स्थानीयको प्रतिकारपछि अपहरण प्रयास विफल

स्थानीयको प्रतिकारपछि अपहरण प्रयास विफल


हेमशंकर सिंह, राजविराज

राजविराज नगरपालिकामा सोमबार राती एक युवाको अपहरण प्रयासलाई स्थानीयले प्रतिकार गरी विफल पारिदिएका छन् ।

सोमबार राती ९ बजेतिर राजविराज नगरपालिका–७ बस्ने २२ वर्षीय जेनेन्द्र यादवको अपहरणको प्रयास स्थानीय वासिन्दाले प्रतिकार गरेर विफल बनाएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने तीनजना फरार भएका छन् । पक्राउ पर्नेमा प्रतिकारको क्रममा स्थानीयवासीको कुटाइबाट घाइते भारतीय नागरिक हाल राजविराज–५ मा बस्दै आएका ४२ वर्षीय विनोद विहारीको प्रहरी निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, अपहरणको प्रयास गर्ने समुहको कुटाइबाट घाइते भएका यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना विवरणअनुसार सोमबार राती अन्दाजी ९ बजे हनुमाननगरवाट को.१ज ७५७३ नम्बरको गाडी चढेर घरतर्फ फर्किंदै गरेका यादव चढेको गाडीलाई देउरी भरुवा चौकदेखि नै भारतीय नम्बर विआर–११ पीवी १९३३ नम्बरको स्कार्पियो गाडीले पच्छयाएको थियो ।

भारतीय स्कार्पियो गाडीमा सवार विनोद विहारी र चालक प्रकाश कामैतले ओभरटेकको प्रयास गर्नुका साथै आफ्नो गाडीलाइ रोक्न भनेपछि डराएर तीव्र गतिमा गाडी हाँक्न लगाएको जेनेन्द्रको भनाइ छ । त्यसपछि पनि पिछा गर्दै आएको भारतीय गाडीले राजविराज–७ कचहरी रोडदेखि पश्चिम जिल्ला प्रशासन कार्यालयको उतर एकान्त स्थलमा गाडी रोक्न लगाई अचानक कुटपिट गर्दै अपहरणको प्रयास गरेको जेनेन्द्रले बताए ।

आफु चिच्याउँदा जम्मा भएको स्थानीयवासीले प्रतिकार गर्दा चालक प्रकाश कामैत फरार भएको र विनोद विहारीलाई नियन्त्रणमा लिई रामधुलाइ गर्दै प्रहरीलाई स्थानीयले बुझाएको उनले बताए ।

अपहरणकारीको कुटाबााट घाइते भएका जेनेन्द्रको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैबीच जेनेन्द्रका पिता सुखराम यादवले आज मंगलबार साझ पीडकविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । जाहेरीमा घटना विवरण उल्लेख गर्दै अपायक र अस्वाभाविक रुपमा देउरी भरुवाबाट वारदात स्थलसम्म भारतीय नम्बर प्लेटको गाडीवाट पिछा गर्नु र गाडी रोकिएपछि नियन्त्रणमा लिई कुटपिट गर्दै अपहरण गर्न खोज्नेहरूमाथि अपहरण तथा ज्यान मार्ने उद्योग चलाउन माग गरिएको छ ।

जाहेरीमा अपहरणको प्रयास गर्ने विनोद विहारी भारतमा हत्या मुद्दामा फरार भई नेपालमा साविक देउरी भरुवा हाल राजविराज नगर पालिका–१५ निवासी पुलकित यादवको छोरा बनी नेपाली नागरिकता प्राप्त गरेको दाबी गर्दै यादवले सोको पनि छानविन गर्न माग गरेका छन् ।