– रुक्मशमशेर राणा (अध्यक्ष नेपाल ओलम्पिक कमिटी)
ओलम्पिक विवादले खेलकुदलाई गाँजेको लामो समय बितिसकेको छ । र पनि, समस्या समाधानको सानो किरण पनि देखिएको छैन, अर्थात् विवाद ज्युँकात्युँ छ । केही साता पहिले राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्षलगायत केही पदाधिकारीले ओलम्पिक विवादको समाधानका लागि प्रधानमन्त्री सुशील कोइरालालाई भेटेपछि ओलम्पिक विवादले नयाँ मोड लिएको छ । प्रधानमन्त्री कोइराला ओलम्पिक विवादको समाधानका लागि सकारात्मक देखिनुले पनि अहिले खेलकुद क्षेत्रमा यो भेटको व्यापक चर्चा–परिचर्चा चलेको छ । भेटपछि कानुनसम्मत ओलम्पिकको विवाद समाधान गर्ने प्रधानमन्त्रीको भनाइलाई सार्वजनिक गरेका राष्ट्रिय मान्यता प्राप्त एनओसीका अध्यक्ष रुक्मशमशेर राणासँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी ः
० केही समय पहिले प्रधानमन्त्री सुशील कोइरालालाई भेट्नुभएको थियो, ओलम्पिक विवाद समाधानका लागि नै होला, होइन त ?
– तिमीले सही अन्दाज लगायौ, सम्माननीय प्रधानमन्त्री खेलकुदको संरक्षक भएको हुनाले हामी ओलम्पिक विवादको बारेमा अवगत गराउन गएका हौँ । भेटमा ओलम्पिक विवादका बारेमा कुरा राख्यौँ, जसलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिनुभएको छ । अब हामीले यो विषयलाई लिएर खेलकुदमन्त्रीसँग पनि चाँडै भेट्ने योजना बनाएका छौँ ।
० के आश्वासन दिनुभो त प्रधानमन्त्रीले, ओलम्पिक विवादको समाधानका लागि ?
– प्रधानमन्त्रीले कानुनसम्मत जाने हो, मुलुकको कानुनको कसैले अपहेलना गर्न पाउँदैन भन्नुभयो । साथै प्रधानमन्त्रीले ओलम्पिक विवादको उपचार कानुनसम्मत तरिकाले गर्ने प्रस्ट पार्नुभयो ।
० अब ओलम्पिक विवाद समाधान हुन्छ त ?
– म ठोकुवा गरेर त भन्न सक्तिनँ तर कानुनसम्मत भयो भने ओलम्पिक विवादको हल जरुर निस्कन सक्छ ।
० के प्रधानमन्त्रीले कुनै कदम चाल्दै हुनुहुन्छ कि ?
– समय आएपछि सबै थाहा भइहाल्छ । कुरो के हो भने प्रधानमन्त्री ओलम्पिक विवादको समाधानका लागि सिरियस हुनुहुन्छ, उहाँ कानुनसम्मत विवाद निर्मूल पार्न चाहनुहुन्छ ।
० तपाईंले शक्तिको आडमा ओलम्पिक कमिटीमा हस्तक्षेप गर्दै हुनुहुन्छ रे नि, सत्यता के हो ?
– वाइयात कुरो, कसले भन्छ तिमीलाई यस्तो मनगणन्ते कुरा । मैले किन शक्तिको आड लिने ? मलाई त सर्वोच्चको फैसला नै काफी छ नि, म त मात्र सर्वोच्चको फैसला र आदेशलाई कार्यान्वयन गर्न चाहन्छु । जसको अहिलेसम्म अवहेलना भइरहेको छ । यो हस्तक्षेप होइन, यो त मेरो कानुनी अधिकार हो । जसको सजिलोका लागि मैले प्रधानमन्त्रीलाई जानकारी मात्रै गराएको हुँ । उहाँ पनि सकारात्मक हुनुहुन्छ ।
० यति लामो समयसम्म चुप लागेर बस्ने अनि अहिले सलबलाउनुको कारण के हो नि ?
– को सलबलायो ? के हामीहरूले प्रधानमन्त्रीलाई भेट्न पनि नहुने ? कस्तो कुरा गरेको ।
० प्रधानमन्त्रीबाट अख्तियार, खेलकुद मन्त्रालय र राखेपमा पत्राचार हुँदैछ रे नि, वास्तविकता के हो ?
– खै यो कुरा त मलाई थाहा छैन । बरु तिमीले कसरी थाहा पायौ, अरू के भइरहेको छ, मलाई भन न ।
० तपाईं जानेर पनि अन्जान बनेजस्तो लाग्यो नि ? तपाईं बताउन चाहनुहुन्न होइन त ?
– हा हा हा …। साँच्चै मलाई यसबारे केही थाहा छैन । योे बजारमा चलेको हल्ला मात्रै हुनसक्छ । अब म पनि बुझ्ने कोसिस गर्छु, वास्तविकता के हो ?
० त्यसोे भए तपाईं अनविज्ञ होइन त ?
– हो । थाहा नभएको कुरामा कसरी बोल्ने त ?
० प्रसङ्ग बदलौँ, ओलम्पिक कमिटीको वास्तविक विधान कुन हो ? जसलाई सर्वपक्षीय मान्यता छ ?
– ०५४ को विधान नै नेपाल ओलम्पिक कमिटीको वास्तविक विधान हो । जसलाई राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय निर्देशन ऐन, खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको मान्यता छ । यो विधान नै सबैभन्दा महŒवपूर्ण हो ।
० त्यो विधान त संशोधन भइसकेको होइन र ? प्रधान एनओसीले त यस्तै भन्छ ।
– उनीहरू यो विधान संशोधन भइसकेको छ भन्छन्, तर हामीले भएको छैन भनेका छौँ । यो विधान यदि संशोधन भएको भए राखेपमा दर्ता हुन्थ्यो । राष्ट्रिय निर्देशनमा पनि पहिलो विधानको सट्टा यो संशोधित विधान दर्ता हुन्थ्यो । सर्वोच्चमा मुद्दा दर्ता गर्दा यही विधानले हामीलाई मान्यता दिएको हो । त्यसकारण यो मुलुकको सबैै अधिकार यही विधानमा अन्तरनिहित छ । तसर्थ यो विधान संशोधन हुन सक्तैन र भएको पनि छैन । म ठोकुवा साथ भन्न सक्छु । ०५४ को विधान संशोधन गर्न क्याबिनेटको निर्णय हुनुपर्छ । त्यो भएको छैन ।
० यो विधानप्रति तपाईंहरूको यत्रो लगाव किन त ?
– मैले भनिहालेँ नि यो सर्वपक्षीय मान्यताप्राप्त विधान हो । जसको कानुनी हैसियत राष्ट्रियस्तरमा छ । राखेपले यही विधानलाई मान्यताप्राप्त गरेकाले हाम्रो एनओसीलाई मान्यता दिएको हो । तसर्थ वास्तविक चुरो यही विधानमा भएपछि यताउता किन भड्किने ? त्यसैले मेरो सुझाव के छ भने ओलम्पिकको विवादको समाधान यही विधानवाट सुरु हुनुपर्छ ।
० प्रधान एनओसीले यो विधान संशोधन भइसकेको भनिरहेको र कामकारबाही अगाडि बढाइरहेको अवस्थामा तपाईंको दाबीले औचित्य पुष्टि गर्नसक्छ त ?
– किन नसक्नु, अवश्य गर्छ । यो विधान संशोधन नै भएको छैन भनेपछि यसबाहेक अर्को संस्था कदापि हुन सक्तैन । साँचो कुरा गर्दा प्रधानको विधानलाई कसैले मानेको छैन । प्रधानको विधान डोटी जिल्लामा मात्रै दर्ता छ । जसलाई डोटी जिल्लाले मात्रै मान्छ । यो त्यही अर्थात् डोटी जिल्लामा मात्रै लागू हुन्छ । यसले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको छैन । जुन विधानलाई अवैधानिक भन्दै खेलकुद मन्त्रालयले खारेजीका लागि पत्राचारसमेत गरिसकेको छ ।
० त्यसो भए प्रधानको नेतृत्वमा रहेको एनओसी डोटी जिल्लामा दर्ता भएको विधानबाट चलिरहेको भन्न खोज्नुभएको हो, होइन त ?
– हो, साँचो कुरो यही हो । सर्वोच्चको फैसलाले हाम्रो कमिटीलाई मान्यता र वैधानिकता प्रदान गरेपछि उनीहरूले डोटीमा गएर सुटुक्क ‘नेसनल ओलम्पिक कमिटी’ अर्थात् ‘राष्ट्रिय ओलम्पिक कमिटीको दर्ता गराएका हुन् । अहिले यही संस्थाको नामबाट उनीहरूले ओलम्पिक कमिटी चलाइरहेका छन् । जुन गैरकानुनी अवैधानिक हो । हामी त कानुनसम्मत् भएकाले हुम्ला, जुम्ला गएर एनओसीको दर्ता गराउनुपरेको छैन । तिमीले देखेका छैनौँ, सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा अहिले पनि दुईवटा साइनबोर्ड राखिएको छ । के एउटा संस्थाको नाम दुई–दुईवटा हुन्छ ?
० ओलम्पिक भवनमा दुई–दुईवटा साइनबोर्ड राखेर अवैधानिक कार्य हँुदासमेत सरकारले उनीहरूलाई किन कारबाही नगरेको होला त ?
– त्यो म कसरी भन्न सक्छु । मुलुक हाँक्नेले यो कुरा बुझ्नुपर्छ । वैधानिक र अवैधानिक के हो त्यो छुट्याउने काम सरकारको हो । यस्तो अवस्थामा कारबाही गर्नुपर्छ कि पर्दैन त्यो पनि सरकारको चासो विषय हो । सर्वोच्चको आदेशको अपहेलना गर्दै सरकारलाई नै चुनौती दिँदै आएको संस्थाप्रति सरकारको पहल कदम गम्भीर रूपमा अगाडि बढ्नुपर्ने हो, तर दुर्भाग्य अहिलेसम्म हुन सकेको छैन ।
० दुईवटा संस्थाको साइनबोर्ड एकै ठाउँमा राख्नुको कारण के होला ?
– कुरा स्पष्ट छ, राष्ट्रियस्तरमा उनीहरूलाई मान्यता प्राप्त छैन । अर्को कुरा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अर्थात् आईओसीबाट आउने आर्थिक सहयोग (डलर) लाई राख्न उनीहरूले राष्ट्रिय ओलम्पिक कमिटीको दर्ता गरेका हुन् । अहिले सोही संस्थामा आईओसीबाट आउने आर्थिक सहयोग राख्ने र चलाउने गरिएको छ । नेपाल ओलम्पिक कमिटीसँग उनीहरूको केही मतलब छैन । त्यो त देखाउनका लागि मात्रै राखिएको हो ।
० यसमा त तपाईं पनि त्यत्तिकै दोषी हुनुहुन्छ, होइन र ? सर्वोच्चको फैसलासँगै तपाईं कार्यान्वयनको पक्षमा अगाडि बढेको भए आज यस्तो स्थिति उत्पन्न हुने थिएन नि ?
– यसमा मेरो केही दोष छैन । मुलुककै कानुनलाई नमानेपछि मैले के गर्न सक्छु । म कुनै पनि किसिमको विवाद गर्न चाहन्न । शक्तिको प्रयोग गरेर जबर्जस्ती कसैलाई हटाउने मेरो मनसाय पनि छैन । म त कानुनसम्मत तरिकाले अगाडि बढ्ने हो । अहिले पनि यसैलाई फलो गरिराखेको छु । हेरौँ भविष्यमा कस्तो परिणाम आउँछ ।
० त्यसो भए ओलम्पिकको विवाद कहिल्यै समाधान हुँदैन त ?
– किन नहुनु, मेलमिलापले गए एकैछिनमा समाधान हुन्छ । यसका लागि हाम्रा केही माग छन् । त्यो पूरा हुनुपर्छ ।
० कस्तो मागको कुरा गर्नुभएको ? जो पूरा हुन सक्छन् कि सक्तैनन् ?
– माग साधारण छन् जुन मिलेर जाने हो भने पूरा हुन्छन्, नमिल्ने हो भने पूरा हुन सक्तैनन् ।
० भन्नाले तपाईंहरूले एनओसीको कार्यसमितिमा आफ्नो अधिकार खोज्नुभएको त होइन ?
– अफकोर्स, हामी एनओसीमा हाम्रो उपस्थिति चाहन्छौँ । त्यो हामीलाई कानुनले दिएको अधिकार पनि हो । यसो भन्दैमा हाम्रो एनओसी कब्जा गर्ने कुनै रणनीति छैन । हामी सम्मानजनक उपस्थिति चाहन्छौँ । त्यसका लागि उनीहरू पनि तयार हुनुपर्छ ।
० उनीहरू तयार नभए के गर्नुहुन्छ ?
– मैले भनिहालँे नि हामी कानुनसम्मत् चल्छौँ । कानुनले हामीलाई जुन अधिकार र अख्तियार दिएको छ सोहीअनुरूप अगाडि बढ्छौँ ।
० कानुन शब्दको धेरै उच्चारण गर्नुभो, त्यसको पालना त दुवैतर्फबाट भएको देखिँदैन नि ?
– हामी मुलुकको कानुन मान्ने मान्छे, कानुनको पालना नगर्ने त कुरै आउँदैन । जसले सर्वोच्चको फैसला र आदेशलाई अवज्ञा गरेको छ तिनीहरूले पो कानुन मानेका छैनन् । उनीहरू नेपालमा बस्ने हो र नेपाली नागरिक हुन् भने नेपालको कानुन पनि मान्नुपर्छ ।
० अन्तर्राष्ट्रिय मान्यताको आधारमा नेपालको कानुनको अवज्ञा गरेको अवस्था छ नि अहिले ?
– हो, यो विडम्बना भएको छ । यस्तो नहुनुपर्ने हो भएको छ । यो उनीहरूकोे समस्या हो । उनीहरूले नै गम्भीर भएर सोच्नुपर्छ । यसमा मेरो अरू केही भन्नु छैन ।
० त्यसो भए यो लडाइँ कहिलेसम्म जारी रहन्छ त, सुल्झिने कुनै उपाय छैन ?
– हामी सबै ओलम्पिकमा धेरै समयदेखि बसेका व्यक्ति हौँ । हाम्रो प्रयास जहिले पनि यही हुन्छ कि ‘मुलुकमा एउटै सबल र शक्तिमान ओलम्पिक कमिटी बनोस्’ यो ओलम्पिक कमिटीको मेलमिलापको शुभारम्भ ०५४ कै विधानबाट हुनुपर्छ । त्यो नभएसम्म सर्वोच्चको मुद्दा कायम नै रहन्छ ।
तेक्वान्दोसँग साइनो तोड्दै दीपराज
नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङ पछिल्लो समय तेक्वान्दोबाट टाढा रहन थालेपछि खेलकुद क्षेत्रमा विभिन्न अड्कल काटिन थालेको छ । हालै सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनको सक्रियता न्यून रहनुले अझ यसलाई प्रमाणित गरेको छ । कार्यक्रम र प्रतियोगितामा समयमा नआउने, आए पनि ढिलो आउने र एकान्तमा बस्न रुचाउने गुरुङको नौलो बानीले तेक्वान्दो पदाधिकारीहरूसमेत सशङ्कित भएका छन् । कुनै जानकारीबिना गुरुङले आफ्नो सक्रियता सुस्त पारेपछि अहिले पदाधिकारीहरू अन्योलमा परेका छन । अझ गुरुङले चाहेमा सबैलाई सम्पर्क गर्न सक्ने तर अरूले चाहेमा उनको मोबाइल मरे पनि नउठ्ने र नउठाउने प्रवृत्तिका कारणले अहिले सङ्घका पदाधिकारीबीच उनको यो व्यवहारको कडा विरोध र आलोचना भइरहेको छ । गुरुङको यही व्यवहारका कारण अध्यक्ष प्रकाशशमशेर राणा र उनको बीचमा अनबन भएको खबर सुनिनमा आएको छ । बिनाकारण एक्कासि तेक्वान्दोको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर बसेका गुरुङको यो नौलो कार्यशैलीले अहिले सबैलाई आजित बनाएको छ । प्राप्त जानकारीअनुसार खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँग दरबार मार्गस्थित रेडकार्पेटमा भेटेपछि गुरुङको स्वभावमा परिवर्तन आएको बुझिएको छ । त्यसपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामा दिनु संयोग मान्ने पक्षमा कोही छैनन् । दबाबको बेला राजीनामा नदिने यतिबेला किन राजीनामा दिए त्यो खोजीको विषय बनेको छ । अझ आफूले नै जन्माएको र आफ्नै सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई समेत बेवास्ता गरेर गुरुङले खेलकुद र तेक्वान्दोमा के गर्न खोजेका हुन् त्यो अहिले बुझिनसक्नुभएको छ । गुरुङको यो छनकले कतै उनी तेक्वान्दोसँग साइनो तोड्न लागेका त होइनन्– शङ्का–उपशङ्का गरिन थालेको छ ।
खेल समाचार
स्नेहालाई खेल संसार वर्ष खेलाडी अवार्ड
सुटिङकी स्नेहाराज्यलक्ष्मी राणाले खेल संसार वर्ष खेलाडी– २०७० को अवार्ड जितेकी छिन् । राणालाई एसएमएस मतका आधारमा विजेता घोषणा गरिएको हो । अन्य आठ प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा स्नेहाले सर्वाधिक चार हजार दुई सय मत प्राप्त गरेको स्पोर्टस् कार्निभल आयोजक खेल संसार डटकमका प्रबन्ध–निर्देशक विकास लामाले जनाएका छन् । त्यस्तै अन्य प्रतिस्पर्धीहरूमा करातेका सुनील लामा एक हजार पाँच सय ७६ मतका साथ दोस्रो तथा भारोत्तोलनकी तारादेवी पुन एक हजार एक सय ३५ मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । स्पोर्टस् कानिर्भलको अन्तिम दिन घोषणा गरिएको अवार्ड विजेता स्नेहाले स्कुटर, माउन्टेन बाइकसहित नगद १५ हजार पुरस्कारस्वरूप पाएकी थिइन । गत वर्ष आयोजक खेल संसारले प्रदान गरेको ‘खेल संसार प्लेयर अफ द मन्थ’ बाट नौ खेलाडीलाई अवार्डका लागि भोटिङमा समावेश गराएको थियो । भलिबलकी रमिला तण्डुकार, किकबक्सिङका कान्छालाल वाइबा, बास्केटबलका सदीश प्रधान, पौडीकी श्रेया धिताल, उसुकी झरना गुरुङ तथा फुटबलका भरत खवास भोटिङमा समावेश थिए ।
खेल संसार डटकमको आयोजनामा स्पोर्टस् कार्निभल गत साता शुभारम्भ भएको थियो । कार्निभलको पहिलो दिन बाइक, साइकल र स्केटिङ स्टन्ट भएका थिए । त्यस्तै कार्निभलमा गल्फ, क्रिकेट, आइकिडो, स्नुकर र बास्केटबलका प्रदर्शनी खेलका साथै किनमेलका लागि खेलकुदलगायत विभिन्न सामग्रीको स्टल पनि राखिएको छ । कार्निभलको दोस्रो दिन कार स्टन्ट, ६ टिमबीच रोलबलको मैत्रीपूर्ण प्रतियोगिताका साथै नेपालका चर्चित जादुगर महादेव त्रिपाठीले जादुसमेत प्रदर्शन गरेका थिए ।
नेपाल कराते महासङ्घको सहकार्यमा भएको कार्निभलको राखेप सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले खेल प्रवद्र्धनमा कार्निभलले महŒवपूर्ण भूमिका खेल्ने बताए थिए ।
पहिलोपटक अन्तर्राष्ट्रिय बास्केटबल हुँदै
नेपाल बास्केटबल सङ्घको आयोजनामा तेस्रो साबा च्याम्पियनसिप हिजो मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । नेपालमा कुनै पनि बास्केटबलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता पहिलोपटक हुन लागेको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुने प्राविधिक निर्देशक एवम् आयोजकका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् । लिगमा हासिल गरेको अङ्कका आधारमा विजेताको चयन गरिनेछ ।
बंगलादेश साविक विजेता हो भने पहिलो संस्करणमा भारत च्याम्पियन भएको थियो । बंगलादेशमा गत वर्ष भएको दोस्रो संस्करणमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । नेपाली टोलीका प्रशिक्षक दिनेश नकर्मीले नेपाली टिमले दोस्रो स्थान हासिल गर्ने बताएका छन् । सो अवसरमा आयोजक सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ३५ लाख खर्च हुने जानकारी दिएका थिए । प्रतियोगिताका लागि टिकटको पनि व्यवस्था गरिएको छ । प्रत्येक दिनका लागि टिकटको दर दुई सय तोकिएको छ ।
नेपाली खेलाडीमा राजीव जोशी (कप्तान), सदीश प्रधान, विक्रम जोशी, विनोद महर्जन, विनोद श्रेष्ठ, युक्तरामभक्त माथेमा, सुव्रत राजोपाध्याय, असीम श्रेष्ठ, रोहित लामा, सुशील गुरुङ, सञ्जय व्यञ्जनकार र विजय बुर्जा रहेका छन् भने प्रशिक्षकमा दिनेश नकर्मी र विकास शाही र व्यवस्थापकमा विकु महर्जन रहेका छन् ।
अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम च्याम्पियन
नेपालले पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । नेपालले सर्वाधिक १५ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधिमाथि कब्जा जमाएको थियो । नेपालले उपाधि जितेको यो लगातार पाँचौँपटक हो । जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल सङ्घ, शाखा कुमारी डोजोद्वारा आयोजित प्रतियोगितामा भारत ६ स्वर्णसाथ दोस्रो भएको थियो । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीको दुवै उपाधि पनि नेपाली खेलाडीले कब्जा गरेका थिए । पुरुषमा सागर न्यौपाने र महिलामा सगुन परियार उत्कृष्ट चुनिएका थिए । दुवैले दोहोरो स्वर्ण जितेका थिए । विजेतालाई नेपाली करातेका अग्रज थानेश्वर राईलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा जम्मा दुई सय एक खेलाडीले २१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको जापान गोरिजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घका प्रमुख प्रशिक्षक एवम् उपाध्यक्ष विसनसिंह खड्काले जनाएका छन् । प्रतियोगितामा नेपालबाट एक सय ३९, भारतबाट ६० र बंगलादेशबाट दुई खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया