चोरी भएको मोटरसाइकल फिरौती बुझाएर फिर्ता

चोरी भएको मोटरसाइकल फिरौती बुझाएर फिर्ता


सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारबाट गत भदौ १६ गते चोरी भएको दुईमध्ये एउटा मोटरसाइकल सुनसरीको पकलीमा फेला परेको छ । स्थानीय शिवदयाल भगतको छोरा रन्जित भगतको ‘को३३प १५४२’ नम्बरको मोटरसाइकल सुनसरीको पकलीमा फेला परेको हो ।

रातीको समयमा टोचन गरेर मोटरसाइकल लैजाँदै गरेको देखेर प्रहरीलाई शंका लागेपछि पछ्याउने क्रममा एउटा मोटरसाइकल छोडेर चोरहरू भागेका प्रहरीको भनाई छ ।

गत साउन २० गते कान्छो छोरा संजिव भगतको नाममा रहेको ना ५६ प ७४८६ चोरी भएको मोटरसाइकल फिरौती तिरेर ल्याएको एक महिना नबित्दै पुनः चोरी भएको रातो २२० सिसीको मोटरसाइकल भने एकहप्ता बितिसक्दा समेत फेला पर्न नसकेको भगत बताउँछन् । एउटै घरमा पटक—पटक चोरी हुनुलाई स्थानीयले व्याक्तिगत प्रतिसोध साध्न नियतवश गरिएको हुनसक्ने आशंका गरेका छन् ।

घटनाको विषयमा गम्भीरताका साथ अनुसान्धन गरी चोरीमा संलग्नमाथि कारवाही गर्न उनीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन् । भगत दाजुभाइको घरमा फलामको सिक्रीले दुवै मोटरसाइकल बाँधेर राखेको अवस्थामा गएको भदौ १६ गते रातको २ बजे ताल्चा फोरेर चोरले मोटरसाइकल चोरी गरेका थिए ।

सप्तरीको उत्तरी राजमार्ग क्षेत्रमा चोरीको घटना दिन–प्रतिदिन वृद्धि हुँदा स्थानीयवासीमा त्रास फैलिएको छ । भेटिएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र चोरी भएको मोटरसाइकलको खोजी कार्यलाई तिव्र बनाई शंकास्पद व्यक्तिहरूलाई नियन्त्रमा लिई छनविन अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सप्तरीको उत्तरी क्षेत्रमा मोटरसाइकल, पशुचौपाया चोरीमा विभिन्न गिरोह सक्रिय छन्, तर चोरीमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको स्थानीयको गुनासो छ ।