कलाकार पुष्करले अझै टेलिभिजन र चलचित्र विधालाई माया मार्न सकेका छैनन् । ‘कसरी सक्छु म । इच्छा र चाहना यस्तो चिज हुँदोरहेछ कि जहाँ गए पनि मर्दोरहेनछ,’ पुष्करले भने । त्यसो त समय–समयमा नेपाल आउँदा पुष्करले हास्य शृङ्खला तीतो सत्यमा पनि काम नगरेका होइनन् । यो शृङ्खलाको केही भाग अमेरिकामा छायाङ्कन हुँदा उनले उतै पनि अभिनय गरे ।
तिरिमिरी झ्याइँ र सूर्य बोहराको निर्देशनमा रहेको ठट्टा नामक टेलिफिल्ममा काम गरेका पुष्कर अहिले भने अभिनय नभएर चलचित्र निर्माताको रूपमा आउन थालेका छन् । पुष्कर अहिले अमेरिकामा छन् भने उनको लगानीमा चलचित्र ‘ठूली’को नेपालमा छायाङ्कन भइरहेको छ । ठूलीलाई सूर्य बोहराले निर्देशन गरिरहेका छन् ।
चलचित्र ठूली राम्रो चलचित्र बन्ने विश्वास लिएका पुष्कर पन्त अब निरन्तर रूपमा चलचित्र निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छन् । ‘चलचित्र निर्माण गर्ने मेरो पुरानो सपना हो । यो सपना अहिले आएर पूरा भएको छ । यो सपनालाई राम्रा र स्तरीय सिनेमा बनाएर पूरा गर्नेछु,’ उनले भने ।
नारीप्रधान विषय छनोट गरिएको चलचित्र ठूलीमा अहिले चलेका दुई अनुहार जीवन लुइँटेल र गरिमा पन्तलाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ । ‘चलचित्र राम्रो बनाउन कुनै कुरामा सम्झौता गरिएको छैन । त्यसकारण पनि ठूली राम्रो बन्ने विश्वास लिइएको छु,’ निर्माता पन्तले भने ।

ममताका दुई कृति सार्वजनिक
कवयित्री ममता कर्माचार्यका दुई काव्यकृति सार्वजनिक गरिएका छन् । ममताका पिता र माता प्रसिद्ध चित्रकार उत्तम नेपाली तथा मन्दिरा कर्माचार्यले ममताद्वारा लिखित ‘मनका कुरा’ तथा ‘अझै दुख्दै छ मन’को एक समारोहबीच विमोचन गरे । अमेरिकामा बसोबास गर्दै आएकी कवि ममताले अमेरिकामा रहँदा नै दुवै पुस्तकका कविता लेखेको बताउँदै आफ्नो प्रेमी नै कविता भएकाले आफ्नो विवाह भएको अनुभव भइरहेको बताइन् ।
ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त विमोचन कार्यक्रममा कवि तथा नाटककार अशेष मल्ल, डा. बेन्जु शर्माले कवि र कविताका बारेमा चर्चा गरे भने चित्रकार उत्तम नेपालीले आफ्नी छोरीले आफ्नो मान राखेको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ममताले आफ्नो मनका भावनालाई दुवै काव्य कृतिमा स्पष्ट पोखेको उल्लेख गरे । कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।