अस्पतालमै चोरी र लुटपाट बढेपछि सेवाग्राही त्रस्त

अस्पतालमै चोरी र लुटपाट बढेपछि सेवाग्राही त्रस्त


राजविराज । सगरमाथा चौधरी आँखा अस्पताल लाहान सिरहामा सोमबार राती एक बिरामी कुरुवाको मोबाइल अस्पतालको बेडबाटै चोरी भएको छ ।

सप्तरीको अग्नीसाइर कृष्णासवरण २ बस्ने भावना तामाङको सामसुङ्ग कम्पनीको मोबाइल चोरी भएको हो । बिरामीसँगै राती ३ बजे तिर बेडमा सुतेको मौका पारेर मोवाइल चोरी भएको पीडतले बताइन् ।

रातको समयमा अस्पताल परिसरबाटै मोबाइल चोरी भएको प्रति आश्चर्य व्यक्त गर्दै उनले भनिन्, मोबाइल चोर्ने व्यक्ति राती कहाँबाट आउँछ । गेटमा पाले बस्छ, त्यसैले चोर बाहिरको हुनै सक्दैन ।

दुईवटा मोबाइल सँगै थियो, उनले भनिन्, सस्तोवाला छोडिदियो महँगो चोरेर लग्यो । मोबाइल चोरी भएको थाहा पाउनासाथ अस्पतालका कर्मचारीहरुलाई जानकारी गराए पनि गम्भीरता नदेखाएको उनले गुनासो गरिन् ।

आफ्नी आमाको आँखा अपरेशन गराउन सो अस्पताल पुगेकी उनी अपरेशन भएपछि आँमासँगै राति अस्पताल बसेकी थिइन् । रातरात अस्पताल परिसरमा चोरी हुन थालेपछि अस्पताल जाने आँखारोगीहरुले असुरक्षित महुसुस गरेका छन् । अस्पताल परिसरभित्र चोरी तथा लुटपाटका घटना हुँदा समेत चासो नदिँदा कर्मचारीकै मिलोमतो हुन सक्ने बिरामी कुरुवाहरु बताउँछन् ।